खेमराज पोखरेल
१) सभ्य बस्ती
उनले भैँसेपाटीमा एपार्टमेन्ट किनेका थिए । उनको एपार्टमेन्ट हेर्न मलाई पनि लिएर गए।
बाटामा उनी मलाई भन्दै थिए
–अलि महँगो मात्र हो ढुक्क हुँदो रहेछ ।
–लन्जुफन्जु मान्छे हुँदैनन् । सभ्य मान्छे मात्र हुन्छन्, आनन्द लाग्यो।
–गाडी नभएका त यहाँ कोही छैनन्।
–पउल पार्किङ् छ, समस्या छैन।
–स्विमिङ पुल सानदार छ।
–सभाहल पनि छ । कार्यक्रम गर्न समस्या छैन।
–डिपार्टमेन्टल स्टोर पनि गेटमै छ, सजिलो।
–पाहुनाको पनि टेन्सन छैन । गेटबाटै फर्काइदिन्छ सिक्योरिटीले।
–चोरीसोरीको पनि समस्या छैन।
–पानी बिजुलीको पनि आफ्नै व्यवस्था छ, लोडसेडिङ्को टेन्सन छैन।
भन्दाभन्दै गेट आइपुग्यो । सिक्योरिटीले गेट खोल्यो र सलाम ठोक्यो । भित्र क्या राम्रो फूलवारी । गगनचुम्बी घर । गाडी पार्किङ गरेर हामी बिल्डिङको मूलगेटमा पस्यौँ । लिफ्टले सत्रौँ तलामा पुर्यायो । झ्यालबाट देखिएको कङ्क्रिट शहर फुच्चे देखियो।
उनले भने– यताबाट हेर्नु त शिवपुरी छ्याङ्ङ देखिन्छ।
बरन्डामा परपरबाट देखिने गरी इनरहरू सुकाइएका थिए।
अनि मैले भनेँ–‘अहो, दृश्य बडो सुन्दर देखिँदो रहेछ । शिवपुरीबाट पाहुनाले हेरे भने यो सभ्य बस्तीमा यी इनरहरू मात्र देख्छन् होला, ‘मान्छे’चाहिँ देख्दैनन् होला हगि ?’
२) समानता
त्यो शहरको निकै चर्चा थियो रेडियोमा । टिभीमा । पत्रिकामा । जनमानसमा । सबै एकोहोरो भन्थे–त्यो शहर नेपालको पहिलो शहर हो जहाँ महिला पुरुषमा कुनै भेदभाव छैन । सरकारले विशेषज्ञद्वारा अध्ययन गराएरै यो कुराको घोषणा गरेको थियो । घोषणा कार्यक्रम थियो । अतिथि भएर बोलाइएको थिएँ । अघिल्लो दिन नै पुगेको थिएँ।
बिहान साढे चार बजे उठेँ र त्यो शहरको माथ्लाछेउदेखि तल्ला छेउसम्म पैदल हिडेँ । मेयर साब मसँगै हुनुहुन्थ्यो । बाटाकै आडमा पँधेराहरू थिए। पँधेरामा पानी भर्न गाग्री बोकेर लाइन लागेका प्रायः महिलाहरू नै थिए।
दोकानहरू खुल्दै थिए । आफ्ना दोकान अगाडिको सडक, पेटी बढारिँदै थियो।
उनी बेला बेलामा बढारी रहेका महिलालाई सोध्थे– दाइ खोई त ? भाइ खोई त ? भेना खोई त ?
साइनो लगाएर बोल्ने उनको शैली मलाई रमाइलो लाग्दै थियो।
अधिकांश उत्तर यस्तै खाले आउँथ्यो–
– सुतिरहनु भएको छ नि तपाईँको दाइ, अहिले उठ्ने मान्छे हो र ? बेड टि नखाई त के उठ्नुहुन्थ्यो ?
– राति धोकेर आएको मान्छे, कति घिच्न सकेको होला । लम्पसार परेको छ नि । अहिले उठ्छ र तपाईँको भाइ ?
