कृष्ण प्रधान
जङ्गल पनि दुइ प्रकारका हुँदारहेछन् भन्ने कुरौ अचेल पो बुझ्दैछु । एउटा हिंस्रक जन्तु–जनावर बस्ने जङ्गल । जसलाई ‘फारस’ पनि भन्छौं हामी । अनि अर्को, मान्छे नामक दुइ खुट्टे मानव जन्तु बस्ने जङ्गल। जसलाई हामी ‘कङ्क्रिटको जङ्गल’ भन्छौं ।बाक्लो घनघोर जङ्गल मलाई सुठी नै मनपर्छ । कलेज पढ्Þदाको समयमा मेरी प्रेयसीसाई लिएस् बाक्लो फारसभित्र पस्थेँ । फारसभित्र घण्टौं–घण्टौंसम्म गफ गर्थ्यौं हामी । हामी दुईको प्रेमालापलाई फारसभित्रका बाध–भालु, बाँदर आदिले कहिल्यै ठ्याम्मै डिस्टर्ब गरेनन् । साँपको ता कुरा ! एउटा कमिलोले समेत चिरिक्क पनि चिलेन । हामी दुई प्रेमीप्रेमिका भाग्यमानी भन्नु कि फारसको नियम कानूनै त्यस्तो भन्नु ।
एकदिन मेरी प्रेयसीले मलाई सोधेकी थिई – साँप छ होला हई यो यो फारसमा ?
मैले भनेको थिएँ – कतिवटा कस्तो–कस्तो खाले साँप चाहिन्छ तिमीलाई यो घनघोर फारसमा ? गोमन, कोब्रा, एनाकोण्डा, अजिङ्गर । साँप मात्रै विषालु–विषालु बिच्छी, रोटे कमिला चाहिन्छ कि बाघ–भालु, बाँदर, ढेँढ़ू, हात्ती के आउँछन् यहाँ । डाकाहरू पनि आउँछन् । दाउरा चोरहरू पनि आउँछन् ।
मेरो कुरा सुनेर उसले मलाई चिरिक्कै चिमोटी तर उसको चिमोटाइमा दुःखाइ होइन प्रणयोद्गारको मगमग वासना आएको अनुभव गरेँ मैले । अचेल फारस–फारस पसेर घण्टौंसम्म गफिने समय छैन मेरो। अचेल ता फारसलाई मान्छे नामका जन्तु–जनावरहरूले नाङ्गोझार पारिसकेकाले फारसलाई फारस भन्नु पनि लाजमर्दो भइसकेको छ । हाम्रो प्रणयकालमा बाक्लो फारस थियो। मज्जाले प्रेमालाप गर्दा घनघोर फारसभित्र कसैले पनि देख्न सक्दैन्थ्यो । कति भाग्यमानी थियौं हामी त्यसताका। अब नाङ्गोझार भइसकेको फारसमा गएर प्रेमालाप गर्नु तिवटा तक्निकी असुविधा भोग्नुपर्ने अचेलका प्रेमीप्रेमिकालाई अभागी नै ठान्नुपर्छ ।
अचेल म ता कङ्क्रिटको जङ्गलमा बेफिक्री घुम्ने मान्छे म । यहाँ साँपको डर छैन, जन्तु–जनावरको डर छैन न ता फारसका चौकीदारहरूको नै डर छ । तरै पनि को’नि किन हो यो कङ्क्रिटको जङ्गलमा डरै–डरको हाउगुजीले सबै आत्तिरहेका देखिँदो छ । कारण, मान्छे नामक दुई खुट्टे जनावरको कुनै विश्वास, भरोसा छैन । यी जनावरहरू कसैलाई विश्वास र भरोसा गर्ने कुरै आएन । घनघोर फारसका जन्तु–जनावरहरूले धेरभन्दा धेर आक्रमण गर्लान्, चिर्थोलान् वा कोपर्लान् वा डस्लान् । साह्रै भयो भने ठहरै पारिदेलान् । फारसका चौकीदारले समातेर जरिमाना तिराउलान् वा थुनामा पार्लान् । तर फारसका जन्तु–जनावरले हत्तपत्त आक्रमण गर्दैन । तर यो मान्छे नामको जनावरले हाँसीहाँसी हत्या गर्छ। आफूसित भएका सरसामान, रुपियाँ–पैसा थुतेर लान्छन् । हाँसीहाँसी यिनीहरू हत्या गर्छन् । ढाँट माया गरेर छलकपटविहीन एउटी झरझराउँदी युवतीलाई रेड लाइट एरियामा बिक्री गरी फेरि ढाँट मायाको बजारमा आई पुनः नयाँ कस्टमर खोज्नु थाल्छन् । के छिटो पाई पनि हाल्छन्।
