२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

मृत्युपछि

लघुकथा

 लता केसी

              १) उजागर

‘असल महिला छात्रावास’ साँच्चि नै नाम अनुसारकै थियो । कसैको केही गुनासो थिएन । जम्मा २५ जना छात्राहरू थिए । संस्थापक आफैँ पनि महिला थिइन् र  आफैँले चलाएकी थिइन्।  आशा विपरीत केटीहरूको  परीक्षाफल बिग्रिन थालेपछि  उनले निगरानी बढाइन् । अचम्म लाग्यो , नियमित विपरीत प्रत्येक दिन एउटा अलगअलग रूममा राति अबेरसम्म बत्ती बलेको देखिन् । प्रत्येक दिन बत्ती बलेको कोठाको केटीलाई बोलाएर अन्तर्वार्ता लिन थालिन् । पच्चीसौँ दिनमा सबैलाई एउटा हलमा भेला गरिन् । सबैलाई एउटै प्रश्न सोधिन्– ‘तिम्रो निकटतम् केटा साथीको नाम के हो?’

सबैले क्रमशः  उत्तर दिए । नाम एउटै थियो , विनाश।

सबै केटीहरू खुसुरफुसुर , नोकझोँक गर्न थाले । सबै चकित भए । अति शान्त भएर सबैलाई सम्झाउँदै उनले भनिन्, ‘एउटै केटाले  पालैपालो  तिमीहरू सबैलाई उल्लू बनाइरहेको कुरा थाहा भयो नि।  सावधान।

केटीहरू निशब्द भए। उनले फेरि आफ्नो जीवनको रहस्य उजागार गर्दै भनिन्, ‘केही समय पहिला मैले यही केटाबाट धोका पाएपछि यो छात्रावास खोलेँ । आफूलाई आत्मनिर्भर र सक्षम बनाउन सकेँ । अब तिमीहरूको भविष्य तिमीहरूकै हातमा छ , बनाउने कि बिगार्ने !  

          २) मृत्युुपछि

‘ए आमा, यो बारीको मकै कत्ति खानु ! भुटेर , पोलेर , उसिनेर , जे गरे नि मकै मात्र ! राहत बाँडदैनन् , गाउँमा ! भात खान मन लाग्यो क्या । म बुझेर आऊँ है।

उनी आत्तिएर कराइन्– ‘परेन बाबू , न जा,  राहत आए नि हामी दुखीगरिबलाई कसले पत्याउँछ  र ! कोरोनाको बिगबिगी छ । तँ घरै बस् । म केही मेलो मेसो गरम्ला नि । आमाको माया पोखियो।  

बारी पसिन्  । पचास वटा जति मकैका हरिया घोगा भाँचिन् । नुन , तेल , चामल हिसाब गरिन्  । डोकामा हालेर २ घन्टाको बाटो तय गरेर बजार पुगिन् । सुनसान थियो । मानिसहरू सबै बन्दाबन्दीमा लुकेर बसेका थिए । मकै आयो , मकै आयो , हरिया मकै , १० रुपियाँ घोगा भन्दै  घरघरै कराउँदै हिँडिन्  तर कसैले सुनेनन्  । बरु उल्टै झपारे पो– ‘घरघर डुलेर कोरोना सार्न हिँडेकी बुढी।

निरास भइन् । कान्छा  छोरा र भात सम्झिइन् ।  दिक्क भएर छेउको नदीमा  गइन्  ।  पेटभरि पानी पिइन् । नदीलाई नमस्कार गरिन् र भनिन्– हे जलदेव, यो डोको फिर्ता लान  भारीले सक्दिँन । बरु गाईवस्तु , दुखीगरिबले खाऊन्’ भनेर डोको खन्याइन्।  हिँड्न खोज्दा रिंगटा लागेजस्तो भयो । लडिन् । बौरिँदा झमक्क भयो । डोकोको वरिपरि माग्नेलाई झैं पैसा फालिएको थियो।

आश्चर्य मान्दै मनमनै गुनिन् –कुनै धर्मात्मा टोलीको काम होला । बुढी मरिछे भनेर फ्यालेका होलान् ।  मरेपछि माया  र सम्मान पोख्ने जात,  मान्छे न हो !

       ३) प्रश्न  

मीना आफ्नी सानी बैनीलाई खुबै माया गर्थी।  आमा घरकै काममा मात्र व्यस्त हुने हुँदा ऊ बहिनी हेरेर बस्थी । पढ्न, स्कुल जान खासै रुचि गर्दिनथी । सधैं आमालाई सोध्ने गर्थी , ‘हाम्री बैनी किन यस्ती सुकुटी, दुब्ली भाकी आमा !’

आमा भने उसलाई  सधैँ कुराले अलमलाउँथिन् । नानी तैले धेरै पढ्नुपर्छ । बैनीलाई माया मात्र गरेर यसरी घरमै बसिस् भने तेरो भविष्य बिग्रिन्छ नि भनेर सम्झाउँथिन् । आफूले पढन नपाएर घरमा हेपिएकी ऊ छोरीलाई पढाउन चाहन्थिन्। तर, छोरी मान्दिनथी । उसको यो बानीले उनलाई कसरी पढ्न पठाउनु भनेर चिन्ता भयो। उनले छोरीलाई भनिन् , ‘नानी, भोलिपर्सि म  बुढी हुन्छु  अनि पैसा कमाउन सक्दिँन । तैले पढिनस् भने तँ र तेरी बैनीलाई कसले खान दिन्छ ?’

