२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

जागीरे डायरी–सिकाउने शैली

संस्मरण पुस्तक परिचय

नगेन्द्रराज रेग्मी

 

भनिन्छ– ज्ञान लुकाउन सक्नु स्वयं ज्ञान हो । अझ भनिन्छ– ‘जसले ज्ञान लुकाउन सक्दैन त्यो मूर्ख हो ।’ खगराज बराल; जसमा यत्ति धेरै ज्ञान, सीप र जानकारीहरू रहेछन् त्यो यतिञ्जेलसम्म सजिलै उहाँले लुकाएर राख्नुभएछ । यस अर्थमा उहाँ ज्ञानी भए पनि यत्रो महत्वपूर्ण कुराहरू हाम्रो जनसमाजलाई अलि समयमै उहाँले प्रदान गराइदिनु भएको भए धेरै जिज्ञासुहरू अरू बढी लाभान्वित हुन सक्ने थिए। यस अर्थमा उहाँप्रति केही गुनासो पनि हामी गर्न सक्छौ। जे होस् ‘सिकाउने शैली’ आयो र हामीले धेरै कुरा सिक्ने मौका पायौ, त्यो नै महत्वपूर्ण कुरा हो।

–शिक्षकले प्रश्न गर्दा विद्यार्थीले उठेर जवाफ दिनुपथ्र्याे । यसरी उठेको बेला विद्यार्थीले बेञ्चमा कलम ठड्याइदिएका कारण थ्याच्च बस्दा घोचिएर मेरो पछाडिको भागबाट रगत मात्रै बगेन, असाध्यै पीडा भयो।

–म बुलिङबाट जोगिन चोर भइसकेको थिएँ।

–विद्यार्थी वा साथीहरूबाट मात्र होइन, म शिक्षकबाट पनि बुलिङको शिकार भएको थिएँ।...जत्ति गल्ती गर्थे, उत्ति पिट्नुहुन्थ्यो लठ्ठीले, हातले र लात्तीले।

–दाइ मलाई त स्कूलबाट बाँचेर आइन्छ जस्तै लागेन । मैले त स्कूल पढ्नै छोडिदिएँ।

स्कूलमा हुने बुलिङका सामान्यजस्ता लाग्ने तर दूरगामी रूपमा गहिरो प्रभाव र असर पार्ने यस्ता डरलाग्दा घटनाले हाम्रा कतिपय विद्यार्थी भाइबहिनी शिक्षाको उज्यालो घामबाट वञ्चित हुनु परेको कटु वास्तविकता र दारुण कथाले अभिभूत हुन पुग्छौ। पुस्तकको सुरुमै बुलिङ शीर्षकको यस्तो चोटिलो प्रसङ्गले हामी सबैलाई भावविह्वल बनाउँछ।

समीक्षक नगेन्द्रराज रेग्मी 

आफ्नो जागीरे जीवन भोगाइका क्रममा घटेका अधिकांश घटनाक्रमहरूलाई समेटेर तयार पारिएको पुस्तकको नाम हो– सिकाउने शैली । खगराज बरालद्वारा लिखित यो पुस्तक पढ्दा वारम्बार म वरिष्ठ आख्यानकार परशु प्रधानलाई सम्झिरहेछु । उहाँले देशको प्रशासनिक क्षेत्रलाई निकै नजिकबाट छामेर त्यहाँभित्र देखिएका विकृति र विसङ्गतिहरूलाई उजागर गर्नुभएको थियो। यहाँ खगराज बरालले पनि सुवोध शैलीमा झिनामसिना जस्ता लाग्ने कतिपय विषयवस्तुलाई समेटेर गम्भीर रूपले बहस छेड्न सफल हुनुभएको छ। जुन घटना सामान्य भएर पनि हामी सबैको संवेदनालाई चिमोट्न सफल भएको छ, हामीलाई गहिरिएर सोच्न बाध्य बनाएको छ । यो उहाँको लेखकीय वैशिष्ट्य हो।