साथीले साथीको ह्त्या गरिनु यो कङ्क्रिटको जङ्गलमा दूध–भात खाएको जत्तिकै छ। लोग्नेकै परम बन्धुसित लहसिएकी स्वास्नीले आफ्नै लोग्नेलाई विष पिलाउँछे। घर, जग्गाजमीन तथा पैसाकै कारणले दाजुले भाइलाई, भाइलाई दाजुले हत्या गर्ने एउटा परम्परा नै बनेको छ यो कङ्क्रिटको जङ्गलमा । मान्छेले मान्छेलाई लङ्की (यिलन–पष्अप) लाएर पछार्ने दाउमा अहर्निश छटपटिरहेका हुन्छन् यी मान्छे नामका जन्तु–जनावरहरू। तर फारसका हिंस्रक जन्तु–जनावरहरूले एकार्कामा लङ्की पछारेका वा हत्या गरेका आजसम्म मलाई लु थाहा छैन।
मान्छे नामका पगरी गुँथेका यी दुई खुट्टे जन्तु–जनावरहरूले के गर्न सक्दैनन् । सबै सक्छन् । झन् अलिअलि राजनीतिको झण्डी बोक्ने थालेको छ भने ता बोसो लागेर केही रहँदैन। आफूलाई एउटा सरकार नै पो ठान्छन् ता मोराहरू। यहाँ झण्डीको आँट र बलमा एउटा हुद्दाले अर्का हुद्दाका कसैलाई एक्लै भेट्यो कि कुटेरै मार्छ । यसलाई ‘सामूहिक हत्या’ भनिन्छ । एक जनामाथि थुप्रै जाइलाग्दा पुलिसले मौन दर्शकको भूमिका निर्वाह गरेर मोबाइल खेलाई बसेको दृश्य चुकचुकलाग्दो देखिन्छ। भोलिपल्ट शहरभरिका खबर कागतमा ‘फ्लानु पार्टी नेतालाई विरोधी पार्टीका भरौटे गुण्डाहरूद्वारा निर्मम हत्या’ भन्ने खबर ठूल्ठूला अक्षरमा पढ्न पाइन्छ ।
कङ्क्रिटको जङ्गलमा वास गर्ने मान्छे नामको दुई खुट्टे जनावर भन्दा अहिले पार्टी ठूलो भएको छ । मर्ने ता मरिजान्छ । मार्नेहरू अहिले कोही गाड़ीका मालिक भएका होलान् भने केही फ्ल्याटका पार्टनर । तिनका लाला–बाला शहरका बडेबडे ख्यातिप्राप्त इङलिस माध्यमका स्कूलतिर जाँदै होलान् । तर मर्ने बिचारा स्वास्नी भने आफ्नो जीउले नभ्याई–नभ्याई कसैको घरमा जुठो भाँडा मोल्न धाउँदै होलिन् । वा बालासनको बगरमा रोडा कुट्दै होलिन् अनि पार्टीकै निम्ति ज्यान गुमाउने होनहार अनिÞ सक्रिय पार्टी कार्यकर्ताका लालाबालाचाहिँ ‘मिड डे मिल’ –कै निम्ति सरकारी पाठशालातिर दुगुरिरहेका हुन्छन् ।
हत्यारा नेताकै बाहुलीबाट ‘मिड डे मिल’–को उदघाटन भएको हो । विशाल दैत्याकार मान्छे नामको दुई खुट्टे जनावर। कङ्क्रिट कङ्क्रिटको जङ्गलमा ढलीमली गर्ने दुई खुट्टे हिंस्रक जनावर। असीमित भुँड़ी । भ्रष्टाचार ग्वाम्मै छोपी भद्र सभ्य शान्त नेताको मखुण्डो ओढेको समाजका गणमान्य व्यक्ति। क्रिमिनल आँखामा सुरमाको जगजगी। घनघोर बाक्लो फारसमा मच्छड, जुका तथा विषालु किटाणुहरूको रगरगी हुन्छन् । पानीमा आर्सेनिक, बी हेपाटाइटिस टाइफस हुन्छन् र पनि हामी फारस पस्छौं।