– राति टन्डेली मारेर आउँछ, पकाको भात त बेलामा खाइदिँदैन, उस्तै त हो नि तपाईँको भेना ।
मसँगै हिँडिरहेका मेयरज्यू मसँग पनि गफ गरिरहेका थिए–यो व्यवस्था मिलाउन कम्ती पापड बेल्नुपरेको हो र हामी जनप्रतिनिधिले ?
म शिष्टाचारवश ‘होमा हो’ मिलाउँदै थिएँ।
र पनि सोधे–
‘पानी भर्ने सबै महिला । बाटो पेटी बढार्ने सबै महिला र सुत्ने सबै पुरुष, आज संयोग परेको हो र मेयरज्यू ?’
३) पराई
बाउले लगाइदिएको अंशको कुरो झिकेर भाइले अनावश्यक भन्योः ‘अंशमा दाइले किचलो गर्यो।
परिणाम – पानी बारबार।
श्रीमतीले वार्निङ दिइन्–जाबो एउटा जन्तर पनि लाउन नपाउनू ?
परिणाम – मनमुटाव।
बाबुआमाले भने–सुको कमाएन, योचाहिँ कुपुत्रै निस्क्यो।
परिणाम – हेला।
काकाकाकीले भने–खुब सरकारी जागिरे भन्थे,केही लछार्पाटो लाएन।
परिणाम – काखी बज्यो।
साथीभाइले भोज नख्याएकोमा पाखा लगाए र भने–साला तन्नमप्रसाद, मक्खीचुस।
परिणाम – असामाजिक।
मायालुहरूले उहिल्यै छोडेकै हुन् । भन्थे– टाटबहादुर !
परिणाम – रेला।
छोराछोरीले सधैँ फि तिर्ने बेलामा भनि आएका छन्–उही खर्दार प्रवीण अङ्कलको त्यस्तो राइँदाइँ छ, उही खर्दार हाम्रा बाको टोपी टालिएन । फि तिर्ने बेला भो जहिले पनि घरमा रुवाबासी।
परिणाम – तनाव।
दिदीबहिनी पनि भन्दै आएका छन्–अरू बेला त हात उठेन उठेन, वर्ष दिनमा आएको चाडमा पनि उस्तै । हल्लनटट्टु !
परिणाम – कुवचन।
ससुराली जहिले पनि छोरीलाई सुनाउँछन् रे –झन् खर्दार भा पनि सरकारी जागिरे भनेर छोरी दिएको त कस्तो हुतिहारा रहेछन् ज्वाइँ त।
परिणाम – हेपाइ।
साह्रै दिग्दारीले सुतेँछु । तन्द्रामा प्रभु आएछन् ।
प्रभु दयालु भएर भन्दै थिए– वर माग मनुष्य!
मैले हतारहतार भनेँछु–आफन्तबाट रक्षा गर प्रभु, पराईसँग त म आफैँ जुध्छु।
४) लादीको रोइला
ऊ र म एउटै गाउँमा जन्मियौँ । बढ्यौँ । पढ्यौँ । मास्टर गर्यौँ । समान पदमा जागिर पनि खायौँ । पिएचडी पनि गर्यौँ एउटै विश्वविद्यालयबाट । हाम्रो पढाइ पनि एउटै काँटको थियो । कहिले ऊ उन्नाइस, कहिले बिस । राजनीतिक विचार पनि एउटै थियो । केही फरक थिएन । गुनासाहरू थिएनन् । तँतँ ममको लगौँटिया यार।
हेर्दाहेर्दै ऊ फेरिन थाल्यो । उसले राजनीतिक विचारभन्दा पार्टी समायो । पार्टीभन्दा गुट समायो । गुटभन्दा उपगुट समायो । उपगुटभन्दा नेता समायो । समयअनुसार नेता फेरि फेरि समायो । पढाइभन्दा ढोका कुर्न मजा मान्न थाल्यो । उसको बसउठ फेरियो । स्तर फेरियो । गफ फेरियो । पढाइको कुरो छाडेर नेता र पार्टीको कुरो गर्न थाल्यो । देश अरूले बिगारेको तर्क गर्न थाल्यो।