बैनीको नामले ऊ नियमित स्कुल जान थाली । एकदिन स्कुलमा वातावरण मिसले विद्यार्थीहरू बगैँचामा  डुलाउन लग्नुभयो। ठूलाठूला बडेमाका रूखहरू अनि साना किक्रिक्क परेका रूखहरू उसले  देखी । मिसलाई सोधी, ‘यो रूख किन ठूलो भएको अनि योचाहिँ किन सानो र कमजोर भएको मिस ?’

‘यसले राम्रो खुराक र स्याहार पायो अनि यो ठूलो भयो अनि यसले पाएन अनि सानो र दुब्लो भयो’,  मिसले सम्झाएर भन्नुभयो ।

उसले घरकी बैनी सम्झी । सोची, ‘आमाले गरिबीले बैनीलाई खान नदिएकी हुन् त ?  फेरि प्रश्न गरी, ‘बैनीलाई बलियो बनाउन पहिला पढेर म बलियो हुनुपर्छ है मिस !’

          ४) पालो  

 सानैदेखि नृत्य कलामा पोख्त थिई , रीता  । गाउँटोलमा उसको कलाको निकै सम्मान हुन्थ्यो । समाजमा ठूलै प्रभाव जमेको थियो। प्रतियोगितामा जितेका सम्मान र पुरस्कारहरू प्रशस्त थिए ।  उसको नृत्य भनेपछि दर्शकको ओइरो लाग्थ्यो।

एकपटक ठूलै कार्यक्रमको आयोजना हुने भयो। राष्ट्रिय स्तरको प्रसिद्ध संस्थाले प्रायोजन गर्ने भयो। पुरस्कारको नगद राशि पनि आकर्षक थियो। कार्यक्रमलाई सफल बनाउन ऊ आफै पनि  दिलोज्यानले लागि परी।  कार्यक्रम सञ्चालनको  जिम्मा  पारखी कलाकारहरूले लिए । निश्चित समय आयो।  झकिझकाउ मञ्चमा १५ जनाको सहभागिता रहने भयो। औपचारिक रूपमा कार्यक्रम सुरु भयो । क्रमशः एकपछि अर्को कलाकार आफ्नो प्रस्तुति दिन थाले । दर्शकहरू रीतारीता भनेर कराउन थाले । ऊ प्रथम नै हुनेमा विश्वस्त थिई। तर, अचम्म भयो , उद्घोषकले उसलाई ननिम्त्याई नै अन्तिम प्रस्तुति भनेर अर्कै कलाकारलाई बोलाए । उसको नृत्य हेर्न  लालयित दर्शक होहल्ला गर्न थाले। हम्मेहम्मेको अवस्थामा कार्यक्रम सकियो । पछि हेर्दा त प्रतियोगीहरूको सूचीमा उसको नाम नै थिएन । सम्बन्धित पक्षहरू  कारण खोतल्न व्यस्त भए । नाम समावेश गर्दा  लापरवाही भयो भन्दै गर्दा  उसको मानसपटलमा भने अतीतको  एकपछि अर्को  चित्र घुम्दै  थियो, एकजना  कार्यक्रम सञ्चालकलाई उसले पटक पटक बेवास्ता गरेका घटनाहरू !

        ५) कोरोना प्रभाव

गाउँभरिका मानिस भकाभक ढल्न थाले । सबै के भयो  भनेर आत्तिन थाले । बुज्रुकहरूले भने , ‘देवीदेउताको नजर लाग्यो।’

गाउँलेहरू  सबै स्वस्तिशान्ति , पूजाआजामा जुटन थाले । उसैबेला माइकिङ गर्दै एउटा सरकारी गाडी आयो । फुक्दै थियो , ‘कोरोनाको दोस्रो लहर यस गाउँमा भित्रिएको समाचार आएको छ । यसको चमेटामा सिंगै गाउँ आक्रान्त बन्न सक्छ। प्यारा गाउँबासीहरू सबैले सरकारी मापदण्डको पालना गरौँ , सुरक्षित बसौँ ।’

बिचरा निमुखा सोझा गाउँलेहरू गाडी भएतिर दगुर्न थाले । स्थानीय पुलिसहरू पनि आए। जनता सबैलाई नियन्त्रणमा लिए ।  माक्स  र सेनेटाइजर पनि बाँडे। सुरक्षित बस्ने उपायहरू सिकाए । गाउँलेहरू मरिने पो हो कि भनेर घरभित्रै बस्न थाले।

एकदिन फेरि सरकारी निगरानी गाउँमा पस्यो। पुलिस भ्यान डुलिरहेको थियो। गाउँले जनताहरू मर्यादा पालनामा बसेका थिए । भ्यान दगुर्दै अघि बढ्यो । एउटा घरमा निकै ठूलो होहल्ला सुनियो । मानिसहरू टन्नै जम्मा भएका थिए। कोही कोरोनाले मर्यो कि भन्ने शंका भयो । गाडी उतैतिर लाग्यो । बुझ्न भनेर दुईजना पुलिस घरभित्र छिरे। केहीबेरपछि फर्केर आए । उनीहरूले भने, ‘ल जाऔंजाऔं , केही होइन , नेताको छोरोको जन्मदिन मनाएको रे !’

प्रकाशित: २४ वैशाख २०७८ ०५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App