रातको १२ बजे पनि
छटपटिएको छु तिम्रो
यादमा तिम्रै सम्झाइमा
सुस्केराको सुनामी आउँछ
छातीको कुनामा।
त्यसैले त तिमी टाढा नहोऊ
बगाइलान्छ
मेरा र तिम्रा नयाँ बस्तीहरू।
तिमीले पुनर्जन्म पाएपछि
तिम्रो जीवनको शब्दचित्र
कोर्दैछु ।
रातको मध्यान्हमा
सुनसान रातको समय
चकमन्न छ मेरो गाउँ
सुतेको छ अँधेरी रातको शून्यभित्र।
तिम्रो भोगाइको भूगोलको पनि
अब त मेरै भोगाइसँग मिलिसक्यो।
चाहनाको खोजाइसँगै
तिम्रै मुहारको चित्रको
झझल्को आइरहेछ।
कति टाढा जस्तो लाग्छ।
‘तिमी र म’ को सीमाक्षेत्र
दशगजाको अस्थिरताले गर्दा
मेरो छटपटी र सुस्केराहरुको जन्म हुन्छ,
रातको शून्यता सम्झन्छु,
बिर्सन्छु ,सम्झन्छु र बिर्सन्छु
यस्तै क्रम चलिरहन्छ मेरो
सम्झनाको डायरीको पन्नाभरि
कोलाहल र वास्तिविकता नभएको
छटपटी र सुस्केराहरू।
प्रकाशित: २६ असार २०७८ ०७:२८ शनिबार