रामकुमार पण्डित क्षेत्री
१) तालको उद्गमस्थल
पहाडको छातीमा एउटा ताल थियो । त्यस तालले फुर्ति गरेर भन्यो —मेरो एकएक बूँद पानी चीनबाट आएको हो । चीनको पानीको स्वाद र मेरो तालको पानीको स्वाद एकदम मिल्दोजुल्दो छ । कसैले पनि मलाई नभन कि म तराईबाट आएको हो । पानी पनि कहीँ तलबाट माथि आउँछ ? माथिबाट पो तल जान्छ।
यस्तो सिङ न पुच्छरको कुरा कसले काट्ने ? कसैले चासो दिएनन् । यसो दुईचार अक्षर पढी टोपलेकाहरू तर्क गर्दथे —होइन होला, तेरो तालको पानीको स्वाद अमेरिकाको एउटा तालसँग मिल्छ । त्यहीँबाट तँ आइहोलास्।
फेरि अर्कोले थप्थ्यो – होइन होला हौ, तिमीहरू उस्तैउस्ता पानीलाई आकाशबाट पो एकैपल्ट झारयो कि ? चीन, ताइपेइ, तराई आदिमा एकैचोटि पानी परयो कि ?
यी तर्कहरूमा आक्रोश पोख्दै त्यो तालले भन्थ्यो —होइन हो, तिमीहरू कति कुरा बनाउन सक्छौ ? हाम्रो मूल चीनबाटै आएको हो । र हामी तिमेरू भन्दा पहिलो आदिवासी हौं।
तर अचानक आश्चर्य भयो । संसारमा प्राकृतिक उलटपलटका घटनाहरू हुन थाले । सगरमाथा सागरमा डुब्न थाल्यो अनि सागरमा सगरमाथा उस्कन थाल्यो । चीनको पानीभन्दा त्यो तालको पानी स्वादिलो भयो । त्यसलाई आफू चीनबाट आएको भन्नै लाज लाग्न थाल्यो । त्यसैले आजकाल ऊ यस्तो कुरा झिक्दैन । कसैले झिकिहाले भने पनि सानो स्वरमा साउती गरेर भन्दछ —संसारमा पहाडको उचाइलाई कसैले जित्न सक्छ ? अग्लो ठाउँबाट होचो ठाउँमा पानी जाने हो । हाम्रो यहाँको पानी चीनमा जाला तर चीनबाट यहाँ आउँदैन । बस् अबदेखि यसमा बहस नगरौं होला ।
२) प्राज्ञ बन्ने योग्यता
“ए हजुर ! फलानो चोर कवि कुलपति भयो नि ! अनि नामै नसुनेको मान्छे उपकुलपति भयो । हजुर, यतिका चार दर्जन कृतिका स्रष्टाको चाहिँ खोई नामोनिसान छैन ।”
मदनको कुरालाई साहित्यकार महोदयले सुनेको नसुनै गरे । मदनले फेरि बोल्यो — “कुलपति हुनलाई राजनीतिक दलको सदस्य हुनुपर्ने रहेछ । हजुरले पनि कुनै ठूलो दललाई समाउनुपर्यो । मान्छेहरू यसकै लागि दौडादौड गर्छन् हजुर !”
साहित्यकार महोदय फेरि पनि मौन रहे । उनी तटस्थ व्यक्ति हुन् भन्ने मदनलाई थाहा थियो । त्यसैले फेरि भन्यो —“कुलपति नभए पनि प्राज्ञसम्म भए पनि राम्रो हुन्छ नि हजुर । गयो, मिटिङ गरे जस्तो गरयो अनि आफ्नै कृति लेख्यो, छपायो, भत्ता पचायो । काइदा हुन्छ हजुर । राजनीतिक दलको सदस्यता नलिए पनि मोटो रकम घुस खुवायो भने त हुन्छ नि हजुर । म कुरा अगाडि बढाइदिऊँ ?अर्को पटकको मनोनयनमा पारिदिऊँ ?”
