२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

राउटे युवाको कथा उपन्यासमा

साहित्यकार अनन्त वाग्लेका उपन्यास ‘कदम’ बजारमा ल्याइएको छ। यस उपन्यासमा लोपोन्मुख फिरन्ते राउटे समुदायको बारेमा लेखिएकाे छ।

काठमाण्डु पब्लिकेशनले सो उपन्यास प्रकाशित गरेको हो। प्रकाशनका प्रभाकार जोशीले विज्ञप्तिमा लेखेका छन्–विशेषतः बालसाहित्य र किशोर साहित्यका पुस्तक प्रकाशित गर्दै आएको काठमाण्डु पब्लिकेशनको यो पहिलो मूल प्रवाहको पुस्तक हो। हामीले यो विशेष पुस्तक विशेष समारोह गरी सार्वजनिक गर्ने योजना बनाएका थियौँ तर महामारीका कारण यो सम्भव भएन।

आफूहरूलाई ‘जंगलका राजा’ भनेर चिनाउने राउटे समुदायबारे थुप्रै गैरआख्यान पुस्तक प्रकाशित भए पनि यसबारे लेखिएको सम्भवतः यो पहिलो आख्यान हो। साहित्यिक पाठकका साथै विद्यार्थी, शिक्षक, अध्येता र समाजशास्त्र,मानवशास्त्र, शिक्षाशास्त्रमा रुचि राख्ने तथा यस क्षेत्रमा कार्यरत सबैका लागि पुस्तक अत्यन्त उपयोगी रहने हाम्रो ठम्याइ छ।एसियाकै अन्तिम फिरन्ता भनेर पनि चिनिने राउटे समुदाय कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान लगायत जिल्लाका जंगलमा ठाउँ सर्दैसर्दै बस्ने गर्छन्। लेखकले स्थलगत अध्ययन गरी राउटे समुदायको जीवनशैली, इतिहास, हालको अवस्था, उनीहरूका सुखदुःख, परिवार, जीविका, प्रेम र प्रणयलगायत अनेक पाटा केलाएर कडा मिहिनेतका साथ पारेका हुन्।’

बाल तथा किशोर साहित्यमा ५० भन्दा बढी पुस्तक प्रकाशन र सयौँ पुस्तक सम्पादन गरेका वाग्लेको यो पहिलो उपन्यास हो। यसअघि हाम्रो प्रकाशनबाट प्रकाशित उनको किशोर उपन्यास ‘यार्चा’ नेपालका ५ सयभन्दा बढी विद्यालयमासन्दर्भ सामग्रीको रूपमा अध्यापन गराउने गरिएको छ।

समाजशास्त्रका अध्येता तथा शिक्षा क्षेत्रमा कार्यरत वाग्लेको उपन्यासमा मानव जीवनका अनेक आयामलाई फरक शैलीमा केलाइएको छ। पुस्तकले साहित्य र शिक्षाका  साथसाथै  आममानिसलाई आशा र सफलतातिर उन्मुख गराउन मोटिभेसन पनि गराउने छ।

३ सय १६ पृष्ठको यस पुस्तकको मूल्य ४ सय रुपैँया रहेको छ। लेखकले लेखकस्वको अंश राउटे समुदायको हितमा खर्चने पुस्तकमै घोषणा गरेका छन्।  

प्रकाशित: १८ असार २०७८ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App