कृष्णबहादुर बुढाथोकी
आयो वर्ष नयाँ अघोर रुपमा ढाकेर चारैतिर
रक्ताम्य धरणी खडा हुन पर्याे छोपेर तन्का पिर
लाखौ सन्ततिको वियोग सहँदै हास्नै परे तापनि
स्वागत्को सगुनै चढाउन विवश् आफु मरे तापनि
चिन्ता छैन कसो मरे पनि कुनै हज्जार मान्छेहरु
ल्यायौ शान्ति भनेर आव कसरी विश्वास मैले गरुँ
बाँच्नेका मुटुमा कठोर मनले रोपेर सङ्गीनहरु
निल्दैछौ नयाँ वर्षको रुपधरि निर्धा र सोझाहरु
लाखौ बिन्ति गरे पनि हृदय त्यो पग्लन्न एकैरति
बाच्नै मात्र पनि अती कहर यो काटै र बाँचौं कति ?
आऊ ए! नववर्ष यो जगतमा मान्छे विनासी सब
सक्दैनौ त भने खुरुक्क नव साल् फर्केर जाऊ अब
कोलाहल् दुनियाँ भयो तर पनि पीडा नलिईकन
नौटङ्की नखरा बनाएर अहो ! आयौ खुशी भैकन
सौगात् लास शिवाय छैन महिमा गर्ने मनै छैन भो
बस्ने छैन कहीं सुवर्ण खटिया फर्केर गए भयो ।।
प्रकाशित: ५ वैशाख २०७८ ०७:५० आइतबार