प्रेम राई परीक्षित
आमा...!
तिमीले बारीमा
कपास रोप्यौ
बुवाले तिम्रै सिको गरेर
घरमाथि डिलमा
चिलाउनेको रुख रोपे
आमा....!
तिमीले कपास फुलायौ
चर्खामा घुमाईघुमाई धागो कात्यौ
परालमा बुट्टा कुँदेर
सुकुल र गुन्द्री सिकुवामा सजायौ
बुवाले तिम्रै सिको गरेर त
चिलाउनेको काठ खोपेर
कत्ति सुन्दर तान बनाए
अचम्मको धागो कात्ने चर्खा बनाए
परिणाम
जन्मियो एक थान खाँडीको कपडा
र छोपियो परिवारको नांगो शरीर
काटियो निर्दयी माघहरू
छोपियो भुई पराले यति कार्पेटहरूले
अग्लिए स्वाभिमान अनि आत्मनिर्भरता
आमा...!
साउँ अक्षर नचिनेका तिम्रा हातहरूले
कसरी भेटाए यी उद्यमशीलता
बुबा!
स्कुल नदेखेका तिम्रा आँखाहरूले
कसरी देखे हलो, जुवा र दाँदी
लुगा बुन्ने तानहरू
कसरी थप्यौ यति धेरै
इन्जिनियरिङका नयाँ आयामहरू?
आमा...!
तिमी नपढेर पनि
भियाई नभियाई थियौ
र म पढेर पनि फुर्सदिलो छु आज
अझ भनौ बेरोजगार छु
बुबा
तिमीले स्कुल नदेखेर पनि त
हातमा सीप फुलाएका थियौ
म स्कुल पढेर पनि
लौरो न हतियार भएको छु आज
आमा ...!
तिमीले नपढेर पनि संसार बुझेकी थियौ
म पढेर पनि
मेरो आफ्नै करेसाबारी बुझेको छैन
बुबा ...!
तिमीले स्कुल नदेखेर पनि संसार पढाएका थियौ
मैले विश्वविद्यालय देखेर पनि
मेरो निरक्षरजस्तै भएको छु आज
त्यसैले,
आमा....!
तिमी जीवनको परीक्षामा
उत्तीर्ण भयौ
बुबा ....!
तिमी पनि जीवनको परीक्षामा
विशिष्ट श्रेणीमा उत्तीर्ण भयौ
र अपसोस
म अहिलसम्म जीवनको
पूरक परीक्षा दिइरहेको छु...!
प्रकाशित: २७ वैशाख २०७८ १२:१६ सोमबार