३ पुस २०८१ बुधबार
image/svg+xml
कला

सबैकी आमा देउराली साइँली

सस्मरण

 अशोक पोखरेल      

  

हरेक मानिसको जीवनका आ–आफ्नै परिधि र संंघर्ष हुन्छन् । यिनै परिधिलाई छिचोल्दै ओखलढुंगा जिल्लाको तत्कालीन कुइभिर गाविस वडा नं. ८ मजुवाकी (हाल चिसंखुगढी गापा वडा नं. १) देउराली साइँली हरिप्रसादकी बुहारी हुन् । उनको बाल्यकाल दुबे सिम्ले खोटाङमा भएको थियो । विहेवारी ओखलढुंगाको मजुवा भन्ने ठाउँमा भयो। मजुवाबाट छुट्टभिन्न हुँदा देउराली भन्ने स्थानमा घरबनाई बसेकी थिइन् देउराली साइँली । सामान्य कृषि पेशाबाट अघि बढेको थियो उनको परिवार हो । यसै पेशाको माध्यमबाट उनको सन्ततीको पढाइलेखाइ र पालनपोषण गरिन । त्यहाँको जमिन त्यति उर्वर नभए पनि मेहनत र परिश्रमले गर्दा धान, मकै, कोदो राम्रैसँग फल्थ्यो । जुन अन्नबाट घर खर्च लगायत गर्जो यावत टथ्र्यो । उनको घरको मुख्य आयस्रोत भन्नु नै अन्नबाली थियो। त्यही अन्नबाली बचाएर बिक्री गरी नुन, तेल मरमसला, लत्ताकपडा किन्ने  र छोराहरूलाई पढाउनुपर्ने बाध्यता उनको परिवारको थियो । यसैगरी चाडपर्व मनाउनदेखि यावत खर्चहरू धान्न पनि त्यही अन्नको भर पर्नुपथ्र्यो।

उनको घरमा नियमित रूपमा दुई वटा भैंसी र तीन वटा गाई दुहानका लागि पालिएको थियो।

उनको घरमा गाईभैंसी दुहानका लागि पालिएको थियो । खेतीका लागि हल गोरु थिए । खेतीपाती र पशुपालनमा नै  त्यो परिवारले सम्पूर्ण समय बिताएको थियो । बिहान भालेको पहिलो डाकदेखि उनी उठी जाँतोमा मकै पिस्दै श्लोक गाउँदै गरेको हामी  आज पनि झलझली सम्झन्छौ।

अहिले सम्झिदा पाँच पाथी मकै देउराली आमाले एक घन्टामा पिस्नु हुने रहेछ । श्रीमान् पनि यो समयमा उठी गोठको धन्दा सक्नुहुन्थ्यो ।  उनीहरूको बेलुका सुत्ने समय अलि ढिलो नै हुन्थ्यो । बिहान ६ बजे मेलामा पुगिसक्नुपथ्र्यो, यो दिनचर्या जस्तै थियो । झम्के साँझले निमन्त्रणा गरेपछि मात्र घरको द्वार खोलिन्थ्यो। अहिले जस्तो त्यो बेलामा घरको आँगनमा  पानीको धारा कहाँ पाउनु । टाढाको धाराबाट उनी  डोकामा तामाको गाग्री र हातमा ग्यालिनमा पानी झुन्ड्याएर ल्याउँदथिन्।

यसरी रातसाँझको समयमा घाँस, पानी गर्दा कहिलेकाहीँ त उनीले त बाटामा चितुवा भेटेको, स्याल नजिक जाँदासम्म नभागेको सुनाउँथिन् । कहिले दुम्सीले काँडा फिँजाएर १० मिनेट बाटो छेकेको कुराले हामी सबैको आङ नै सिरिङ्ङ हुन्थ्यो। छोराहरू पनि अलि सक्ने भएपछि दुई हातमा ग्यालिन ठटाउँदै दौडिदै गएर पानी ल्याउँथे। एक भारी घाँस काट्ने गरी सकेको काम घरमा सघाउँथे। अनि चुल्होमा भर्सिरहेको वा कहिलेकाहीँ त काँचै भात पस्केर पनि खांन्थे। हो ती दिनको सम्झना अझै यादगार छ।  