ऊ नजरमा पर्यो । उसको प्रमोसन भयो । फेरि फेरि रोजीरोजी राजनीतिक नियुक्तिहरू पायो । एकताक हामी हिरो साइकल चढ्थ्यौँ । म हिरो मोटर साइकल चढ्ने भएको छु । ऊ एम्बेस्डर चढ्न थाल्यो।
दुर्भाग्यवश यसपल्टको फेरबदलमा उसले कुनै नियुक्ति पाएन र तिर्मिराएर मलाई भन्यो– साला यो पार्टी खतम भयो । यो सरकार चल्दैन । कार्यकर्ताको मूल्याङ्कन नै छैन । २५० जना नियुक्ति हुँदा मजस्तो अनुभवीको कदर भएन।
मैले अनायासै भनेँछु–आन्द्रा पनि खायौ, भुँडी पनि खायौ त । अब के रोइला गाउँछौ यार ? मरिजाने जिन्दगीमा खान पुगेन भने साथीको नाताले एक बोरा चामल म किनिदिऊँला । तर , अब लादी पनि खाने विचार त छोड।
५) चित्रगुप्तको डायरी
डल्ले मेरो दौँतरी थियो । शरीरको खाइलाग्दो थिएन । पुड्को थियो । सुन्दर थिएन । तर धनीबाउको एक्लो छोरो थियो । खान्दानी सामन्तको छोरो थियो । बोर्डिड पढ्थ्यो । सामुन्नेमा उसलाई सबै गाउँले निरञ्जन बाबुसाहेब भन्थे । म गरिव बाउको छोरो थिएँ । सरकारी स्कुल पढ्थेँ । गाउँले मलाई हेप्थे र भन्थे– शरीर लरक्क परेर के गर्नु भाग्य लिएर न आएपछि । मेरो भाग्य नहुनू भनेको गरिव कुलमा जन्मनु थियो । जसमा मेरो कुनै भूमिका थिएन । र समाज मलाई हाकाहाकीमै टिंगरिंगे भन्थ्यो।
अरूजस्तै डल्ले पनि मलाई जहिल्यै हेप्थ्यो । मेरो गरिवीको खिल्ली उडाउँथ्यो र भन्थ्यो–गरिब थियो, पढ्न सकेन ।
–गरिब थियो, खान पाएन।
–गरिब थियो, लाउन पाएन।
–गरिब थियो, स्वास्नीले छोडी।
–गरिब थियो, उपचारबिना त्यसका बाउआमा मरे।
–गरिब थियो, छोराछोरी बँधुवा राख्यो।
हुन त उसले पनि पढ्न सकेको थिएन । रोगले डल्लिएको थियो, खान केही हुँदैनथ्यो । उसकी पनि स्वास्नी पोइल हिँडेकी थिई । उसका पनि बाउआमा मरेका थिए । भएका छोराछोरी पनि शहरमा बोर्डरमा राखेको थियो।
समयकालमा ऊ पहिले मर्यो । म पनि मरेँ । मैले पाप गर्न मौकै पाएकै रहेनछु । मेरो आत्मा काउचमा रहेछ । चित्रगुप्तको डायरीमा उसले धेरै खान्दानी पाप गरेको देखिएको रहेछ । उसको आत्मा कुम्भिपाकमा रहेछ।
उसको आत्माले मेरो आत्मालाई देखेर भन्यो– अहो तँ काउचमा ?
मेरो आत्माले उत्तर दिएछ –सम्पत्तिले मृत्यु टार्न सकिँदो रहेन छ र मात्र नत्र मलाई भन्थ्यौ होला हगि गरिब थियो, त्यसैले मर्यो!
(‘ईश्वरको मृत्यु’ लघुकथा संग्रहमा संगृहीत !)
प्रकाशित: ५ वैशाख २०७८ ०७:२७ आइतबार