१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

हावाबिनाको शहर

कथा

जितेन्द्र बस्नेत

 

अचानक नजिकनजिक रहेका दुईवटा चिहानबाट केही आवाजहरू आएको सुनिन्छ । बिस्तारै ती स्वरहरू मूर्त हुँदै ज्यादै नजिक आउँछन् । चकमन्न औंसीको रात छ । सुनसान जंगलभित्रको खोला किनारमा ती दुई आकृति बिस्तारै सिंगो रूपमा एकाअर्काका परिचितझैं नजिकिन्छन् । सेता आकृतिका ती दुवैलाई अलि परैबाट पनि देख्न सकिन्थ्यो । एउटा अलि उमेर पाकोजस्तो वृद्ध र अर्को भर्खरको जवान युवक । तिनीहरूले निकैबेर एकअर्कालाई हेरिरहे, बोल्न सकेनन् । दुवैका आँसु भेल बन्दै बगे। वृद्ध थरथर काम्न थाले, युवक डाँको छोडेर रोइरहँदा ती दुई सेता स्वरूप अंकमाल गरेर थचक्क बसे । मानौं कहिल्यै निको नहुने घाउ दुखेको छ उनीहरूको।

सबै सकियो बाबू, मेरो तपस्या, त्याग, संघर्ष, अनि तेरो भविष्यको सपना । आखिर एकै ठाउँमा आएर चिहान हुनुपरयो । वृद्धले ज्यादै कमजोर बोलीमा भने । हामी त मरेर त्यो पापी संसार छोड्यौँ बा, तर आमा कुन यातनामा छटपटाइरहेकी होलिन्, बिचरी ! गाउँदेखि कति हैरानी खपेर, अनेक आशा बोकेर, कति मुस्किलले हारगुहार गर्दै अस्पतालमा पुरयाइन् हामीलाई । युवक रुँदै बोल्यो । हामी अस्पतालको बाहिर सासको आशमा छटपटाइरहँदा उहाँको क्रन्दन, याचना...!, युवक चिच्याईचिच्याई रोयो । उसको क्रन्दन त्यो जंगलमा गुन्जायमान हुँदै बिलायो । कठै ! मेरो मुखमा सास फुक्दै थिइन्, वृद्धले काँपेको स्वरमा थपे, अनि मैले सकीनसकी हात उठाएर तँतिर देखाएपछि उनी तँलाई अँगालो हाल्दै थिइन् । त्यसपछि मैले देखिनँ । गएको साल नै हो मैले देशमै केही गर्नुपर्छ भनेर तँलाई विदेश जानबाट रोकें। धरहरा त बन्दै थियो भने तेरो भविष्य पनि त बन्ला भनेर सोचें। सायद तँ बाँच्थिस् होला, हाम्रा सन्तानहरूले वंश चलाउँथे होलान्, अहिले लाग्छ व्यर्थै किन रोकेछु । वृद्ध भक्कानिए । बा ! अहिलेसम्म त त्यो शहर मुर्दाहरूको शहर भइसक्यो होला है ! हामी यति टाढा फालियौं। अहिले त शहर नै लासहरूले भरिएपछि बाहिर लानु पर्दैन सायद । अनि मेरी आमा...! एकदुई जना त सास फेर्ने हावा नपाएर अस्पतालको पेटीमा मर्नुपरेको शहरमा मेरी आमाले कुन हालतले प्राण त्यागिन् होला ..! युवक बोल्दाबोल्दै रोकियो । एकछिन व्याकुल बनेपछि ऊ फेरि बोल्यो– बा, म अशान्त छु, आत्तिएको छु। म एकपटक त्यो हावाबिनाको शहरमा बिस्तारै चियाएर आउँछु । यदि मेरी आमाले हाम्रै हालतमा प्राण त्यागेकी रैछन् भने त्यो दानवी दुनियाँबाट सुटुक्क लिएर आउँछु अनि यो दुनियाँमा भए पनि सँगै रमाउँला । त्यसपछि त्यो युवकको आकृति माथि उड्दै हराउँछ, वृद्ध निराश मुद्रामा छटपटाउँछन्।

युवक आफू लास भएको ठाउँमा जाँदै गर्दा ठूलाठूला धुवाँका मुस्लाहरूले उसको बाटो छेकिएपछि त्यही धुवाँभित्र रुमलिँदै एउटा नदी किनार नजिकै पुग्छ। त्यहाँ अनेकौै लासहरू चितामा जलिरहेका हुन्छन् । चिताको चीत्कार उसले मात्रै सुन्छ । ज्यादै ठूलो गुनासो, चिन्ता, व्याकुलता, पछुतो र असन्तोषका चीत्कारहरू सुनेपछि युवक त्यो जड शहरलाई ध्यानपुर्वक नियाल्छ । पर टल्किरहेको सेतो र चम्किलो धरहरा हेर्छ, सँगै आफ्ना जीवनका अनेक सपनाहरू सम्झिन्छ । उसको मन भरिएर आउँदा अनायास दुई थोपा आँसु आँखाबाट झर्छन्, उसका आँसुका ढिक्का त्यो शून्यताबाट झरेर ती जलिरहेका चितामध्ये कुनै एक चिताको आगोमा खस्न पुग्छन् र त्यो आगो निभ्छ । त्यसपछि उसले थाहा पाउँछ  कि त्यो जलिरहेको चिता उसकी आमाको थियो। ऊ नजिक गएर भावुक हुँदै बिस्तारै बात मार्छ – आमा ! म तपाईंलाई लिन आएको। म यो निर्दयी, निष्ठुरी अनि हावाबिनाको शहरमा तपाईंको आत्मालाई पनि भड्किन दिन्नँ।

आफ्नो छोराको आवाज सुनेर उसकी आमा लामो सुस्केरा हाल्दै जुरुक्क उठिन्। मानौं उनी धेरैपछि शान्तिको सास फेर्दै छिन् । त्यसपछि छोराको हात समातेर अदृश्य आकाशतिर सँगै बिलाइन् । जाँदाजाँदै युवक त्यो लासहरूको शहर एकपटक फरक्क फर्किएर हेर्छ र भएका आँसुहरू एकैपटक खसालेर आफ्नै चिहानतिर वेग हान्छ, जहाँ उसका वृद्ध बा उनीहरूको प्रतीक्षामा हुन्छन् ।

प्रकाशित: ३ जेष्ठ २०७८ ०७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App