विदुरप्रसाद तिमिल्सिना
जाग्नुपर्छ जागजाग
घन्कन्छ नारा गगनभेदीको
विपन्नताको चीर सुस्केरामा
अविराम आफ्ना श्वास फाल्ने
माथि घरको ठूले जसलाई
थाहा छैन आफ्नै नाम
जोत्दै गरेका आफ्ना हल गोरुलाई
दिन्छ विश्राम, आफूले लिँदा विश्राम
उसका कानमा गुञ्जिन्छन् फेरि
जाग्नुपर्छ जागजाग
घन्कन्छ नारा गगनभेदीको।
ऊ आफैँ द्विविधामा पर्छ
म मानव हुँ कि अन्य प्राणी
मान्छेको दर्जामा नगनिएको ऊ
हेर्छ छियाछिया परेका हत्केला
कसरी जाग्नेको उत्तर खोज्दा
मानिस हुनुको सार्थकतामा
मानिस हुनुको सार्वभौम पाइला खोज्छ
प्रगतिशील नाराका बीच उसले
चर्को आवाजमा भेट्छ
जातीय र क्षेत्रीयताको सङ्कर्णि नारा
जात, थर र क्षेत्रको विभाजनमा
ठूलेको आफ्नो चेत खुल्छ
पुस्तौँदेखि चलाएको हलमा
नफलेर अन्न, फल्दा कालीपोके
धिक्कार्दछ ऊ आफैँले आफैँलाई।
प्रगतिशील नारा र विधानमा
आफ्नो प्रगतिको बाटो खोतल्दा
ठूले कहिल्यै समयमा भेट्दैन मल
नहुँदा सिँचाई नभेट्दा बिउबिजन
दिक्क उसका कानमा ठोकिन्छ
जाग्नुपर्छ जागजाग
भेट्छ उसले उही गगनभेदी नारा।
समानता न्यायका खोजीमा
झुपडीमाथि उडेका नयाँ रकेटले
स्वतन्त्रता र समानताका गीत गाएछन्
भोको पेटमा छुरा चलाएर
चुह्लोमा चिसो पानी खन्याएर
सपनाको उन्नत गीत गाउँदै
ठूलेलाई कर लगाईँदैछ भन्न
जाग्नुपर्छ जागजाग
घन्कन्छ नारा गगनभेदीको।
प्रकाशित: २३ असार २०७८ ०८:५९ बुधबार