लता केसी
१) आडभरोसा
यति जाबो तरकारी किनेर आउन पनि २ घण्टा लाग्यो ? कता अनमरिएकी थियौ नि भनेर लोग्ने कराए।
रमा केही नबोली भान्सामा पसिन् । बोलेर फाइदा पनि थिएन । जागिरमा पुग्नै पर्ने हतारो भयो । खुरुखुरू खाना बनाइन् । एउटा छोरा , कलेज हिँड्यो । खाना खाएर दुवै बूढाबूढी संगै आआफ्ना काममा निस्के।
बाटोमा बूढाले कुरो कोट्याए , ‘होइन , यो नयाँ टोलमा डेरा सरेपछि तिम्रो बानी किन बदलियो ? बोल्न नि कम बोल्न थाल्यौ । जता गए पनि पनि ढिलो गरेर घर आउँछ्यौ ?’
मनभरि पेटभरि भएकी रमाले दुख बिसाउँदै भनिन् , ‘म नबोल्ने सोझी देखेर तपाईंले त हेप्नुभयो । अझ गाउँ छिमेकीका त के कुरा ?’
‘के भयो ?’ बूढाले अचम्म मानेर सोधे ।
बेलिबिस्तार लाउँदै उनले भनिन् –‘यो टोलका रैथानेहरूले मलाई सारै दुख दिन थाले नि ! मेरो अगाडि शान देखाएर बसी टिक्नु दिएनन् । जता गयो उतै बाटो छेक्न थाले । अपशब्द बोलेर सही नसक्नु बनाउन थाले।’
बूढाले आश्वासन बाँडें, ‘नयाँ भएर होला नि , बस्दै जाँदा चिन्लान् नि ता तिनले पनि । बोल्न केही भएन के रे । उनीहरूको टोलमा हामी पाहुना भयौं । बलियाका अगाडि कमजोरले सहनुको अर्को विकल्प के होला र खै ?’
अपमान र सहनशीलताकै दोहोरीमा नै केही वर्ष बिते । उनको छोराको बिहे पनि भयो । घरगृहस्थी राम्रै चलिरहेको थियो । रमाको अनुहारमा अनौठो चमक र उज्यालो देखिन थाल्यो । उनका बूढाले रमाइलो पारामा सोधे, ‘पूर्णिमाको जून सधैं उदाउनु रहस्य के होला नि ?’
खुसी भएर वर्णन गरिन् , ‘टोलका डनहरूको व्यवहारमा परिवर्तन आयो नि ! अब न त हेपाइ सास्ती , न त बाटो छेकाइ ! बरु मलाई देखेर नमस्कार पो गर्न थाले।’
अचम्म मानेर सोधे, ‘के जादु गर्यौ त नि ?’
बूढाको छेउमा आइन् र कानैनिर सुस्तरी भनिन् , ‘हाम्री नयाँ बुहारीलाई मजस्तै ठानेर हेपेर हातै हालेछन्। टोलको डन भनाउँदा जोइपोइलाई तीन दिनसम्म उठ्नै नसक्ने गरी कुटिछन् । बुहारी त मान्छे कुट्ने खेलमा निपुणता हासिल गरेकी रहिछन् नि बुढा !’
२) पुरुष
वीरुले घाँसको भारी फ्याँकेको आवाज सधैँ छिमेकीको घरसम्म पुग्थ्यो । असन्तुष्टि हो कि आक्रोश ? जब उनी गरुँगो भारी लिएर आउँथे , बिसाउने क्रममा प्रायः डङरङ्ग् आवाज आउने गरी फ्याल्थे।
यी वीरु दाइलाई पनि कहिल्यै सुख भएन । त्यत्रा वर्ष विदेश बसेर दुख गरे । अहिले खेती किसानीमा लागेका छन् । जति दुख गरे पनि जस पाएनन् । छिमेकी रमाको मन कट्क्कै खायो। उनले आफ्नी देउरानीसँग वीरुले पाएको दुखको कुरा पोखिन् ।
हो त नि दिदी , विदेश भैन्जेल कमाएको पैसा रोगी श्रीमतीको उपचारमै सकियो। अहिले खेतीपाती गरेर केटाकेटी हुर्काउँदै ठीक्क ! विचरा , पचास नपुग्दै बूढा देखिन थाले। देउरानीले पनि हो मा हो मिलाउदै सही थापिन्।
छोरा पनि त लाइनको भएन। आवाराहरूको संगले बिग्रिसक्यो । एक्लो छोरो भनेर सानोमा खुब माया गरे। अहिले घरको एउटा सिन्को पनि भाँच्दैन । कहिलेकाहीँ त यसो बाउलाई सहयोग गर्नु नि ! केही भन्यो , उल्टो जंगिएर हिँड्छ। जेठानीले थप दुख कोट्याउन थालिन्।
छोरी पनि बिहेयोग्य भैसकेकी छ । माग्न आए दिइहाले हुन्थ्यो बरु ! केटाहरू मडारिएर बसिखानु छैन। अठार वर्ष नपुग्दै यो हालत , अर्को सालसम्म नदिने हो भने तलबितल हुन नि के बेर ? पीडा नै पीडाले होला , विचराको तालु खुइलिसके।
–एउटा कुरा नि दिदी , जति दुख परे पनि वीरु दाइको आँखामा आँसु कहिले नि देखिएन। होइन, पुरुष रुन जान्दैनन् र ? कि पुरुषले रुनु नै हुँदैन?
– लौ , के भनेकी ? पुरुष किन रुँदैनथे ? ती पनि त मानिस नै हुन् नि ! तिनका नि भावना छन् क्यारे ! फरक कत्ति छ भने उनीहरू भित्रभित्रै आँसु पिएर रुन्छन् । एकान्तमा रुन्छन् । हामी महिलाजस्तो गरेर बाहिर आँसु चुहाउँदैनन् !
(‘चोटदेखि मृत्युसम्म’ लघुकथा सङ्ग्रहमा सङ्गृहीत !)
प्रकाशित: १२ वैशाख २०७८ ०५:०७ आइतबार