निर्मला कुँवर
मलाई चाहिँदैन गगनचुम्बी महल
सजिसजावट सोफा र सुत्ने पलङहरू
मात्रै तिम्रो माया भए,
म निदाउन सक्छु गुन्द्री र चकटीहरूमा
त्यसैले प्रियतम,
त्यो विदेशी भूमिमा भो पसीना नबेच
तिमी फर्किएर आऊ
आफ्नै माटोमा
आफ्नै देशमा
मलाई चाहिँदैन सुनका गहना
झकिझकाउ र टल्कने सारीहरू
जहाँ तिम्रो पसीना बेचिएको छ
मलाई त मेरै गुन्यूचोली प्रिय छ,
मेरै देशको,
मेरै पहिचानको
त्यसैले प्रियतम् ,
भो त्यो विदेशी भूमिमा पसीना नबेच
तिमी फर्किएर आऊ,
आफ्नै माटोमा
आफ्नै देशमा
बाँझै छन् हाम्रा खेतबारीहरू
बर्सौंदेखि नजोतिएका, नखनिएका
आऊ तिमी गराहरू जोत
म छेउकुना खन्छु
ढुंगे धाराको कलकल पानीले प्यास मेटाउँदै
गुन्द्रुक र ढिँडोले भोक मेटाउँदै
माटोभरि पसीना पोखौँ
सिर्जनाको फल फल्नेछ
त्यसैले प्रियतम्,
भो त्यो विदेशी भूमिमा पसीना नबेच
तिमी फर्किएर आउ आफ्नै माटोमा
आफ्नै देशमा।
प्रकाशित: ३० चैत्र २०७७ ०३:०७ सोमबार