असाध्यै सानो विषयवस्तुलाई पनि उहाँले भिन्नभिन्न कोणबाट हेरेर खोतलखातल पार्नुभएको छ। हामी सबैले भोगेको, देखेको घटना भए पनि उहाँ किन त्यसो भइरहेको छ ? किन त्यसो नहुने ? यसरी उहाँ किन भनेर त्यसको गूढ रहस्य पत्ता लगाउन तम्सनुहुन्छ । यही किनले पुस्तकलाई रोचक र पठनीय समेत तुल्याएको छ।

‘के यो घाँसको बिरुवाबाट हामीले खाने भात उत्पादन हुन्छ ? घाँसबाट त भात आउँदैन !’

धानको बोट देखाउँदा स्कूलका बच्चाले दिएको यो जवाफबाट हामी स्तब्ध बन्न सक्छौ । हामीले कस्तो खालको शिक्षा दिइरहेका रहेछौं। शहरी क्षेत्रका कतिपय विद्यार्थीलाई– तिमीले पिउने दूध कहाँबाट आउँछ ? भनेर सोध्दा ‘पोकाबाट’ भन्ने उत्तरबाट पनि लेखकले ज्यादै दुख मान्दै हाम्रा विद्यार्थी कत्ति यान्त्रिक भएछन् भनेर हामी सोच्न बाध्य हुन्छौं। आमाबाबुले बनाइदिएको घरमा बस्ने, भान्छाकोठाको डाइनिङ टेबुलको प्लेटमा खाना आउने अनि खाएर स्कूल जाने र बेलुका पनि सोही प्रक्रिया दोहोर्याउने। न खेतीपातीको प्रसङ्ग सुन्छन्, न त रोपाइँ के हो थाहा पाउँछन् । धान, मकै कोदो, गहुँको बोटै उनीहरूले देख्न पाएका हुन्नन् अनि किन नभनून्, घाँसको बिरुवाबाट कसरी चामल बन्छ भनेर! बच्चा त आफ्नो ठाउँमा ठिक छन् । हामीले दिने गरेको अव्यावहारिक शिक्षा नीति नै यसको कारक तत्व होइन ? बच्चा अराजक भयो, हिंस्रक भयो भनिन्छ खै त हाम्रा पाठ्यक्रमहरूमा  नैतिक शिक्षा प्रदान गरेको ? तसर्थ चिन्ता गरेर मात्र हुँदैन, नीति निर्माणकर्ताहले यस्ता कुराहरूलाई गम्भीरतापूर्वक लिएर कार्यक्षेत्रमा उत्रिएको खण्डमा यसमा सुधार ल्याउन सकिन्छ ।  

नेपालमा धेरै प्रशासक आए र गए पनि। तर कति प्रशासकले यसरी आफ्ना खारिएका  अनुभूतिहरूलाई जनसमक्ष प्रस्तुत गरे ? औलामा गन्न सकिने केही नामबाहेक शून्य नै हात लाग्ने गरेको छ । जो उच्च पदमा आसिन हुन्छ ऊ लेख्नै सक्दैन वा चाहँदैन, जो लेख्न सक्छ ऊ त्यो पदमा पुग्नै सक्दैन । यसको अपवादका रूपमा खगराज बराल जो यी दुवै स्थानमा आफ्नो पकड जमाउन सफल हुनुभयो र यस्ता कृतिहरूको हामीले रसस्वादन गर्न पाइरहेका छौं। स्मरणीय छ– उहाँ ‘श्रमिक बराल’का रूपमा समेत नेपाली साहित्यमा सुपरिचित हुनुहुन्छ।

