३ पुस २०८१ बुधबार
image/svg+xml
कला

महारानी उपन्यासभित्रको आर्थिक इतिहास

मदन पुरस्कार (२०७६) प्राप्त गरेपछि नेपाली साहित्य क्षेत्रमा चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीको चर्चा र चासो चुलिएर गएको छ। यथार्थमा महारानी कल्पनाको क्यानभासमा रचिएको सत्य, तथ्य, यथार्थताको कलात्मक चित्रण हो।  

केही समयअघि पोखरामा चलेको साहित्यिक मेलाको एउटा सेसनमा कृतिकारको संवाद प्रस्तुति आएको थियो। त्यसै दिन विश्व पौडेलको विद्वत् प्रवचनको आलेख हिमालखबर अनलाइनमा पढ्न पाइयो। साहित्य र आर्थिक पक्षको चर्चा गर्दै पौडेलले प्रायः साहित्यले कुनै न कुनै रूपमा इतिहासको प्रतिविम्ब वहन गर्ने र त्यसमा अर्थशास्त्रले समेट्न नसक्ने इतिहासका सूक्ष्म आर्थिक आयाम साहित्यले खोतल्ने उल्लेख गरेका थिए। आर्थिक इतिहास बुझ्न साहित्यको योगदान रहने र आर्थिक इतिहास उजागर हुने गरी प्रशस्त साहित्यिक कृति लेखिनुपर्ने उनको भनाइ थियो। पौडेलको तर्कको झट्काले साहित्यमा सामान्य रुचि राख्ने मलाई फेरि महारानीतर्फ धकेलिदियो। महारानी उपन्यासभित्र आफूले देखेको अर्थ संसारको सम्बन्धमा यहाँ चर्चा गरिँदैछ।  

महारानी उपन्यासले मध्यकालीन नेपालको महत्वपूर्ण खण्ड पर्वत राज्यको प्रभाव क्षेत्रको राजनीतिक, सामाजिक तथा सांस्कृतिक पक्षको तस्बिर उतारेको छ। यो उपन्यास आजभन्दा तीन सय वर्ष अगाडिको कथा हो। सम्भवतः आर्थिक इतिहासको पाटोलाई यथासम्भव प्रकाश पार्ने प्रयास गरिएका थोरै आख्यान कृतिमध्येको एउटा हो।  

दरबारको आर्थिक वैभव, राजस्व स्रोत, राज्यकोष परिचालन प्रणाली, मुद्रा जस्ता प्रसंगहरूको जानकारी उपन्यासमा बुझिने गरी उपलब्ध छन्। पर्वत दरबारको आर्थिक अवस्था तथा राज्यकोषको हालत त्यति बलियो नभएको अवस्था ‘भित्र छैन खान्या पिठो, बाहिर रातो रुमाल’ भन्ने राजा घनश्यामको अभिव्यक्तिले झल्काएको छ। त्यस्तै, संवादका क्रममा पर्वतका राजालाई वर्ष दिन ‘दालभात खान’ पनि मुस्किल पर्ने रहस्योद्घाटन भएको छ। त्यसको कारण पर्वत राज्य भूगोलमा विशाल भए पनि खेतीयोग्य उर्वर जमिनको अनुपात अत्यन्त कम रहेको वास्तविकता थियो। 

खेतीयोग्य जमिनमध्ये अधिकांश फाँट भाइभारदार, गुरु पुरोहित, कर्मचारी तथा सैनिक सेवकलाई जागिर स्वरूप उठ्ती पुठ्ती खाउ भनेर दिनुपर्ने तत्कालीन राज्यको बाध्यता थियो। भाइभारदारहरूलाई सन्तुष्ट पार्न नसके राज्य टिकाउन गाह्रो हुन्थ्यो। राज्यभित्र सीमित मात्रामा तामाको गोलाकार टुक्रालाई मुद्राको रूपमा प्रयोग गरेको पाइन्छ। प्रायः राजस्व तथा व्यापारिक कारोबार जिन्सीमा हुने गरेको संकेत भेटिन्छ। जग्गाकर जिन्सीमा नै उठाउने गरेको कुरा उठ्ती भण्डार काल पूर्वका लागि पाङमा र पश्चिमका लागि बेनी बजारमा राखिएको कुराले प्रस्ट्याउँछ।  

