१) ठूलो व्यापारी
गाउँमा बेखामानको साझा पसल थियो । सुपथ मोलमा गुणस्तरीय मालताल बेच्ने हुनाले टाढाटाढादेखिका मान्छेहरू त्यही पसलमा किनमेल गर्दथे । बिस्तारै गाउँमा जनसङ्ख्या बढ्दै गयो । बेखामानको पसलमा पहिलाको भन्दा झन् धेरै भीड लाग्न थाल्यो।
यही मौकामा विदेशबाट कोही ठूुलो व्यापारीले त्यहीँ नजिकै ठूलो पसल खोल्यो । उसले बेखामानको भन्दा अझ सस्तोमा सामान दिन थाल्यो । मान्छेहरू बेखामानलाई ‘ठग’ भन्दै विदेशी साहूको पसलमा जान थाले।
बेखामानको पसल पुँजीपतिसँग प्रतिस्पर्धा गर्न नसकेर दिनप्रति दिन सुक्दै गयो । एकदिन त बन्दै भयो । अब बेखामान बेरोजगार भयो । ऊ रोजगारी खोज्न अरब पस्यो।
यही मौकामा विदेशी साहूले कमसल र मिसावटयुक्त सामान चर्को भाउमा बेच्न थाल्यो । मान्छेहरूले थाहा पाएर पनि त्यहीँ किनमेल गर्न बाध्य भए ।
२) स्वार्थ
बगैँचामा फक्रिएको सुन्दर फूललाई भमराले चुमिदियो । फूल लजाएर निहुरिई । भमराले विजयीभाव अनुहारभरि ल्यायो । सधैँभरि भेटघाट गरिरहने वाचा कसम खायो । साँझपख उनीहरू छुट्टिए ।
भोलि बित्यो । पर्सि बित्यो । तर भँमरा आएन । फूललाई पीर लाग्यो । उनको आँसु बग्न थाल्यो । आँसु पातमाथि प¥यो । त्यो पातमा आँसुले वेदनाको पत्र लेख्न थाल्यो —प्रिय भँमरा, त्यस दिनदेखि मैले तिमीलाई हरपल सम्झिरहेछु । कहिले भेटौँ भनेर तड्पिरहेछु । अब म दुनियाँलाई मेरो पति भनेर तिमीलाई चिनाउन चाहन्छु । हाम्रो प्रेमको निशानी गर्भमा बढ्दै गरेको खुशी बाँड्न चाहन्छु । प्रिय छिट्टै भेट ! उही फूल”
त्यो आँसुले लेखेको पत्र कागले देख्यो । उसले चुच्चोमा च्यापेर भँमराकहाँ पु¥याइदियो । फूलको पत्र पढेर भँमराले प्रति उत्तर लेखेन । मात्रै यसरी भुनभुनायो —फूल प्यारी, मैले पनि त्यस दिनदेखि तिमीलाई बिर्सेको पो कहाँ छु र ! तिम्रो अङ्गअङ्गको चाललाई सम्झिरहेको छु । नसानसा हर धड्कनमा तिमीलाई पाएको छु । मेरै नसामा तिमी बसेकाले, तिमीलाई त्यहाँसम्म आएर भेटिरहनुपर्ने जरुरी देखिनँ । झन् तिमीले प्रेमको निशानीको कुरा गरेपछि त भेट्न मनै लागेन । के थाहा ? त्यो निशानी मेरो नभएर अरूको पनि हुन सक्दछ । त्यसैले अब तिमीले त के तिम्रो चिठीले पनि नभेट्ने ठाउँमा भाग्छु । बाई !”