बझाङबाट पास गर्न सजिलो हुन्छ। यहाँको परीक्षा साह्रै खुकुलो हुन्छ । पहिलो श्रेणी पनि आउँदैन, फेल पनि भइँदैन (पृ.१२०)। हाम्रो परीक्षा प्रणाली र शैक्षिक स्तरको आकलन गर्न यस्ता थुपै्र सन्दर्भ पुस्तकभित्र जताततै पढ्न पाइन्छन्। त्यस्तै बाथरुम र शौचालय बीचको भिन्नता एउटा सानो बच्चाले आफूलाई जानकारी गराएको रोचक प्रसङ्ग (पृ.८३) मा उल्लेख गरिएको छ भने घरमा बा, आमा, काका, काकी, दिदी भाइसँगै बस्न हुने तर छात्रावासमा किन महिला र पुरुष बस्न नमिल्ने भन्ने बच्चाको प्रश्नमा उचित उत्तर दिन नसकेको चर्चा (पृ.८५), खोई बिरालो ? मुसा मार्न गयो, खोई मुसा ? दुलोभित्र पस्यो, खोई दुलो ? गाईले कुल्च्यो, खोई गाई ? खोलाले बगायो, खोई खोलो ? स्याप्पै सुक्यो (पृ.८६)। यसरी बालसुलभ जिज्ञासालाई खोलो सुक्यो भनेर जिज्ञासु बालमनलाई हामीले मुख बन्द गराइदिएका छौ, अब सोध्न पाइँदैन भनेर । यसो गर्नु किमार्थ ठीक होइन भन्ने लेखकको भनाइप्रति सम्पूर्ण पाठक एकमत हुन सकिन्छ।

शैक्षिक क्षेत्रमा लामो अनुभव संगालेको कारण उहाँ स्वयंले भोगेका कुराहरू यस पुस्तकभित्र पाइन्छन् । त्यसैले यी कुराहरू व्यावहारिक र निफनिएर निकालिएका कञ्चन चामलजस्ता लाग्छन् ।  विद्यालय र महाविद्यालयका, हाम्रा शैक्षिक क्षेत्रका र नीतिनियमका कतिपय अमिल्दा कुराहरू छन् त्यसलाई सुधार गर्नु पर्ने, सिकाइका शैलीहरू परिवर्तन गर्नुपर्ने, अन्य कतिपय यस्ता आगलठेगलहरू मात्र होइन राम्रा पक्षको पनि यसमा चर्चा गर्नुभएको छ । जागीर खाएको कारण विभिन्न स्थानमा उहाँको पदस्थापन वा स्थलगत अनुगमन भ्रमणहरूमा भोगेका तीतामीठा अनुभव र अनुभूतिहरू मिसिएको यो पुस्तक अत्यन्त उपयोगी र मुख्यत शिक्षक, विद्यार्थी तथा विद्यालयहरूमा कम्तीमा एक–एकप्रति नै भए पनि संरक्षण गरेर अध्ययन गर्नुपर्ने आवश्यकता महसुस हुन्छ। किनभने उहाँले भनेजस्तै ‘हाम्रो शिक्षा पद्धतिको सुधार अरूले होइन, आफैले गर्नुपर्छ’ यो भनाइलाई मननीय रूपमा लिनुपर्छ।

सरल र बोधगम्य भाषाशैलीका कारण पुस्तक सर्वसाधारणले पनि सजिलै बुझ्न सक्छन्, दुर्बाेध्य कतै भेटिँदैन। त्यसैगरी कहीँ, कतै, कसैलाई नबिझाईकन, कटु  शब्द नबोलीकन कलात्मक ढंगले भन्न खोजिएको विषयवस्तुलाई स्पष्टसँग खुलस्त पारिएको यो पुस्तक सानाठूला सबै समूहले पढ्न आवश्यक देखिन्छ । लेखकलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कलमले अझ निरन्तरता पाइरहोस्, शुभकामना पनि यही लेखोटमार्फत् प्रदान गर्दछु ।

पुस्तकको नाम–सिकाउने शैली  

(संस्मरण)

लेखक– खगराज बराल

प्रकाशक– सांग्रिला पुस्तक प्रालि.पुतलीसडक काठमाडौं।

मुद्रण– स्थापित अफसेट प्रेस

संस्करण

– पहिलो २०७५

पृष्ठ– २४१

प्रकाशित: २८ असार २०७८ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App