अब त साहित्यकार महोदयले मुख नखोली सुखै पाएनन् । ऋषिको जस्तो मृदुवाणीमा भने —“शान्त मदन बाबु ! तपाईँ मेरो अत्यन्त शुभ चिन्तक हुनुहुन्छ । त्यसैले तपाईँले मेरो भलो चिताउनु हुन्छ । हेर्नोस् न, सबै त होइनन् तर धेरैजसोलाई अचेल त्यस्ता दौडमा सामेल हुन फुर्सतै फुर्सत हुन्छ । तीनले फुर्सदको सदुपयोग गरेका हुन्। जो खहरे खोलाझैं क्षणिक उर्लन्छन्। मलाई त्यसो गर्न फुर्सत छैन । अनि त्यसो गर्न शोभा पनि दिँदैन । आफ्नै वेगमा बगेकी कर्णाली नदीलाई खहरेझैं उर्लने रहर हुँदैन।”
साहित्यकार महोदयको जवाफ सुनेर मदनले भन्यो – “हो हजुर ! मैले पनि प्राज्ञ बनिहाल्नुपर्छ भनेर कहाँ भनेको छु र ? यसो हजुरसँग टाइम पास गर्ने कुरा पो गरेको ।”
मनमनै भने भन्दै थियो —आफ्नो मान्छे ठाउँमा भएदेखि फाइदा लिउँला भनेर भनेको; के गर्नु पटक्कै मान्दैनन् ।
३) बाल मजदुर
हातले बुनेको नेपाली ऊनी गलैँचामा बालश्रम प्रयोग भएको छ भनेर नेपथ्यबाट पश्चिमेली मुलुकहरूमा प्रचार गरियो।
–ओहो ! कलिलो हातको श्रमबाट बुनिएका गलैचा हामी स्वीकार्दैनौँ । हामीलाई ती कलिला हातहरूको माया लाग्दछ । स्कूल जाने उमेरका ती नानीहरूको श्रम हामी किन्दैनौं।
पश्चिमेली क्रेताहरूले यस्ता आवाज बुलन्द पारे । स्वदेशमा पनि यस आवाजको पक्षमा जनमत फैलियो । एनजिओ, आइएनजिओ तथा नागरिक समाजका अगुवाका मिडियामा बलियो पकड थियो । सबैले पत्रपत्रिका, रेडियो, टिभीहरूमा बालश्रमको विरुद्घमा नारा घन्काए । त्यसपछि नेपाली गलैँचाको निकासीमा पचास प्रतिशतले गिरावट आयो।
अर्को वर्ष फेरि केही प्रतिशत घट्यो । यसरी गलैंचाको निकासी घट्दै जान थालेपछि व्यवसायीहरू चिन्तित हुन थाले । केही मनकारी व्यवसायीले त्यस्ता बालबालिकालाई विद्यालयमा पढ्ने व्यवस्था मिलाउन थाले । केही कञ्जुस मालिकहरूचाहिँ पैसा कमाउने मुहान सुक्न आँटेको देखेर चिन्तित हुन थाले।
सरकारले चौध वर्षमुनिका बालबालिकालाई काममा लाउन नपाउने नियमको कार्यान्वयन गर्ने प्रतिबद्धता जनायो । सरकारको विश्वास नलागेर पश्चिमेली क्रेताहरूको समूहले आफ्नै सुपरिवेक्षणमा रहने गरी एउटा एनजिओलाई “वाचडग” बनायो । त्यसपछि त्यो वाचडगले क्रमिक रूपमा कारखानामै गएर निरीक्षण गर्न थाल्यो।
व्यवसायीहरूलाई होसियार हुन कर लाग्यो । ज्यादा होसियार हुनेहरूले त आफ्नो कारखानाबाट बालमजदुर निकाल्न थाले । यसरी निस्कासनमा पर्ने बाल श्रमिकमा तेह्र वर्षीय यौटा बेवारिसे बालक पनि थियो । निकालेपछि विचरा कहाँ जावस् ? ऊ मालिकको बडेमानको फलामे कालो गेट बाहिर रुँदै बस्यो । अब उसलाई भित्र पस्ने अधिकार थिएन । ऊ त्यो ढोका फोडेर भित्र पस्न सक्थेन । त्यसैले चिच्याएर रुँदै भन्न थाल्यो —मेरो बा, मेरी आमा ! मलाई जन्माएर तिमीहरू कहाँ गयौ ? म त खातेजस्तो मागेरभन्दा काम गरेर आफ्नो पेट भर्न चाहन्थेँ । अब मलाई काम गर्न नदिने रे । अब म कसरी बाँचु ? हुँ .. हुँ ...हुँ ... !
