पुष्पा नेपाल (सुवेदी)
‘पानी खुवाउनुहोस् त दिदी’ अनुरोधभन्दा आदेश धेरै मिसिएको वाक्य मैले पछाडिबाटै चिनिहाले, कुनै छापामार केटाको आवाज थियो। त्यतिबेला देशमा गृहयुद्ध चलिरहेको थियो। म सरकारी स्कूलको प्रावि तहमा अस्थायी रूपमा कार्यरत थिएँ । दरबन्दी मिलानको निहुँ बनाएर मलाई नेपालकै दुर्गम गाउँमा पुरयाइएको थियो।
पैसा र पावर नभएका म जस्ता लुतेहरूको नियतिलाई आफ्नो भाग्य सम्झेर म पनि दुई महिने छोरा बोकेर जागिर खान पुगेकी थिएँ त्यस गाउँमा। त्यस गाउँका मान्छेहरू यति त्रसित थिए कि उनीहरूको मुहारबाट हाँसो हराएको थियो, नयाँ मान्छे देख्नेबित्तिकै तर्सन्थे। कारण थियो, त्यो गाउँ नेपाल आर्मी र युद्धमा होमिएका छापामारहरूको क्रीडास्थल बनेको थियो। रातभर छापामारहरू आएर भाषण गर्थे, अनेकौ संगठनहरू बनाउँथे र तिनै सोझा गाउँलेहरूलाई अनेकौ पदमा राखेर आजदेखि तपाई हाम्रो पार्टीमा आउनुभयो भन्थे। निरीह गाउँलेहरू बन्दूक र बमको अगाडि काइँकुइँ गर्दैनथे।
भोलिपल्ट सूर्य धर्तीमा आउन नपाउँदै सेनाको लस्कर आइपुग्थ्यो। यहाँ कोको नयाँ मान्छेहरू आएर केके गर्दैछन्, एकएक विवरण पेश गर्नुस्, नभए खोरमा पुगिएला। अघिल्लो दिन छापामारहरू ओछ्यानहरू पल्टाउँदै सेनाले गाउँलेको अर्को सातो लिन्थे। बिहान हिँडेको मान्छे बेलुका फर्कन्छ फर्कन्न भन्ने अवस्था थियो । त्यस्तो विषम परिस्थितिमा बाँचिरहेका थिए गाउँलेहरू।
हो म पनि त्यही गाउँको स्कूलमा शिक्षिका भएर पुगेको थिएँ ।दुई महिनाको बच्चा बोकेर दिनभर स्कूलमा पढाउँथे। श्रीमान् अर्कै जिल्लामा हुनुहुन्थ्यो । फोन सम्पर्क समेत हुँदैनथ्यो।
म गएपछि मेरो भाग्य पनि गाउँलेको जस्तै भयो। कहिले एघार बजे राति नानी बोकेर बैठकमा पुग्थे, कहिले शिक्षक अपहरणमा परेर तीन दिनसम्म जंगलमा बिताउँथे। कहिले घन्टौसम्म आर्मीको खोजतलास र छानवीनमा पर्थे।
–पानी मागेको नि सुन्नुभएन!
उठेर पानी दिएँ । उस्ले मलाई चिन्दो रहेछ। तपाई यहाँ भनेर सोध्यो। मेरै विद्यार्थी रहेछ। त्यसैले एकैछिन कुरा गर्यो। उसले भन्यो–तपाई जस्ता शिक्षकको बुर्जुवा शिक्षाको काम छैन। म देश बनाउन हिँडेको। अब परिवर्तन हुन्छ।
त्यसपछि ऊ निरन्तर मेरो सम्पर्कमा छ। शान्ति सम्झौतापछि जनसेना भएकोमा खुशी थियो तर जब अयोग्य ठहरियो तब हातमा राहदानी बोकेर अरबको खाडीमा पसिना चुहाउन पुग्यो।
हिजो मात्र मलाई कल गरेको थियो–मिस, मैले नपढेर ठूलो गल्ती गरेछु। देश बनाउन भन्दै सर्वसाधारणको काँधमा बन्दुक राखेर हिँडे। आँखै अगाडि कति विधवा र अनाथ भए। त्यति गरेर आएको गणतन्त्र त नेताको घुम्ने कुर्सीको खेल भयो। नेपालीहरूको दुर्गति बढिरहेको छ। साँच्चि नेपाल आमाले पो मलाई माफ गर्छिन् कि गर्दिनन् ?
प्रकाशित: १२ वैशाख २०७८ ०३:४५ आइतबार