आफ्नो ज्यानको माया कसलाई पो लाग्दैन र ? तर को’ किन हो घनघोर अथवा घनघोर फारसभित्र पसी विचरण गर्नु कति निको लाग्छ, कति सञ्चो लाग्छ। प्रकृतिको अपूर्व कला यो फारसको पृथ्वी निक्खुर हरियो छ। शान्त छ। कति मिठाइलो वातावरण । हिंस्रक जन्तु–जनावरको निष्फ्रिकी विचरण थलो । कतै विभेद छैन न ता जन्तु–जनावरहरूमाझ लुछाचुँड़ी नै देखिन्छ। एउटाले अर्कालाई उछिन्ने, यता कङ्क्रिटको जङ्गलमा वास गर्ने मान्छे नामको दुई खुट्टे जन्तु–जनावरमाझ शिष्टाचार हिङ्को टालोझैं देखिए पनि भ्रष्टाचार बोसो लागेकै बराबर देखिन्छ । खुट्टा तान्ने, सानोलाई थिच् होचालाई गाड्ने, एउटाले अर्कालाई पछार्ने साविक परम्परा बनेको छ । कङ्क्रिट जङ्गलको पृथ्वीलाई जति नै हरियो, बान्किलो पार्ने कोसिस गरे पनि बाँदरको पुच्छरलाई बाह्र वर्षसम्म ढुङ्ग्रोमा हालेकै बराबरी हुन्छ। यसलाई सुन्दर, रमाइलो, बान्किलो बनाउनु सम्भव भएन, हुँदैन पनि। क्राइमका ढोकाहरू चारैतिरबाट ह्वाङ्ङै–ह्वाङ्ङै खोलिएका छन्। जतिबेला पस्दा पनि भो, जतिबेला निस्किँदा पनि भो । कुना काप्चातिर छिचिमिराजस्तै अपराधीहरू तैँछाड–मैंछाड गरिरहेका हुन्छन् कङ्क्रिट जङ्गल वरिपरि–जताजतै। किसिम–किसिमका खेल देखाउनÞ खप्पीस। हामी मूकदर्शक भई ट्वाल्ट्वाल्ती मक्ख र पक्क परेर हेरिरहेका हुन्छौं । यो कङ्क्रिटको जङ्गलमा सबै आ–आफ्नै दमाहा बजाउन व्यस्त र मस्त देखिन्छन्। कसको कुरा सुन्नु, कसको कुरा नसुन्नु ? कङ्क्रिट जङ्गलभित्रै वास गर्ने भुक्तभोगीको भनाइ – ‘जसको मनी छ उसैको मानमनितो छ। मनी नहुनेहरू कङ्क्रिट जङ्गलमा बेवारिस लाशजस्तै हुन्छन्।’
फारसका जन्तु–जनावरहरूले पशु अधिकार भन्ने कुरो बुझेका छन् वा छैनन् सो मलाई थाहा भएन। तर कङ्क्रिटको जङ्गलमा बस्ने मान्छे नामका दुई खुट्टै जन्तु–जनावरहरूले मानवाधिकार राम्ररी बुझ्नु मात्र होइन खर्लप्पै समेत निलेका छन् र ता शहर–बजार, गाउँ–घरतिर मानवाधिकारको घाँटी निमोठिने गरिन्छ । उसले उसलाई खुकुरीले छप्काउँदैछ । तल्लो गाउँकाले माथ्लो गाउँको घर झोस्दैछ । माथ्लो गाउँकाले तल्लो गाउँमा ढुङ्गा–मुढ़ा गर्दैछ ।
कङ्क्रिट जङ्गलभित्रको विश्वास, आत्मीयता कुँजे भइसकेको छ । व्यापारिक संस्थानले शिक्षाको जिम्मेवारी लिएको छ। संस्कार–संस्कृति रिमिक्स भएर टिभी स्क्रीन नाङ्गो भइरहेछ। लालाबालाहरूका टाउका ता गए–गए आमा–बाबुका टाउकाहरू बोटमै कुहेको फर्सीजस्तै भइसकेका छन् । मेन्टल डिजास्टर – नैतिक सुनामी।
यो कङ्क्रिटको जङ्गलका पाखा–भित्ताभरि ठूल्ठूला अक्षरमा लेखिएका बडेबडे ब्यानहरू जता–ततै झुण्ड्याइएका छन् । लेखिएको छ –
“जसो जसो बाहुन – उसो–उसो स्वाहा ।’’
–सिलगढी, उत्तर बङ्गाल (भारत) ।
प्रकाशित: २६ असार २०७८ ०८:१६ शनिबार