बिहान घरको काम सकेर म स्कुल जाने अर्को नियमित काम थियो। छोराहरूको स्कुल छुट्टीपछि घरमा आएर मकै – भटमास गोजीमा हाली खाँदै गाईबाख्रा चराउन, बेलुका घरधन्दाको काम सकेपछि छोरालाई आमा बुवाले पढ्न लगाउँथे। छोराहरू पनि किताबमा भएका कविता, कथाहरू वल्लोपल्लो घरले सुन्ने गरी पढ्दथे। उनीहरूको दिनहरू यसरी नै दिन बितिरहेका थिए। 

उनको घर गाउँको छेउमा थियो । बाटोसँगै जोडिएको घर हुनाले गाउँलेहरू खेतमा काम गर्न जाँदा उनको घर गाउँको छेउमा थियो । बाटासँगै जोडिएको घर हुनाले गाउँलेहरू खेतमा काम गर्न जाँदा – आउँदा त्यो घरमा थाहा हुन्थ्यो । आफ्नो घरबाट ल्याउन छुटेका सामानहरू प्राय ः गाउँलेले त्यहीँ घरबाट मागेर काम चलाउँथे। खेतीपाती मेलापातबाट फर्कदा पनि त्यो घरमा  आइपुगेपछि आइपुगियो भनेर भारी बिसाउने, सुर्ती, बिँडी, मही, पानी, सर्वत वा अचार घरमा जे छ त्यो खाँदै एकले अर्कालाई पर्खने गर्थे । त्यो  घर एक अर्काको खेतीबारी घरपरिवार दुःखसुखका कुराहरू सुनाउने बिसौनी नै बनेको थियो।

त्यो घरको बुवा जन्मले साइँलो भएकाले सबैले देउरालीको साइँला र आमालाई देउरालीकी साइँली भनेर तिन गाउँ परकाले पनि चिन्थे ।  देउराली साइँली पोख्रेल्नी आमा हक्की निडर स्वभावकी र सबैलाई दिएर खानुपर्छ भन्ने विचारकी थिइन। पोखरेल परिवारमा रोज्या बुहारी, पोखरेलनी साइँली हुन भन्थें। यिनले पोखरेल कुललाई  नै तार्छिन् भन्थे । पोखरेल परिवारको इज्जत बढाएकी छिन् भनेर भोटेछापको भक्तबहादुर मगर र गैरीगाउँका कृष्णबहादुर अधिकारी खानीभञ्ज्याङका देवीप्रसाद निरौला, गहतेका गजबहादुर क्षेत्री अधिकारी रातमाटेका बलबहादुर तामाङ यस्तै कुरा गर्थे। देउराली साइँलीको माइत अलिक टाढा थियो ।  हिँडेर ७÷८ घण्टा लाग्थ्यो । उकालो, ओरालो बनजंगलको बाटो पार गर्दै, दुधकोशी तरेर जानुपथ्र्यो । दुध कोशीको पुल बगाएपछि बासको फड्केबाट कोसी तर्दै माइत जान्थिन्। वर्षाको समयमा पानी पर्दा फड्के बगाउने हुनाले दुधकोशी नतरुन्जेल पीर भइरहन्थ्यो। उनी वर्षमा तीनचार पटक माइत जान्थिन्। माइतबाट आउँदा कहिले कोसेली भरिया लगाएर ल्याउँथिन् भने कहिले आफैं पिठ्यूँमा चिउरा, सिलाम, कटुस, केरा र हातमा फिपी झुन्डयाएर ल्याउँथिन्। उखुका लाक्रा टेक्दै फिपीमा अर्सा, सेलरोटी र कुराउनी हुन्थ्यो। उनी माइत गएपछि कतिखेर घर आउँछिन् र कोसेली खाने भनी उनी आउने बाटोतिर पर्खिरहेका हुन्थे आँखाहरू।

