निर्मल रमण पराजुली
(१)
यो देशका प्रत्येक सन्तानलाई , देशको माया हुनुपर्छ,
देशलाई कतै चोट लाग्दा , उसको मन रुनुपर्छ।
एकातिर संसारको सुख अर्को , तिर देशको माटो राखी,
के रोज्छस् भनी सोध्दा उसले, देशको माटो छुनुपर्छ।
(२)
देशमै श्रम गर्छु म त , आफ्नै ज्यानको हड्डी घोटी,
ढिँडोआँटो, सिस्नो अनि , खान्छु कोदो फापर रोटी।
मेरो लागि देशभन्दा , ठूलो कुरा केही छैन,
शिरमा राखी मातृभूमि , प्रणाम गर्छु कोटीकोटी।
(३)
तिम्रो काखमा शरण पर्न , आउँछु नेपाल आमा,
तिम्रो ओठमा खुसी छर्न , आउँछु नेपाल आमा।
देश दुखेको बेला विदेश , बस्ने रहर छैन मलाई,
त्यो लिपुलेक फिर्ता गर्न , आउँछु नेपाल आमा।
(४)
शिरमा मेरो ढाका टोपी , यो छातीभित्र देश,
प्यारो लाग्छ नेपाली भनी , मलाई चिनाइदिने भेष।
धन दौलत, सुखसयल , खोज्दै विदेश जानुभन्दा,
ढिँडो खाई देशमै बस्नु , बरु त्यो पो हुन्छ बेस
(५)
ढिँडो भए पुग्छ मलाई , आँटो भए पुग्छ,
श्रम गर्न खेतबारीको , पाटो भए पुग्छ।
देश छोडी अब कहिल्यै , विदेश जान्न म,
यो जन्म मलाई देशकै , माटो भए पुग्छ।
प्रकाशित: ९ वैशाख २०७८ ०३:३९ बिहीबार