२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

रणनीति

लघुकथा

राजु क्षत्री ‘अपुरो’

जब टोलमा कोही बिरामी हुन्थ्यो या कुनै महिला प्रसव पीडामा छटपटाइरहेकी हुन्थिन् , उनी अगाडि सरेर गाडी मगाउँथे   अनि स्वयं  पनि अस्पताल पुग्ने गर्थे।

कसैको बिहा ,ब्रतबन्ध, पूजा आदि कार्यमा चाहिनुपर्ने आवश्यक सामानको जोरजाम गर्न आफैं  लागि पर्थे। कसैको मृत्यु हुँदा किरियापुत्री कुर्न रातभर खटिन्थे।

नाफा हुने कामबाहेकका विकासे काममा उनलाई नै अगाडि सारिन्थ्यो तैपनि उनी समाजले दिएको जिम्मेवारी पूरा गरेरै छाड्थे। गाउँघरमा भैपरी आउने सानातिना व्यक्तिगत  समस्याहरूमा पनि निःशुल्क सेवा प्रदान गर्थे।

उनी त्यति धनी त थिएनन्  तर मिहिनेत गरे वर्ष दिनभरि पुग्ने खेतबारी बाउबाजेले जोडिदिएकै थिए। बाँकी जीवन यसरी नै समाज सेवा गरेर बिताउने चाहना थियो उनको।

स्थानीय निकायको चुनाव नजिकिंदै थियो। केही व्यक्तिहरूले उनको खुब गुणगान गाए।  आफू आबद्ध रहेको पार्टीको उम्मेदवारको अवगुण देखाउँदै उनलाई भरपूर साथ दिने बाचा गर्दै अध्यक्ष पदका लागि स्वतन्त्रबाट चुनाव लड्न सल्लाह दिए। पदमा बसेर समाजसेवा गर्दा चारैतिर यश फैलिने र यस्ता मौका पटकपटक नआउने कुरामा जोड दिए। उनलाई पनि लाग्यो, गाउँमा सबैले मानेकै छन् । पक्कै पनि भोट दिनेछन्। तसर्थ उनी चुनावी मैदानमा उत्रिए।

नतीजामा  उनी भारी मतले पराजय भए। उनलाई उनकै टोलबाट विपक्षी दलको भोट काट्न उठाएको कुरा ती समाजसेवीले चाल पाउन सकेनन्।

प्रकाशित: ११ जेष्ठ २०७८ ०७:०५ मंगलबार

अक्षर