गाउँका गाउँका छिमेकीहरू पनि साइँली कहिले आउने, कति दिनका लागि गएकी हुन्  भनी दिनदिनै सोध्ने गर्दथे। उनी माइतबाट आएपछि उनले ल्याएको चिउरा, केरा, अर्सा, रोटी, कुराउनी मही छिमेकी र हामीलाई समेत दिन्थिन् र उनले  ल्याएको कोसेली तीनचार दिनसम्म नि गाउँलेहरूले ल्याएको छ कि छैन भनेर प्रश्न गरिरहन्थे। किनकि सबै जनालाई देउराली साइँलीको माइतबाट ल्याएको कोसेली खाने बानी परिसकेको थियो।

खेतीपाती लगाउँदा खेताला आउन तथा अर्मपर्ममा जहाँ पनि देउराली साइँली भनेर उनको खोजी हुन्थ्यो । गाउँमा विवाह, पुराण, भोजभत्तेर जस्ता सामूहिक सबै कार्यमा देउराली साइँलीको उपस्थिति अनिवार्य जस्तै थियो। पढाइको सिलसिलामा उच्च शिक्षा अध्ययन गर्न छोराहरू काठमाडौंमा बस्दथे। कान्छा छोरा नेपाली सेना र जेठा छोरा   नेपालको पवित्र संस्था नेपाल प्रहरी सेवामा प्रवेश गरे। छोराहरूलाई  जसरी पनि सरकारी जागीर खानुपर्ने थियो। किनकि बुवाको सरकारी जागिर नहुँदा घर खर्च चलाउन र सरकारी जागिर हुनेहरूको छोराछोरीको दशैं तिहारको  फुर्तीफार्ती प नै अर्कै हुन्थ्यो।  

छोराहरूले ख्यालै गरनेन् बुबाआमालाई एक्लै बनाएको बर्दीधारी जागिरमा   प्रवेश गरेको । अन्य जागिरेको छोराछोरीको फुर्ती र तिनका आमाबुवाले आफ्नो बच्चाको गुणगान गाएका उनीहरूले नजिकबाट नियालिरहेका थिए। उनीहरूको परिवार त्यो सबै टुलुटुलु दर्शक बनेर हेर्न बाध्य थियो।

त्यो परिवारलाई नजिकबाट थाहा पाउने तथा हरकुरामा सहयोग गर्ने  कान्छी दिदी बिमला दाहाल र ठुली दिदी गुणकुमारी काइराला रहिछन्। ठुली दिदी  जसले पहाडदेखि तराई र काठमाडौंसम्म पनि सहज बनाइदिइन् रे । पहिले र अहिलेसम्म पनि यो परिवारलाई त्यहाँ नगई चित्तै बुझ्दैन रहेछ। त्यस्तै पोख्रेली साइँलीलाई हरहमेसा सरसल्लाह सरसापट दिने तिन जना जेठानी दिदीहरू रहेछन् । कविताकी आमा, शारदाकी आमा, राममणिकी आमा, यिनै तीन जनाले पोखरेली साइँलीलाई हरेक दुखसुखमा साथ दिएका थिए रे । आजसम्म पनी पोखरेली साइँली त्यही ठुली भाउजू कविताकी आमा र माइली भाउजू शारदाकी आमाको कुरा गर्रिरहिछिन्।

