दामोदर न्यौपाने
हामी श्रम गर्छौं । गर्व लाग्छ ‘श्रम गर्छौं’ भन्दा । श्रम र मान्छेको जीवन एक अर्कामा जोडिएको छ । प्रत्येक व्यक्तिले श्रम गर्नुपर्छ । जसले श्रम गर्छ, उसकै जीवन सुखी हुने हो । जहाँ श्रमको पूजा हुन्छ, त्यही समाज समृद्ध छ, त्यही देश समृद्ध छ, त्यहाँका व्यक्ति पनि समृद्ध छन् । जहाँ श्रम छ, त्यहाँ उत्पादन छ; जहाँ श्रम छैन, त्यहाँ उत्पादन छैन । उत्पादनबिनाको जीवन कस्तो होला ? अनुत्पादक ! नीरस ! त्यही भएर श्रम गर्नुपर्छ । श्रम गर्न बालबालिकालाई पनि सिकाउनुपर्छ । बालबालिकाले पनि श्रम बुझ्नुपर्छ । तर, मानसिक र शारीरिक विकासमा बाधा नपुग्ने गरी श्रममा लगाइदिनुपर्छ। श्रमलाई सामाजिकीकरणको अङ्ग मात्र बनाइदिनुपर्छ । यसको अर्थ निकृष्ट प्रकारको बालश्रम होइन, जोखिमपूर्ण श्रममा पठाउनु हुँदैन।
श्रम जीवनको आधार हो । श्रमबाटै हुने हो सिर्जना । श्रमबाट सिर्जना हुन्छ तर त्यही श्रमको शोषण भयो भने सिर्जनाको बाटो अवरूद्ध हुन्छ । बालबालिकामाथि श्रम शोषण भयो भने मानव जीवनका वर्तमान र भविष्य दुवै अन्धकारमा पर्छन्।
बालबालिका घरपरिवारको स्नेहमा हुर्कनुपर्छ । खेलकुदमा रमाउन पाउनुपर्छ। साहुको कर्कशमा काम गर्न जाँदा घरपरिवारको मायाममताबाट वञ्चित हुन्छन् । पौष्टिक खानेकुराको अभावमा कुपोषित हुन्छन्, शारीरिक र मानसिक रूपमा कमजोर हुन्छन् । शिक्षा पाउने मौलिक हकबाट वञ्चित हुन्छन् । साथीसँग खेल्न पाउँदैनन्, मनोरञ्जन लिन पाउँदैनन्। रमाइलो गर्ने वातावरणबाट वञ्चित हुन्छन् ।
उमेर र क्षमताभन्दा बढी काम लाउनु नै बालबालिकामाथिको शोषण हो । हक, अधिकारमाथिको हस्तक्षेप हो । यस्तो हस्तक्षेपले शारीरिक तथा मानसिक विकासमा अवरोध खडा हुन्छ । बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा अवरोध हुनु भनेको गरिबी, बेरोजगारी, निरक्षताको मात्रा बढाउँदै लैजानु हो । सामाजिक शोषण र विभेदलाई बढाइरहनु हो। बालबालिकालाई श्रमको दुष्चक्रमा फसाइरहनु हो।
दबाब र शोषणमा काम गर्नुपर्दा सिर्जनशीलतामा असर पर्छ । प्रतिभा प्रस्फुटन हुन पाउँदैन। सम्भावनामा नकारात्मक असर पर्छ । यसको असर व्यक्तिलाई मात्र होइन, सिङ्गो समाजलाई पर्छ, देशलाई पर्छ । बालश्रमको पीडा बोकेर हुर्किएको नागरिक कुण्ठाग्रस्त हुन्छ, ऊ बाँचेको समाज पनि कुण्ठित हुन्छ । विकासको गति अवरूद्ध हुन्छ । समाज अघि बढाउने, सिर्जनशील, प्रतिभाशाली र चेतनशील नागरिकले हो । यस्तो नागरिक उत्पादन गर्न बालश्रमले अवरोध पुयारउँछ।
