१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

सृष्टिको अन्तिम श्वास

कथा

तुलसीराम खरेल

 

  त्यस समय  मानिसहरू ब्रम्हाण्डका धेरै ठूलाठूला पिण्डहरूको यात्रा गरिरहेका थिए। दक्षिण एसियाली मुलुकहरूको विकसित देश नेपालबाट पनि धेरै मानिसले चन्द्रमामा घर बनाएर बस्न थालिसकेका थिए। पृथ्वी ग्रहवाट त्यहाँ पुगेकाहरूको लवाइखुवाइ ‘मित्री’ भन्ने सौर्यमण्डल बाहिरको ग्रहबाट  आएकासंग धेरै कुरा मिल्दैनथे। मित्री नामको ग्रहमा धेरै आन्तरिक कलह मच्चिएपछि उनीहरू सौर्य मण्डलको पृथ्वी नामको  ग्रहलाइ घुम्ने उपग्रह चन्द्रमाको अनुकूल वातावरण देखेर त्यहीँ आएर बस्न थालेका थिए।  चन्द्रमामा पृथ्वीबाट गएकालाई ’मुमेन’ भनिन्थ्यो। यहाँका ह्युमेनहरूलाई त्यहाँ मुमेन अर्थात् चन्द्रमाका मानिस भनिन्थ्यो। मित्रीबाट आएका झण्डै पृथ्वी भन्ने ग्रहको भारतीय उपमहाद्वीपका ऐतिहासिक पात्र हनुमानजस्ता देखिन्थे। त्यसैले होला उनीहरूलाई  मुमेनहरूले हनुमुमेन भन्थे। यो नाम जुराउन पनि पृथ्वीका नेपाल भारतबाट गएका हिन्दू र पश्चिमा गैर हिन्दू बिच लामै तर्क चलेछ। पछि पृथ्वी भन्ने ग्रहका अवशेष र प्राचीन भारतको इतिहास झल्कने रामायण पृथ्वीकै धार्मिक च्यानेलवाट आकासे टेलिभिजनमा हेरेपछि पृथ्वीका पश्चिमबाट आएका मुमेनहरूले बिश्वास मानेका रहेछन्।

हनुमुमेनहरूले आफ्नो प्रविधि मुमेनहरूलाई सिकाउन चाहँदैनथे। उनीहरू अशरीरको अभ्यास गर्थे। मित्री ग्रहका आफन्तसंग कुरा गरिरहेका हुन्थे। कुनै सामाग्री हातमा हुँदैनथ्यो। पृथ्वीकाहरू चाहिँ अंग्रेजी र संस्कृत बोल्थे। हनुमुमेनहरु साउती गर्दथे। उनीहरूको ठूलो आवाज सुनिदैनथ्यो। तिनको पूरै भाषा थोरै मुमेनहरूले मात्रै बुझ्दथे। पूरै चन्द्रमा दुई भागमा विभक्त थियो मुमेन र हनुमुमेन लेण्ड। भाषा अलग, जात अलग, जमीन अलग र एक आपसमा बिहावारी हुँदा पनि सन्तान नहुने। किनकि तिनीहरू अलग्गै प्रजातिका थिए तिनीहरूको क्रोमोजोमको संख्या समेत फरकफरक हुन्थ्यो। पृथ्वी भन्ने ग्रहमा मानवजातिको वर्चस्व थियो भने चन्द्रमामा दुइ प्रजातिका प्राणीहरूको वर्चस्व।

 पियुषात्मन भारतबाट  त्यहाँ बसोबास गरिरहेका एक जना व्यक्ति  थिए। हनुमुमेनहरूको संस्कार र भाषाका ज्ञाता उनी हनुमुमेनसंग उनीहरूको  मित्री ग्रहमा समेत गएका थिए। त्यो ग्रह हाम्रै आकाश गंगाको सौर्य मण्डलदेखि पैतीस सय प्रकाश वर्ष टाढा थियो। हनुमुमेनका आधुनिक यानमा त्यहाँ पुग्न चार दिन लाग्थ्यो। चन्द्रमाबाट  धेरै कम दुरीमा पृथ्वी पर्ने कारणले धेरै आफन्तहरूको आइजाइ हुने गर्दथ्यो। एकपटक एक हनुमुमेन मित्रसँग पियुषात्मन दक्षिण भारतको कन्याकुमारीमा अवतरित भए। यो यात्रा मात्रै एक घण्टाको हुन्थ्यो। पियुषात्मनले उनको हनुमुमेन मित्र हनुमन्तमसँग आफ्नो गाउँ र भारतका दर्जनौँ स्थानका तीर्थयात्रा गरे। हनुमन्तम पियुषात्मनले राखिदिएको नाम थियो। यी दुई साथीले ब्रम्हाण्डका धेरै पिण्डहरूको यात्रा गरेका थिए। पियुषात्मनका केही आफन्तहरू मंगल ग्रहमा समेत बस्दथे। चन्द्रमाबाट अर्को ग्रह मंगलमा जान पृथ्वीको कन्ट्रोल रुममा जानकारी गराउनुपर्दथ्यो। उनीहरूको यान भित्री ग्रहबाट ल्याइएको हुनाले पृथ्वीको कन्ट्रोल रुममा इन्ट्री नगराई सिधै जान मिल्थ्यो। चन्द्रमामा ट्यावलेट मील इनपुट गरेर उनीहरू मंगल ग्रहमा गए। त्यहाँ पियुषात्मनले आफ्ना ससुराली खलकका एक नातेदारको भयानक  मृत्युपछिको पुनर्जन्म चन्द्रमामा हनुमुमेन कम्युनिटीमा हुने अग्रीम जानकारी र जन्म हुने घरको फोटो, स्थान र मितिबारे जानकारी गराई चन्द्रमामा फर्केर डिनर गरे। उनले पृथ्वी लोकमा मृत्यु भएका धेरै जनाको पुनर्जन्म मित्री, चन्द्रमा र मंगल ग्रहमा भएका प्रमाणहरू फेला पारेका थिए।