समय बित्दै गयो । छोराहरू गाउँ छोडेर जागिरको सिलसिलामा पर्देशी भए । अब त्यो परिवारमा आमाबुवामा मात्र एक्लै बुढेसकालको शरीर खेतीपाती वस्तुभाउ गर्न बुढाबुढीलाई धौधौ भयो। दुई छोरामा एउटाले मात्र जागिर नखाका भए हामीसँग एकजना छोरा त हुन्थ्यो । बुबाआमाको सधैं यस्तै कुरा हुन्थ्यो । दुवै फौजीको जागिरमा देश सेवा गर्छु भनी हिँडे उनी सधैं यस्तै चिन्ता गर्दिरहिछिन् । छोराहरू फैजी सेवामा प्रवेश गरेको समय देश सरकार र माओवादी द्वन्द्वमा फसेको थियो। देशका विभिन्न स्थानमा भिडन्त र हतहतका घटना रेडियोमा बज्थ्यो । जुन कुराले आमाको मुटु छियाछिया हुन्थ्यो । यस्ता घटना सुनाउने त्यो बेला रेडियो नेपाल थियो । गाउँकै मान्छे भए पनि बिहान ७ बजेको समाचार सुन्नु उनीको दिनचर्या नै थियो । यो नसुनी उनीको चित्तै बुझ्दैनथ्यो रे।

छोराहरू पनि फैजी सेवामा भएका कारण छोराहरूको चिठी आयो कि भनेर हुलाकीलाई दैनिक सोध्ने गर्दिरहिछिन् । आज जस्तो फोन सुविधा त्यो बेलामा केही थिएन । त्यो बेला छोराले तालिमबाट पठाएको चिठ्ठी । तालिम सकेर पहिलो पोस्टिङमा गएको पहिलो चोटिको तलव लिँदा त्यहाँको व्यवस्था र ठाउँहरूको कुराहरू लेखेर आएका चिठीहरू दुवै छोराका मिलाईमिलाई आफ्नो सिरानीमुनि राख्दी रहिछिन् । त्यही पुरानै चिठी दिनको एकपटक कोही स्कुले केटाकेटी घर फर्किदा बोलाएर पढ्न लगाएर त्यही कुरा सुन्थिन् रे  । दिनमा एकपटक चिठी सुनेपछि उनलाई ऊर्जा प्राप्त हुँदो रहेछ । घरमा कोही आउँदा पनि मेरै छोराको खबर लिएर आएको हो कि लाग्ग्ने गथ्र्यो रे।

समय बित्दै गयो छोराहरू आउन त कता हो कता चिठी पनि पातलो आउन थाल्यो चिठीमा आमा म अहिले टाढा छु । चिठी पठाउने ठाउँ पनि नजिक छैन । तीन महिनामा एकचोटि सदरमुकाममा यहाँबाट कोही आउनेजाने भए चिटी पोस्ट गर्न पठाउँछु । यस्तैयस्तै कुराहरू लेखेको चिठी सुनेपछि २ महिनामा आउने चिठी अब ५ महिनामा आउन थाल्यो । यिनै कुराहरू सम्झेर आमा गहभरि आँसु पारी मनमनै राम्ररी बसेर हाम्रो सबै ठिकै छ । चिठीमा फुलमती गाईले दुध दिन्छ कि थाक्यो ? भुमे गोरुको खुट्टामा घाउ निको भयो कि भएको छैन । पोहोर जस्तो चुवाको बोटमा काँक्रो फलेको छ कि छैन जस्ता कुराहरू सुन्दा आमालाई मन थामी नसक्नु हुँदो रहेछ । आमा पनि यी सबै प्रश्नको उत्तर लेखेर यता हाम्रो सबै ठिक छ आफ्नो ख्याल गर्नु । एकदिन त पक्का भेट हुन्छ। नआतिनु आफ्नो स्वास्थ्यको ख्याल राख्नु । हामी बुबाआमा त एकदम ठिक छौ। हाम्रो बारेमा चिन्ता नलिनु है बाबु भन्दै छोरालाई चिठी पठाउँदिरहिछिन् ।