बालश्रम असामाजिक, अमानवीय, विकास विरोधी वा अविकासको कारक ठहर गरेरै संयुक्त राष्ट्र सङ्घ लगायतले बालशोषण अन्त्य गर्न पहल गर्दै आएका हुन् । यसलाई हटाउन देश र विदेशमा सशक्त अभियान सञ्चालन भइरहेका छन् । अन्तर्राष्ट्रिय कानुन बनेका छन् । निकृष्ट प्रकारका बालश्रम उन्मूलनका लागि विशेष कार्यक्रमसहित पहल भइरहेका छन् । यी विविध पहलले बालश्रम घटाउन सहयोग पुगेका छन् तर निमिट्यान्न पार्न सकिएको छैन । राष्ट्रिय नीति र कार्ययोजनाले लक्षित गरेका लक्ष्य हासिल गर्न सकिएका छैनन् । प्रतिबद्धता र कार्यान्वयनबिचको तालमेल नमिल्नु नै मुख्य कारण हो।
नेपाल जस्तो अविकसित देशमा फरकफरक स्वरूपमा बालश्रम अस्तित्वमा आएका छन् । गलैंचा उद्योगमा चर्को बालश्रम थियो, केही वर्षयता यसमा कमी आयो । केही समय जरी भर्ने काममा संलग्न थिए बालबालिका, त्यसमा पनि कमी आयो।
तर, गलैंचामा घट्यो, घरमा बढ्यो । घरबाट निकाल्यो कारखानामा जान्छ । कारखानाबाट हटायो, होटेलमा जान्छ । होटेलबाट हटायो यातायातमा जान्छ । यातायातबाट हटायो सडकमा जान्छ । यस्तो कुचक्रमा फसकेको बालश्रमलाई मैले आधुनिक ‘दास प्रथाको नयाँ रूप’ नाम दिएँ । खै कहिले अन्त्य होला बालदासता तर नगरी सुखै छैन । अहिले बालअधिकार सुनिश्चित भएका विकसित देशमा पनि कोही बेला यस्तै बालश्रम थियो । त्यहाँ कानुन बने, प्रभावकारी कार्यान्वयन भए । अनि बालश्रम निर्मूल भयो । हामीले पनि बालदासता मुक्त समाजको सपना देख्नै पर्छ।
बालदासता अन्त्य गर्न सिद्धान्त प्रतिपादन भएकै छन् । तिनलाई व्यवहारमा लागु गर्न नसकेको त हो नि हामीले । कानुन कार्यान्वयन गर्न नसकेको हो । कुनै पनि विषयवस्तुलाई स्थापित गर्ने आधार नै सिद्धान्त हो । सिद्धान्त प्रतिपादन गर्ने नियमले हो, कानुनले हो । सिद्धान्तकै आधारमा काम गर्ने हो सबैले । मान्छेबिच विभेदको अन्त्य हुनै पर्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनले यही सिद्धान्त प्रतिपादन गरेका छन् विभेद अन्त्य गर्न । बिनाभेदभाव बाँच्न पाउने अधिकार कसैले पनि कुनै कारण देखाएर कुण्ठित गर्न पाउँदैन । अधिकार खोस्ने त कुरै छैन, बरू अवस्था हेरेर विशेष अधिकार दिनुपर्छ । विशेष अधिकार दिएरै भए पनि विभेदको चर्को रूप अर्थात् दासताको अन्त्य हुनै पर्छ।
दासता उन्मूलन गर्ने यही सिद्धान्तलाई आधार बनाएर परिणाममुखी काममा जुट्न केले रोक्यो होला हामीलाई ? जबाफ सजिलो छ— इच्छाशक्तिले । चाहे कानुन मान्ने इच्छाशक्ति होस्, चाहे कार्यान्वयन गर्ने इच्छाशक्ति।
इच्छाशक्ति किन भएन ? यसको पनि जवाफ सहज छ— लोभ, पाप, मानवीय मूल्यमा ह्रास । मानवीय मूल्य कसरी सिक्ने ? यसको आधार शिक्षा हो । हाम्रो शिक्षाले अब मानवता सिकाउनुपर्छ। मानवीय व्यवहार गर्न सिकाउनुपर्छ।
(लेखक तथा पत्रकार न्यौपानेको यही साता बजारमा आएको पुस्तक ‘दास प्रथाको नयाँ रूप’को अंश)
प्रकाशित: २३ वैशाख २०७८ ०१:२८ बिहीबार