२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

विद्रोह

कविता

स्वर्गीय सुमन

 

प्रिय कमरेड

ठिक यतिबेला आफू उभिएको

माटोको कसम खाई

शिरमा नाइम्मा र हेकाम्मालाई राखेर

सुम्निमा पारुहाङलाई अलिकति आशीर्वाद मागी

तिम्रो राज्यको आँगनमा उभिएको छु

न त केही माग्न नै आएको हो

न त केही लिन, दिन नै आएको हो.......

 

प्रिय कमरेड

लिनु त छ, वर्षौअघि खोसिएको मेरो पहिचान

मेरो भाषा,संस्कृति,सभ्यता र मुन्धुम

तर,

कदापि मागेर हैन एकएक खोसेर लिनु छ

तिमीहरूको हातबाट तिमीहरूकै आँखा अगाडि

अनि मिलाउनु छ अंक गणितको

एकएक अंक जोडेर बिग्रेको हिसाब

अनि लेख्नु छ सुनौला आक्षरहरूले

चौताराहरूमा खोपिएको अक्षरहरूजस्तै

नलेखिएको मेरो इतिहास.....

 

प्रिय कमरेड

सक्छौ भने परेड खेल मेरो छातीमा

ब्जार हिटलरी बुट, ताक कञ्चटमा गोली

निकालेर मेरो नलिखुट्टा बजाउ उत्सवहरूमा बाँसुरी

भाँचेर मेरो एकएक करुङहरू बनाउ घरको डाँडाभाटा

उधारेर मेरो छाला टाल बार्खामा याममा चुहिने घरको धुरी

घोषणा गर विद्रोही आतंककारी

मेटाइदेऊ मेरो एक–एक पहिचान

जलाइदेऊ मेरो इतिहास

च्यातेर मिल्काइदेऊ

मेरो वंशजको नागरिकताको प्रमाणपत्र  

र पनि,

एक पाइलापछि हट्नेवाला छैन.....

प्रिय कमरेड

न त मलाई तिम्रो कानुनको पहाडले छेक्न सक्छ

न त तिम्रो बन्दुकको गोलीले

किनकि,

म त्यसै आउँदै आएको हैन

कयौ पर्वतहरु नाघेर,पहाडहरु छिचोलेर

कयौ जँघारहरू तरी आँधी बनेर आएको छु

तिम्रो राज्यको आँगनसम्म

बरु,

राम्लिहाङ र रिदमहाङसँगै

चुलीवन बनेर युग बाँचिदिन्छु

कदापि रित्तो हात फर्किनेवाला छैन

तिम्रो राज्यबाट...!

 

किरात राई चाम्लिङ भाषामा

नाइम्मा–जून

हेकाम्मा–घाम

मुन्धुम– किरात वेद

राम्लिहाङ रिदमहाङ– १९६७–सालमा धनकुटास्थित आठपहरिया राईहरूले दशै बहिष्कार गर्दा तत्कालीन सरकारले राम्लिहाङ र रिदमहाङलाई धनकुटा नजिकै चुलिवनमा झुन्डाएर फाँसीको सजाय  दिएको थियो !

प्रकाशित: ११ असार २०७८ ११:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App