समय बित्दै गयो । आमाबुबाको पनि छोराहरूसँग तराईमा सजिलै भेट हुन्छ भनि सिरहाको छपराडी झरेछन् । त्यहाँबाट पनि विराटनगर पुगेछन् । जन्मेखेलेको गाउँ २०६० सालपछि कस्तो भयो छोराहरूले देखेको छैन । जुन गाउँले ती छोराहरूलाई बामे सर्न सिकायो । बोल्न लगायो र अगाडि बढ्न सधैं अभिप्रेरित गरिरह्यो। उनीहरू दिनभर काममा हुन्छन्  । तर रातभरि स्मरणमा बारीमा बोडी टिपेको, अम्बाहरू खाएको, आँप झारेको र बाख्रा चराएको । सुनाखरीमा लालीगुराँस उनेर बेहुलाबेहुली खेलेको । काफल र अमलाका दानहरूमा रमाएको सबैसबै झलझली आउँछ  भनेर छोराहरू भन्दछन् ।  ती छोराहरूलाई पाइलैपिच्छेका ढुंगामाटाले चिन्छ । यतिका दिन किन आएन भनेर मनमनै प्रश्न गरिरहेको हुँदा हो । हिजोका छोराहरूलाई त त्यहाँको परिवेशले खोज्छ  भने ती तीन गाउँ चिनिएकी पोखरेली साइँलीलाई कति खोज्दो हो ?

पैवाको बजार जाँदा पोखरेली साइँली बिहीबारे बजार जाँदा पोखरेली साइँली यस्तै रम्भुवाको बजार जाँदा पोखरेली साइँलीकै खोजी हुन्थ्यो । यस्तै परिवेशमा त्यो परिवार विभिन्न बहानामा सुन्दर गाउँले परिवेशलाई छोडी कुम्लोकुटुरो बोकी दुई ठाउँको बसाइँ सराइ गर्दै विराटनगर आइपुगेको छ । बसाइँ हिँड्दा गाउँलेले निःशब्द बिदाइ गरेछन् । निःशब्दमा पोखरेली साइँली त्यो गाउँबाट बसाइँ हिँड्दै गर्दा गाउँलेहरूलाई पनि भन्न नसकी थचक्क बसेका थिए रे । उनले गाउँलेलाई सम्झाउँदै  मैले सबै बेचेको छैन । आघौं आइहाल्छु कमाएर खादै गर्नु, बारी बाँझो नराख्नु । म आएर हिसाब गरौला फेरि भेट गराँैला यतिकै भन्दाभन्दै पटुकेको डाँडो कटेछ । उनी नहुँदा  कति दिनसम्म त त्यो गाउँ सुनसान जस्तै भयो रे। 

शहरले न गाउँले राम्ररी चिन्छन् न कुनै आफ्नो परिचय बनाउन त्यति नै सजिलै हुन्छ । त्यहाँ को आउँछ को जान्छ कसैको पर्वाह नै नभएको ठाउँमा आज आएर घरको दलेन जत्रो ठाउँमा सम्पूर्ण वस्तु अटाउनु पर्दा मन नै कटक्क हुन्छ  भनेर बारम्बार भन्दा हाम्रो मन नकुँडिने त कुरै भएन तर के गर्नु बनावटी हाँसो बाहिर खिस्स हाँस्नै प¥यो। आफ्नो र समाजका लागि यस्तै बसाइँको र यस्तै हाँसोको सेल्फी फेसबुकमा तस्वीर पोस्ट गरी तस्वीर आफै बोल्छ भनी स्ट्याटस राखी अरूहरूलाई पंगु बनाउनु नै प¥यो । के गर्नु यथार्थ मनले जे भने पनि त्यहाँकी पोखरेली साइँली अहिले यर्थाथमा पोखरेली बजैमा परिणत भएकी छन् ।

विराटनगरमा पनि आफ्नो टोलमा पोखरेली बजै खोई कता छिन्, आज टोलको मिटिङ छ भनेर सामूहिक काममा उनलार्ई नै खोज्न थालेका रहेछन् । ओखलढुंगा खानीभञ्ज्याङबाट आएर विराटनगर बसेको र कुइभिर गहतेदेखि सेर्ना, छहरेसम्मका मान्छेहरू विराटनगर आउँदा पोखरेली साइँली कस्ती भइन् र कसरी बसेकी रहिछिन् भनेर प्रायः त्यो घरमा आउँदा रहेछन्। सानो ठाउँको बसाइँमा पनि उनीहरूले पोखरेली साइँलीको मेहनतदेखि प्रशंसा गर्दा रहेछन् । त्यहाँ पनि गाई, खसी, बाख्रा, बोका, कुखुरा र परेवा पहाडमा झैं पालेकी रहिछिन् । वरिपरि खेतीपाती लगाएको देख्दा मेहनती मान्छेलाई जहाँ पनि सजह हुँदो रहेछ भन्ने लाग्यो । हामीलाई त उही भोटेछाप भेटेको जस्तो भयो भन्दै कुरा गर्दा रहेछन।