विचरा, यतिबेला त्यहाँ उसको आवाज सुनिदिने न सरकार थियो, न पत्रकार थियो, न नागरिक समाज थियो, न मानव अधिकारकर्मी थियो, न एनजिओ, आइएनजिओ तथा पश्चिमेली क्रेताको समूह नै।
४) देशको खोजी
रमेशमान गुरुङ फुर्सतको समय सदुपयोग गरौं भनी देशको खोजीमा निस्किए । उनले राजधानीमा विदेशी सहयोगमा निर्मित छ लेनको चिल्लो सडक देखे।
राजनेताहरूले त्यो सडकमा समानुपतिक रूपमा चालकहरू राख्ने प्रयत्न गरिरहेका थिए । मोटर देखेर तर्सने मान्छेहरूलाई पनि जबर्जस्ती चालक बन्न प्रेरित गरिरहेका थिए । त्यस्ता कमजोर चालकले हाँकेको गाडी चढ्ने यात्रुहरू दुर्घटनामा परिएला भनी भित्रभित्र भयभित थिए । बच्चैदेखि गाडी सिकेर हाँक्दै आएका चालकहरूको दाँजोमा तिनीहरू निरीह देखिन्थे।
उनलाई यो कुराको चित्त बुझेन । उनी जसको जेमा दक्षता छ, त्यही कामलाई व्यवसायीकरण गरिएमा सबैको भलो हुन्छ भन्ने सोच्दथे । त्यसैले उनले आफ्नो खाली समय त्यस्ता मान्छेको सीप विकासमा दिन थाले।
काठको आकर्षक सामग्री बनाउनेहरूलाई राम्रो बजारको खोजी गरी उनीहरूको आयआर्जनमा सघाए । तिनलाई शिक्षाको राम्रो प्रबन्ध गरी ज्ञानी बनाउन थाले । त्यस्तै सानो व्यवसायमा रुचि हुनेलाई सोही अनुरूपको काममा लगाउन थाले।
बिस्तारै उनको कामको चर्चा हुन थाल्यो । राष्ट्रिय अनर््र्राष्ट्रिय पत्रिकामा उनको खबर छापियो । उनको योग्यता देखेर विदेशी ठूलो संस्थाले राम्रो जागिरको प्रस्ताव गरयो । आफ्नो व्यक्तित्व विकासको लागि राम्रो मौका आएको ठाने उनले । देशको खोजीलाई त्यतिकै छोडेर उनी त्यस संस्थामा आबद्घ भए।
उनले गर्दै गरेको त्यो काम छोडेपछि ती कमजोर मान्छेहरू सडकपेटीको सडकपेटीमै आइपुगे।
५) अनुगमन मरेको समय
लक्ष्मीपूजाको दिनमा तिहारको झिलिमिलीले बजार झपक्कै छोपेको थियो । बेलुकाको पूजाका लागि, हरि किनमेल गर्न गयो । अनायस बढेको बजार भाउले उसकोे दिमागको पारो तात्यो । भाइमसला र मिठाइको भाउमा त उसले सहन सक्यो । तर, फलफूलको भाउमा अचाक्ली बढेको पायो । दशैँको टिकाको बेलामा एक सय रुपियाँमा एक दर्जन केरा किनेको थियो, उसले । त्यही केरा दशैँ सकिएपछि पचास रुपियाँमा आएको थियो । तर, तिहारको त्यो दिनमा दर्जनको एक सय पच्चीस थियो।
तराई मूलका पन्ध्र–बीसजना व्यापारीहरूले साइकलको टोकरीमा केरा, स्याउ, सुन्तलाजस्ता फलफूलहरू राखेका थिए। प्रत्येक साइकल टोकरी बीस–पच्चीस हातको फरकमा, सडकको किनारामा बसेको थियो । सस्तो भाउमा किन्नका लागि हरिले तीन–चार जना व्यापारीसँग सोध्यो । तर, भाउमा फरक थिएन । पैसा थोरै भएकाले उसले आधा दर्जन मात्रै किन्यो।
पर्सिपल्ट अर्थात् भाइटीकाको बिहानै, आफ्नी जहानलाई माइतीमा कोसेली लग्नलाई ऊ केरा किन्न गयो । त्यसदिन झन मूल्य बढेर दर्जनको एकसय पचहत्तर पुगेको थियो । तीन दर्जन किन्ने विचार गरेको उसले दुई दर्जनमात्रै किन्न सक्यो।
