१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

लाकोजूका तीन बालकविता

बालकविता

सूर्यप्रसाद लाकोजू

 

१) मेरो नेपाल आमा

 

फुलेको छ लालीगुराँस

मेरै वरिपरि

देश पनि फुलेकैछ

मेरै मनभरि ।

 

जता जाउँ देख्छु म त

मेरै सगरमाथा

गीत बनाई गाउँदै हिंड्छु

देशकै गौरव गाथा 

 

धरतीकी रानी जस्ती

नेपाल आमा हाम्री  

संसारमा यिनीभन्दा

अरू छन् र राम्री?

 

यो देशको माटो मलाई

भएको छ लाख

नेपाल आमाको भन्दा प्यारो

कहाँ छ र काख ?

 

२)  मेरो घडी 

 

भित्तामा बसेका छौ अडी

बेला बताउने मेरो घडी  

टिकटिक गर्दै तिमी चल्छौ

समय भयो अब उठ भन्छौ ।

 

सेकेन्ड मिनेट र घन्टा सुई

राम्ररी हेरेको तिमीले खै?

समयमै चल्छन् तिनीहरू सब

तिमीले पनि यो बुझ्नु छ अब ।

 

गएको समय फेरि आउँदैन

गएपछि एकपल्ट पाउँदैन

कसैलाई नि पर्खंदैन यसले  

समात्न सक्छ यसलाई कस्ले ?

 

होइन यो भोलिको भक्त  

कुनैमा हुँदैन यो आसक्त  

खुरुखुरु नदीजस्तै बग्छ

ठूलासानासँग कहाँ डग्छ ?

 

समयको महिमा यस्तो छ  

निस्किएको बोली जस्तो छ

यसलाई नचिने सधैं पछाडि  

समय चिन्ने हुन्छ अगाडि  ।

 

आजको समय खेर गए

पढ्नुभन्दा खेल्नु धेरै भए

सुनौलो सपना नासिन्छ

भविष्य हाम्रो मासिन्छ ।

 

 

३) कस्को समूह के हुन्छ?

 

मान्छेका हुल भए

कमिलाको ताँती

नखेलाऊ है मनमा

कुरा नानाभाँती।

 

सिपाहींको फौज हुन्छ

भेडाको बथान

भेदभाव हटाई हामीले

गर्नुछ उत्थान।

 

किताबको चाङ हुन्छ

फोहोरको डङ्गुर

परिश्रमपूर्वक काम गरी

खाऊ अङ्गुर ।

 

अङ्गुरको झुप्पो भए

सागको हुन्छ मुठा

असत्य कुरा गर्नेलाई

सबले भन्छन् झुठा।

 

फूलको हुन्छ हेर गुच्छा

नोटको खात

असल बन्न सके हुन्थ्यो

जीवन फूलपात।

 

लट्ठीको बिटो हुन्छ

दाउराको हुन्छ खलियो

सत्य कुरा गर्ने मान्छे

सधैँ हुन्छ बलियो ।

 

झुत्तो हुन्छ साँचोको

ढुङ्गाको चाहिँ रास

कर्म गर्ने हाम्रो मनमा

ईश्वरको हुन्छ बास।

 

घाँसको भारी भन्छन्

फर्सीको झाल

मनको धुलोमैलो सबै

आजैबाट फाल ।

 

केराको घरी त हो

बाँसको घारी

सुन्दर देश छ मेरो

लाग्छ फूलबारी।

प्रकाशित: ३० असार २०७८ ०५:४१ बुधबार

अक्षर