भोटेछापमा महिनामा एकचोटि गाउँका मान्छेहरूसँग त्यहाँको हालखबर बालीनाली, बाटोघाटो र आफूले कमाउन दिएको जग्गाजमिनको उब्जनी लगायतका कुराहरू टेलिफोनमा सम्वाद गर्दी रहेछिन् । गाउँलेहरूले पनि सबै कुरा सुनाउँदा रहेछन् । अहिले गाउँको बीचबाट मोटरबाटो सार्खानी खोला पुगेको छ। घरमाथि मन्दिर बनेको छ । यो बाटो र मन्दिर हुनमा तपाईको छोराको ठूलो पहल छ भनेर भन्दा रहेछन । आमाले पनि हो नि हाम्रो जग्गाजमिन त्यहीँ छ । हामी त्यही बसेका त्यही जन्मिएको हुर्किएका हुन तिनीहरू भन्दै ढाडस दिनुहुँदोरहेछ  ।  त्यही माटोका सन्तानहरू हुन् त्यो ठाउलाई नबिर्सिनु भनेर मैले बारम्बार भन्ने गरेको छु । तिनीहरूलाई सम्झाउने र सघाउने तपाई गाउँलेहरूको पूर्ण हक छ। तिनका अभिभावक म र हाम्रो घर मात्र हैन तपाईहरू पनि हो भनेर गाउँलेसँग कुरा गर्ने गर्छिन् ।

आज ती आमाका छोराहरू बर्दीधारी छन् । छोराको फोटो देखाउँदै यी मेरा छोरा राष्ट्रसेवक भएर अहोरात्र खटिरहेका छन् भनी उत्तर दिने गरेकी छिन् रे। यी छोराहरूमा मेचीको  पुल, सुस्ताको फाँट, कालापानीको पाखामा पसिना बगाई पाइला टेकेका छन्। जनताका लागि दैनिक पैदल गस्ती गर्छन् । सगरमाथाको हिउँमा उद्धार गर्छन्, बाढी, पहिरो महामारी, भूकम्प जस्ता कार्यमा अग्रपंक्तिमा काम गर्छन्। आफ्नो पौरखमा थोरै कमाइ भए पनि स्वावलम्बी छन् । निर्धक्क भई गौरवकासाथ देश सेवामा अनवरत खटिएका छन् भनेर आउनेजानेलाई सुनाउँदा यी आमाका मात्र होइनन् देशका नै छोरा रहेछन् । पोखरेली साइँलीलाई  आउनेजानेले यसरी सुनाउँदा मेरी ती आमाको चाउरिएको अनुहारबाट फिस्स हाँसो फुत्किएको पत्तै हुँदो रहेनछ।

छोराहरूको पनि फौजी जीवन सधै व्यस्तताको बावजुत कहिलेकाहीँ वर्षमा एकचोटि घर जाँदा आमाले यी कुरा गरेको र आउनेजाने मान्छेहरूले यसो भने भन्दा हामी सबैको छाती नै चौडा भएर आउँछ।

यी आमाले देश सेवा गर्न सिकाएको कुरा कसैले कहिल्यै भुल्ने छैन। यस्ती निडर, कर्मठ, लगनशील र मेहनती पोखरेली साइँली आमालाई हामी सबै र सम्पूर्ण गाउँलेबाट हार्दिक नमन !

प्रकाशित: २८ वैशाख २०७८ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App