राज्यको धेरैजसो जग्गा, मुख्य उब्जाउ फाँटहरूको आम्दानी जागिरेहरूका लागि जाने भएकाले दरबारको राजस्व आयस्रोत साँघुरो थियो। आयस्रोत विस्तारका लागि नयाँ खेतीयोग्य जग्गाको खोजी र विस्तार हुने गरेका थियो। त्यसै क्रममा सिँगाको बगरमा सिँचाईको व्यवस्था गरी आवाद गरिएको थियो। जग्गाकरले मात्र दरबार चलाउन मुस्किल परेको अवस्थामा बेनीको व्यापार र खनिजहरूको आम्दानीले धेरै भरथेग गरेको प्रसंगले गैरकृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेको देखाउँछ। 

जग्गाका मोहीहरूबाट राज्यद्वारा आम्दानीको पञ्चम भाग अर्थात् सयकडा पाँच प्रतिशत लिइन्थ्यो। त्यो तत्कालीन समयमा अत्यन्त्रभन्दा धेरै सस्तो देखिन्छ, तसर्थ पर्वत राज्य नागरिकप्रति आर्थिक पक्षमा उदार भएको र त्यति दोहनकारी नभएको मान्न सकिन्छ। साथै, राज्यकोषको हिसाबकिताब तथा आर्थिक योजना राजसभामा प्रस्तुत हुने, राज्यकोषको परिचालन राजसभाको परामर्श र अनुमोदन हुने गरेको देखिन्छ, जसले गर्दा राज्य सामूहिक निर्णयको आधारमा चल्ने गणराज्यको चरित्र झल्कन्छ। आर्थिक वर्षको परिवर्तन श्रीपञ्चमीको दिनबाट हुने गरेको थियो।  

उपन्यासमा उल्लिखित आर्थिक परिदृश्यको अर्को महत्वपूर्ण पाटो गैरकृषि उत्पादन तथा व्यापार अवस्था रहेको छ। पर्वत राज्यको शीतकालीन राजधानी बेनीबजार तत्कालीन समयको अन्तर्राष्ट्रिय व्यापारको संगम स्थल थियो। त्यहाँ हिउँदमा बजार (मण्डी) लाग्थ्यो। भोटदेखि मधेससम्मका व्यापारी अस्थायी बसोबास गरेर व्यापार गर्दथे। त्यस व्यापारको कर आम्दानी राज्यको महत्वपूर्ण राजस्वको स्रोत रहेको थियो। बेनीबजार हुँदै तत्कालीन पर्वत राज्य क्षेत्रमा पर्ने कालीगण्डकी करिडोर तिब्बतदेखि मधेससम्म जोडिने मध्ययुगीन नेपालको एक प्रमुख व्यापारिक मार्ग थियो। 

ढोरपाटन मेलामा पनि भोट मधेसको सटही हाटबजार लाग्ने गरेको प्रसंग उल्लेख छ। पर्वत दरबारमा मुस्ताङको धुस्सा, पाखी, काम्लो, तिब्बतको गलैँचा, बनारसको धोतीजस्ता बाहिरबाट आयातीत वस्तुको प्रयोग हुने गरेको पाइन्छ। तत्कालीन पर्वतका लागि बाह्य व्यापार कति महत्वपूर्ण थियो भन्ने कहिले भोटले नुन बन्द गरिदिएर आपत पारेको त कहिले जुम्लाले ठिनी कब्जा गरेर भोट मधेस व्यापार बन्द गरिदिएर संकट उत्पन्न भएको सन्दर्भ चर्चाबाट थाहा लाग्छ।

स्थानीय उत्पादनको निर्यातको बारेका केही नभेटिए पनि हातहतियार तथा औजारको स्थानीय स्तरमा निर्माण तथा उत्पादन सुरु गरी आयात प्रतिस्थापन तथा आत्मनिर्भरताको प्रयास भएको बुझिन्छ। पहिला युद्धको मुख्य हतियार बन्दुक बनारसबाट गोप्य रूपमा झिकाउनुपर्दथ्यो, त्यही समयमा कुहुँका आरनेले स्थानीय स्तरमै बन्दुक बनाउन थालेका थिए। पछि बेनीबजारमा हतियार निर्माणखाना खोलिएको थियो। 

फलाम प्युठानबाट आउन थालेको र आवश्यक औजार उपकरण स्थानीय कालिगडबाटै निर्माण हुने गरेको पाइन्छ। पर्वत राज्यभित्र खानी उत्खनन भएका दर्जनौँ स्थल छन्, बाइस खानी, चौवालिस खानीको चर्चा हुने गर्छ।

प्रकाशित: ४ वैशाख २०७८ ०३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App