दीपेन्द्रसिंह थापा
गिट्टी कुटिरहेकी बालिका
गिट्टीभन्दा धेरै
आफ्नै हातका अमूर्त रेखाहरू
कुटिरहेकी हुन्छे
एकतमासले सुसाइरहेको खोलाछेउ
शुष्क बगरका ढुङ्गासँगै
फुटिरहेकी हुन्छे ।
गिट्टीका प्रत्येक टुक्राहरू
उसका बाह्रखरी
उराठ बगर उसको विद्यालय
सिक्नु र नसिक्नुको दोसाँध
उसका सिकाइ
बुझ्नु र नबुझ्नुको दोधार
उसका बुझाइ
त्यसैले ऊ
बिनालिपिमै देखिएकी हुन्छे
बिनाशब्दमै लेखिएकी हुन्छे।
गुलाबभन्दा कोमल
हातहरू उसका
बजार्दाबजार्दै ढुङ्गाका फक्लेटाहरूमा
थाहा पाउँदिन ऊ
बदलामा कसरी उभिएको छ
समयको क्रूर रूप
र हम्मर बजारिरहेको छ
उसका विवशताहरूमाझ
उसका दुर्भाग्यहरूमाझ
मात्र यन्त्रवत् चलेकी हुन्छे ऊ
धेरै मृत्यु र थोरै जीवन बाँचेकी हुन्छे ऊ ।
यो युगभन्दा भिन्न
यो आधुनिकताभन्दा भिन्न
गिट्टी कुटिरहेकी बालिका
गिट्टी थोरै
र गिट्टीभन्दा धेरै
आफ्नो लेख्दै नलेखिएको जन्मकुण्डली
कुटिरहेकी हुन्छे
उज्यालोसम्म पुग्ने
सम्भावनाका धमिला धर्काहरू
मेटिरहेकी हुन्छे ।
प्रकाशित: १७ असार २०७८ १२:११ बिहीबार