९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

एक थान बहुलट्ठी सपनाहरू

कविता

सुन्दै छु

टाउकोमा कात्रो बाँधेर

केही मान्छेहरू मलाई खोज्दै छन्  

म भ्रमको उन्माद पिउँदै

मस्तिष्कको एक अँध्यारो सुरुङमा लुकेर

मानसिक डाक्टरको मृत्यु सोचिरहेछु

ट्रयांक्विलाइजरको भट्टीमा आगो सल्काउने  

षड्यन्त्र बुनिरहेछु

आहा, सिजोफ्रेनिक सपनाहरू  

हिउँ भएर टाउकाबाट स्खलित भइरहेछ्न।  

 

दिनहुुँ कानहरू बहिरा हुँदै छन्

संवेदनशील मुटु पथ्थर हुँदै छ

ए निर्मलाका आत्माहरू

नवराजका लासहरू

अन्याय खेपेका भुइँमान्छेहरू

सुरुङ छेउको कालो लहरे गुलाफ पन्छाएर आऊ

कानमा आएर जोडले चिच्याऊ कराऊ

हामी कतै अँध्यारो सुरुङमा निसाफ खोज्नेछौँ

सुशासनको पत्रपत्र रहस्य खोतल्नेछौँ

म एक तमासले कुर्सीमुनि आगो सल्काएर

सिजोफ्रेनिक सपनाहरू नाच्नेछु।  

 

सुन एउटा उखान सुन

उखानै उखानले भरिएको निधार छाम

माने कानुन नमाने कागजको खोस्टो

चाहे कोट लगाएर बहस गर औषधि

चाहे कोट फुकालेर सडकमा बस

मैले एक क्रूर तानाशाहको गोप्य जीवनी पढिसकेँ

मैले सिजोफ्रेनियाको औषधि निषेध गरिसकेँ

आहा, अँध्यारो सुरुङको यात्रा

आऊ, भोलि निधारमाथि घाम उदाउला न उदाउला

निधारमा बाँधेको कात्रो काम लाग्ला या नलाग्ला

एकचोटि सँगै बसेर

पृथ्वीका सारा दुःखी मान्छेको नाममा

एक थान बहुलट्ठी सपना लिएर

सिजोफ्रेनिक तालमा नाचौँ गाऔँ

के थाह

अँध्यारो सुरुङको दुवै प्वाल बन्द पो भइसक्यो कि !

प्रकाशित: २८ चैत्र २०७७ ०३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App