२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

आमाका चुरा

कविता

     शुभलक्ष्मी लम्साल

 

सम्झनाका लस्करहरूमा

अनौठो धुन बनेर आउँछन्

आमाका चुराका झन्कार

हृदयको लयमा  

छिन् छिन् छिन्  .. ।

 

हातभरि लगाएका  

राता सुनबुट्टे चुराको आवाजमा

कहाँ सुनिन्थ्यो र ?

आमाको रुँदै बगेको मन

कहाँ देखिन्थ्यो र ? धारिलो मुटु  

हुँदैन थियो मनभरि पीडा पनि

हँुदैन थियो कहिल्यै अँध्यारो घर

धपक्कै उतार्थिन् चुरामा प्रभातको सूर्य  

उज्यालो भरेर चराको संगीत

लयात्मक बनाइरहन्थिन् घर ।

 

पर कुवामा

जब पानी भर्न जान्थिन्

छिन् ! छिन् ! बज्दै जान्थे चुरा

हेर्थिन् रोदी घरको रमाइलो

अडिन्थे आफैं पाइला

गम्थिन् विभेदले थिचेको शरीर  

कहाँ भर्थिन् र? मनलाई उल्लासले

निरस मनले रसाउँथिन्, सृष्टिको मुहान

प्रेमको धुनले मौन भर्थिन् जीवनको घडा

पानीमा कहाँ  आउँथ्यो र ? चुराको झन्कार

आमाजस्तै टोलाएर लाटो हुन्थ्यो  !

 

जब म आमाको पछिपछि दगुर्थे

नरम हातले हाँस बनी छपक्कै छोप्थिन्

खोकिलामा लुकाउँथिन् न्यानो पारेर  

म टिउरा बनी बेरिन्थे अँगालोमा  

न्यानो लाग्थे आमाका चुरा ।

 

म हेरिरहन्थे

आमा जब कोदालोले बाँझो खन्थिन्

उनकै मौन चीत्कार बनेर

भयानक आवाज निकाल्थ्यो चुरा

कहिलेकाही कोदालोको बिडमा ठोक्कीएर  

उनकै सपना जसरी

झर्यामझुरुम फुट्थ्यो चुरा

कहाँ बिस्मात मान्थिन् र ?

फोडिरहन्थिन् पीडाका डल्ला

फुटेका चुरासँगै

केके–केके फलाँक्दै

मिल्काउँथिन् पारी खोलामा रहर

कम्ता वीर लाग्दैन्थ्यो आमाको रौद्र रूप।

 

वर्ष दिन लगाएको चुरा

सोमबारे हाटमा फेर्ने दिन  

अघिल्लो दिनदेखि नै निकाल्थिन् साइत

पहिलो प्रहरमा सोहोर्थिन् भकारो

झिसमिसे बिहानै सिध्याउँथिन्  काम?

एथलेटिक्स धावकभन्दा तेज दौडन्थिन् ।

 

रुखका पात खस्ने याममा  

जब चुराको रङ खुइलिन्थ्यो

हराउँथ्यो आमाको अनुहारको कान्ति  

मात्र सुस्केरा बनी बजिरहन्थे

मेघ गर्जनको आवाजसँगै

हत्कडी जस्ता रंगीचंगी चुराहरू  

मनमा गुम्फन राखेर तर्सिरहन्थिन्

जो सम्झाइरहन्थ्यो शासनको ओपेरा धुन।

 

कहिले त लाग्यो होला उनलाई  

भयो अब

खोलेर फाल्दिनु छ  

हरदम तड्पाइरहने

गुलामी जन्जिर जस्ता चुरा  

जो नबजोस् कहिल्यै

मजस्तै

हजारौ छोरीलाई तर्साएर  

छिन् छिन् छिन् ...।

 

अचेल आमा भन्ने गर्छिन् –

बरु उठाओ छोरीहरू प्रतिकारमा

खुकुरी बनाएर रित्ता हातहरू  

नभए, बरु लाऔं छोरीहरू !

यी हातमा आगोका चुराहरू

र बाँड सबैलाई एकएक झिल्को

बरु सल्कियोस् !

एउटा हातबाट सयौं हातमा  

जो छुन्छ, आफैँ जलेर सकिन्छ ।।

प्रकाशित: १० असार २०७८ १२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App