भँमराले जवाफ लेख्ला र अनि फूललाई दिउँला भनेर बसेको काग; त्यो भागेको देखेर जिल्ल परयो ।
३) बाह्र वर्षमा खोला फर्कन्छ
नेपालका ठूल्ठूला नदीनालाहरूको सदुपयोग गर्ने योजना बन्यो । यहाँका प्रमुख सहरहरूमा काकाकुल अवस्था नआओस् भनेर पिउने पानीको साथै लोडसेडिङ नहोस् भनेर बिजुली ल्याउने रे । राजनेताहरूले भोलि नै आउँछ जस्तोगरी धेरै भाषण गरे । कतिले त यही योजना पूरा गर्छु भनेर चुनाव जिती मन्त्री समेत भए ।
तर कागजी घोडा मात्रै दौडने मुलुकमा, यहाँबाट सुरु गर्ने कि त्यहाँबाट सुरु गर्ने भनेर पाँचतारे होटेल फेरी–फेरी बैठक गरेरै बीसौं वर्ष बितेको पत्तै भएन । शहरमा पानी र बिजुलीको अत्याधिक माग बढेपछि बल्ल काम सुरु भयो । सुरु मात्रै के भाथ्यो, कुन्नि कुनकुन पार्र्टीले हो चन्दा नदिएको निहुँमा कामै रोकिदियो।
यसरी धेरै अवरोध झेलेर दसकौँ बितेपछि योजना पूरा भयो । शहरका घरघरमा धारा जडान भए । गल्लीगल्ली र चोकचोकमा बिजुलीका नाङ्गा तारहरू झुन्डिए । सबै खुशी भए; अब शहर पखाल्ने गरी पानी पाइने र लोडसेडिङ हट्ने भो भनेर।
तर यो खुसी दुई दिन पनि टिक्न सकेन । जलवायु परिवर्तनको कारण विश्व तापमानमा बढोत्तरी भएर हिमालमा हिउँ पर्नै छोडेछ । जसले गर्दा त्यहाँको मुहान सुक्न थालेछ । अब यो मुहान भरिन टारी खेतलाई जस्तै आकाशको भर पर्नुपर्ने भएछ।
योजना बनाउनेहरूको चैँ महल ठडेछ । मिनरल वाटरले नुहाउने–धुवाउने सबै गर्नसक्ने खुबी बढेछ । अनि आयातित इनभर्टरले लोडसेडिङ हटेछ । यसैलाई ‘बाह्र वर्षमा खोला फर्कन्छ’ भनेको यही हो भनेर मान्छेहरूले भन्न थालेछन्।
४) पकवान
एउटी गृहिणी हिन्दी टेलिसिरियल हेरेर मक्ख परिरहेकी छे । टीभीमा बुहारीको भूमिका गर्ने महिलाले मीठोमीठो खानेकुरा पकाउँछे । घरका सासू—ससुरा लगायत सबैले स्वाद मानीमानी खान्छन् । त्यो दृश्यले उसको पनि मुख रसाउँछ । मनमनै कल्पिन्छे — “आहा कस्तो मीठो ! म पनि यो भन्दा कम त के पकाउँछु र ?” केही वेरपछि उसको लोग्ने अफिसबाट फर्केर कोठामा पस्नासाथ सोध्छ —
“डढेको जस्तो के गन्हाएको ?”
गृहिणीको होस बल्ल खुल्छ । —
“ला ! दाल बसालेको डढ्यो जस्तो छ ।”
उसलाई व्यङ्ग्य गर्दै लोग्नेले भन्छ — टीभीमा यस्तैगरी पकाउन सिकाएको होला नि त !”
५) नवशहरीकरण
राजधानीको काठ क्षेत्रका डाँडापाखाहरूमा हरियो सुन फल्ने रूखहरू थिए । मान्छेहरूले ती रूखहरू काटे । डोजर लगाएर डाँडोलाई भत्काइ सम्म पारे । त्यहाँका रूखपातहरू सबै मासिए । चराचुरुङ्गीहरू बास खोज्न अन्त कतै जान बाध्य भए । वन बिरालो, स्यालजस्ता जनावरहरू आफ्नो वासस्थान मासिएकाले अरण्य रोदन गर्दै यत्रतत्र दगुरेको दृश्य साँझ–बिहानमा देखिन थाले । जग्गा सम्मिएर घडेरीमा विकसित भयो।
द्वन्द्व कालमा दुर्गम गाउँमा बस्न नसकेर राजधानी पसेका मान्छेहरूले, त्यहाँको पैतृक सम्पत्ति बेचेको पैसा र विदेश गएका छोरा भतिजाले कमाएका पैसा त्यस घडेरीमा हाले । केही समयपछि घर बनाए । गाउँघरको रूखविरुवाको यादलाई बिर्साउन दुईचार वटा विरुवाहरू गमलामा राखे । कसैले खाली भएको जग्गामा रूख रोपे । आफ्नो पुरानो थलोमा रूखविरुवाहरू देखेर केही कागहरू खुसी हुँदै उडेर आए । एउटा घरको खेर गएको जग्गामा गाडेको अग्लो रुखमा बसे । ती कागहरू एकैचोटि बस्दा रूख लच्किएर झन्डै भाँचिएको थियो ।
वास्तवमा त्यो हरियो सुन फल्ने रूख नभएर प्लास्टिकको रूख थियो । कागहरू एकछिन पनि नबसेर उडेर गए ।
प्रकाशित: २२ चैत्र २०७७ ०७:४३ आइतबार