९ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

पोखरेली साँस्कृतिक धरोहर गुरुङको निधन

कला र सँस्कृति आफैंमा मौलिकता हुन्छ । मौलिक कला सँस्कृति जर्गेना आफैंमा महत्वपूर्ण हुन्छ । लामो समय नेपाली सँस्कृतिसँग रमेका सँस्कृतिकर्मीका धरोहर मेनकाजी गुरुङले सँस्कृतिप्रतिको यथार्थतालाई उजागर गरे । सँस्कृतिप्रति अत्यन्तै लगाव रहेका सँस्कृतिकर्मी गुरुङले सँस्कृतिको जर्गेना गर्ने जिम्मेवारी बोध गराउँदै युवापुस्तालाई छोडिदिए । उनै गुरुङले मंगलबार विहान पोखराको फिस्टेल अस्पतालमा उपचारको क्रममा प्राण त्याग गरे । मुटुको लामोदेखि विरामी रहेका उनको उपचारकै क्रममा निधन भएको हो ।  

उनको निधनले पोखराको साँस्कृतिक कला क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । हिमाली साँस्कृतिक परिवारका संस्थापक उपाध्यक्ष गुरुङ लोक नृत्यमा पोख्त थिए । विभिन्न गाउँठाउँको अध्ययन गरेर जातजातिको भेषभुषालाई कलाको माध्यमबाट पस्किने गरेका थिए । केही दिन अघि मात्रै श्रीमतीलाई गुमाएका गुरुङको निधनले पोखराको कला क्षेत्र टुहुरो जस्तै बनेको कला क्षेत्रका व्यक्तिको भनाई छ ।  

‘सँस्कृतिलाई नृत्य मार्फत उतार्न अविरल लाग्ने मेनकाजी नै हुनुहुन्थ्यो  । उहाँको साँस्कृतिक क्षेत्रमा गरेको त्याग विर्सनै सकिदैन्,’ हिमाली साँस्कृतिक परिवारका उपाध्यक्ष ज्ञान थापाले भने, ‘उनको अभाव सँधै खट्किनेछ ।’ डेढदशकदेखि हिमाली साँस्कृति परिवारको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका गुरुङकै सक्रियतामा साँस्कृतिक परिवार नयाँ उचाईमा पु¥याउने महत्वपूर्ण योगदान रहेको छ । ‘टिपिकल सँस्कृति ,जातीय एवं भेगीय नृत्य निर्देशन गर्न सक्षम थिए । गहिरो अध्ययन गरेर मात्र भेषभुषासहित नृत्य निर्देशन दिनुहुन्थ्यो,’ उनको भनाई थियो ।  

गुरुङको कला क्षेत्रको यात्रा भने डाँफे कला मन्दिरबाट शुरु भएको थियो । पोखराकै पुरानो डाँफे कला मन्दिरमा नृत्य प्रस्तुत गर्दै आएका थिए । नृत्य गर्दा गर्दै हङकङमा २०५३ साला साँस्कृतिक कार्यक्रममा सहभागि भएका थिए । फर्केर आएपछि २०५४ सालमा उनकै सक्रियतामा हिमाली साँस्कृतिक परिवार नामक संस्था स्थापित गरे । उनी संस्थापक उपाध्यक्ष भएर काम गरे । त्यसपछि हालसम्म अध्यक्षमा रहेर विभिन्न कार्यक्रममा हिमाली साँस्कृतिक परिवारलाई साँस्कृतिक कार्यक्रममा सक्रिय उपस्थिति गराउँदै आएका थिए ।  

लोक नृत्यमा पोख्त थिए । कास्कीको मादी गाँउ पुरानो घर हो । पोखरा रामबजार घर भएका गुरुङले विशेष गरी मौलिक सँस्कृतिमा आधारित नृत्य निर्देशन गर्दै आएका थिए । ‘उनी लोक नृत्यमा दख्खल थिए,’ उपाध्यक्ष थापाले भने, ‘तर शास्त्रीय नृत्यमा डिप्लोमा गरेका छन् ।’ शास्त्रीय नृत्यमा डिप्लोमा गरेपनि उनले शास्त्रीय नृत्य भने सिकाउने तर्फ अभिरुची देखाएनन् । केही गुरुङ चलचित्रमा उनले नृत्य निर्देशन समेत गरे । ‘गुरुङ चलचित्रमा नृत्य निर्देशन मात्रै नभई नाटकमा समेत खेल्थे,’ चलचित्र एवं कलाकर्मी माओत्से गुरुङले भने, ‘विशेष अभिरुची नृत्यमा थियो । लोक नृत्यमा बढी लगाव थियो ।’  उनको अर्को विशेषता मास पिटी थियो । मास पिटी सिकाउने उनी सम्भवत एक्ला प्रशिक्षक समेत हुन् । उनले आर्मीको टोलीलाई समेत मास पिटीको प्रशिक्षण दिएका छन् । तमुधिं नेपालका उपाध्यक्ष समेत रहेको गुरुङ गोरखा दक्षिणवाहु चौथोबाट विभुषित भएका थिए । 

प्रकाशित: १८ जेष्ठ २०७८ १०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App