पृथ्वीका मानिसहरूले धेरै ठुलाठुला अप्ठ्याराहरूसंग जुध्नु परिरहेको थियो। पानी पर्न छोडेको थियो। वर्षौसम्मको खडेरी, मभूमिकरण, उच्च तापक्रमले मानिसहरू धेरै मर्न थालेका थिए। आणविक युद्ध, अनिकाल, हत्या हिंसाले पृथ्वी छोडेर चन्द्रलोक र मंगल ग्रहमा बसाइसराइ गर्न थालिसकेका थिए धेरैले। धेरै देशले यसरी पृथ्वी छोड्न प्रतिबन्ध लगाएका थिए। धेरै जना आवश्यक खर्चको जोहो गर्न नसकेर पृथ्वीमै बस्न बाध्य थिए। उता चन्द्रलोक र मंगल ग्रहका प्रशासनहरूले मानिसहरूको प्रवेशलाई प्रतिबन्ध लगाउन थालेको थियो। पृथ्वीका मानिसहरूको अनुशासन र मानवीयपनको क्षय तथा पर्यावरणीय असन्तुलनको कारण कुनै पनि बेला पृथ्वी भन्ने ग्रहमा मानिसहरू बाँच्नै नसक्ने भविष्यवाणी आउन थालेका थिए। पृथ्वी लोकका धेरै देशको बजेट नै आकाशका अनुकूल ग्रह र उपग्रहको अन्वेषणमै सकिन्थ्यो। बंगलादेश, म्यानमार, पेरु, चिली, जापान वरपरका प्रशान्त महासागरीय टापुहरूको अस्तित्व समाप्त भैसकेको थियो। भारत पश्चिमको अरव सागरमा ठूलो नेपालभन्दा झण्डै पाँच गुणा ठूलो टापुको उत्पत्ति भएको थियो। त्यहाँ पनि अरब देशहरू र भारतका झण्डै तीस करोड मानिस बसोबास गर्दथे। त्यो नयाँ हिमालीस्थान मुलुकको जन्म भएको थियो।

चन्द्रमामा अक्सिजनको मात्रामा कुनै कमी थिएन्।  गुरुत्व प्रवेग कृत्रिम रूपले बढाइएको थियो। हरितगृह प्रभाव आवश्यक मात्रामै थियो। रातमा थाली आकारको रातो पृथ्वी देखेर धेरैजना मानिस आफ्नो मौलिक ग्रह संझन्थे। पृथ्वीमा बढ्दै गएको आणवीक युद्धले चन्द्रमाका मुमेनहरू चिन्तित थिए। एसियाका चीन र भारत एउटै कित्तामा उभिएका थिए। अमेरिकी मुलुकहरू र युरोपियन मुलुकहरूको साझा युद्ध संगठन बनिसकेको थियो। पियुषात्मनको परिवार चन्द्रमाको अति रमणीय सीतलाँक कुनामा बसेर पृथ्वीतिर हेरिरहेका थिए। ठूलो ज्वालाले पृथ्वीलाइ घेरेको देखियो। उनीहरू चिच्याए। यो खबर चन्द्रमाका सबै मुमेन र हनुमुमेनहरू बिच क्षणभरमै फैलियो। पृथ्वी सूचना केन्द्रका सुपर कम्प्युटरहरूले कुनै पनि सन्देश लिन र दिन सकेका थिएनन्। रातको आकासमा चलायमान केही पिण्डहरू देखिन थाले।

अन्वेषणका लागि कुनै पनि यानहरू चन्द्रमाबाट उड्न सकेनन्।  प्रविधिका तरङहरूले सबै सौर्यमण्डललाई माकुराको जालोलेझैँ बाँधेको थियो। पृथ्वीका कुनै ठूला अपराधी समूहहरूले पृथ्वी लगायतका धेरै ग्रहलाई एकैचोटि ध्वस्त गर्न सूचना केन्द्र र प्रक्षेपण केन्द्रहरूलाई काम गर्न नसक्ने पारिदिएका थिए। पृथ्वी भन्ने ग्रह टुक्राटुक्रा भयो भने चन्द्रमाको गतिमा समेत असन्तुलन आउन सक्छ । त्यसपछि  यो मंगल ग्रहमा ठोकिएर चकनाचुर हुने कुरा पहिले नै अनुमानहरू गरिएको थियो। एउटा ठुलो विस्फोटनले पृथ्वी टुक्राटुक्रा भएको देखियो चन्द्रमाको आकाशबाट । ठूलाठूला आगोका लप्काजस्ता पदार्थको लुकामारीसंगै तीव्र गतिमा चन्द्रमा समेत हल्लिन थाल्यो। त्यही क्षण पियुषात्मनले सम्झे । सौर्य मण्डलमा मानिसको अस्तित्व समाप्त भैरहेको छ। पृथ्वीका निर्दयी मनुष्यको कारण। अन्य पिण्डहरूमा बसाइसराइ गराइएका मानिसहरू समेत  सृष्टिको अन्तिम सास फेर्दै थिए।

प्रकाशित: २४ असार २०७८ ०७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App