निर्मला कुँवर
१) मुक्तक
इतिहासमै सीमित भए, देशको लागि मर्नेहरू,
मुस्किल पर्छ पाउन अचेल, देशलाई माया गर्नेहरू
मै खाउँ मै लाउँ, मोजमस्ती आफू मात्रै गरूँ भन्छन्
हावी भए जताततै, आफ्नै भुँडी भर्नेहरू ।
२) मुक्तक
स्वार्थीहरू माया गर्दा, पार्नु मक्ख पार्दारहेछन्,
आकाशका जूनतारा पनि, भुईँतिरै झार्दारहेछन् ।
जता फाइदा उतै लाग्ने, हुँदारैछन् तिनीहरू,
धन – दौलतको सामु तिनले, चोखो माया मार्दारेछन्।
३) मुक्तक
जो–जो आए जिन्दगीमा, नमिठो घात गरेर गए,
कोही आए मलहम देखाई,तर घाउमा नुन छरेर गए।
जसले जेजे गरे पनि, अटल वृक्ष बनेरै बाँचे,
म त भन्छु मलाई छोड्ने, पातजस्तै झरेर गए।
४) मुक्तक
सम्झनामा आउँछन् अझै, ढिँकी –जाँतो गरेका दिनहरू,
पँधेरो गई माटाको घैँटोमा, मुलको पानी भरेका दिनहरू।
अहिले जस्तो समय हेर्ने, मोबाइल घडी केही थिएनन्,
तीन आँख्ले र किर्किटी हेर्दै, बेसीतिर झरेका दिनहरू।
५) मुक्तक
सक्छौ भने देशका लागि, केही त्याग गरेर देखाऊ,
देश दुख्दा देशको मुहारमा, लौ न खुशी छरेर देखाऊ।
भाषण मात्र किन गर्छाै, देशको माया गर्छाै गर्छु भनी,
सिमानामा देश मिच्चिँदा, देशका लागि मरेर देखाऊ।
प्रकाशित: १२ असार २०७८ ०९:०७ शनिबार