केराको भाउ बढेको बढ्यै देखेर उसले ऋण लिएर केरा खेती गर्ने विचार गरयो । वार्षिक रु एकलाखमा एक विगा जग्गा भाडामा लियो । बीस–पच्चीस हजारमा केराको उन्नत जातको बिउ किन्यो । किरा मार्नलाई हजारौँको औषधि किनेर छर्कियो । एक–डेढ वर्षको उच्च परिश्रमपछि बोटभरि केरा लटरम्म फलायो।
अब ती सबै केरा ऊ एक्लैले बेच्न सम्भव थिएन । ऊ थोक बिक्रेताको खोजीमा गयो । धेरै ठाउँ चाहारेपछि बल्ल थोक बिक्रेता भेट्टायो । थोक बिक्रेताले केरा भण्डारणमा धेरै खर्च हुने बतायो । केरा पकाउने केमिकलको मात्रामा गडबड भयो भने मान्छेको स्वास्थ्यमै गडबड हुन्छ भन्यो । अनेक थरीका कुरा गरेपछि दस रुपियाँ दर्जन मूल्य लगायो । केरा राखौ त बोटमै कुहिने डर, बेचौ त घाँसको मोल । अन्त्यमा दर्जनको रु बीसमा किनाउन थोक बिक्रेतालाई सहमत गरायो।
यसरी अनुगमन मरेको बेलामा, आफूले किन्दा सुनजस्तै चर्को मूल्य परेको थियो केरालाई । आफैँले उत्पादन गरी बेच्दा नाममात्रको दाम पायो । हरि त्यसपछि ऋणमा डुबेर हरिकङ्गाल भयो।
६) तमासा
काठमाडौं शहरको एउटा चोकमा तमासा लागेको थियो।
“खान र मोजमस्ती गर्न यिनीहरूले क्या तरिका जानेका छन् यार, हेरौँ न एकछिन !” यस्तो भन्दै केही उरन्ठेउला केटाहरू मान्छे झुम्मिएका ठाउँमा गएर कोचिए।
आठ वर्षको पिन्टु र दश वर्षे चिन्टु यसको प्रमुख पात्रहरू थिए । चिन्टु ढोलक बजाउँथ्यो । पिन्टु जादुगरी नाच देखाउँथ्यो । कहिले दश फिट अग्लो दुइटा बाँसमाथि आफ्ना खुट्टा राखेर बाँसै समेत उचालेर हिँड्थ्यो । बाँसै समेत उचालेर नाच्थ्यो । कहिले ती दुइटै बाँसलाई बीस फुटको दूरीमा फैलाएर त्यसमाथि डोरी टाँग्थ्यो । अनि छातीमा लामो लठी तेर्साएर त्यो डोरीमाथि हिँड्थ्यो । यस्तो असाधारण प्रतिभालाई मान्छेहरू मस्ती मानीमानी हेरिरहेका थिए । यस्ता बालकले कस्तो कठिन काम गरेको भनेर आपसमा आश्चर्य व्यक्त गर्थे । केही क्षणपछि दुवैै बालकले रित्तो कचौरा लिएर भिख माग्न थाले । भिख माग्न थालेपछि तिनै उरन्ठेउला केटाहरूले भन्न थाले – यिनीहरूले यस्तै ठग्नलाई चटक देखाएका हुन् भन्ने कुरा त हामीलाई पैलै थाथ्यो।
ती केटाहरूको कुरामा धेरै मान्छेले मौन समर्थन जनाइरहेका थाहा हुन्थ्यो । तैपनि केही दयालु मान्छेहरूले गोजीबाट पाँच—दश रुपियाँको नोट झिकेर दिए । बसिरहे पैसा दिनुपर्छ भनेर ती उरन्ठेउला केटाहरू चाहिँ आफ्नो बाटो लागे । दिनेजतिले पैसा दिएपछि त्यसलाई आफ्नो मैलो तन्नामा पोको पारेर हिँडे । केही मान्छेहरूले उनीहरू गएतिर आँखा लगाए । अलिपर पुगेपछि पिन्टुले दाजुलाई भोजपुरीमा सोध्यो — “भैया जी ! अब तो हमार माके विमारको अप्रेशनका खातिर पैसा पुगल ? अव हम दोने पाठशाला जा सकेन नि ? हमनिके ठग ना हइजा ?”
(अर्थ – दाइ अब हाम्रो आमाको विरामीको अप्रेशन गर्न पैसा पुग्यो ? अब हामी दुवै स्कुल जान सक्छौ ? हामी ठग त होइनौ नि ?) भाइको प्रश्नमा चिन्टु बोलेन । बायाँ हातको दुई औँलाले टिलपिलाइरहेको आँसु पुछ्यो।
(देशको खोजीमा लघुकथा सङ्ग्रहमा सङ्गृहीत!)
प्रकाशित: १३ वैशाख २०७८ ०८:०६ सोमबार