१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

संगीतले डोर्‍याएको अनुरागी जीवन

भर्खर ११ वर्ष टेक्दै थिए, उनी। गाउँमा बिजुली बत्ती थिएन, सडक पनि पुगेको थिएन। बाग्लुङ, भकुण्डेस्थित बिबी अनुरागीको  घरमा गन्धर्वहरू सारंगी बोकेर आउँथे। सारंगीसंगै देशविदेशका गाथा सुनाउँथे।  

उतिबेला घटनालाई खबरका रूपमा गीत बनाएर गाउँने चलन हुन्थ्यो। गीत गाउँदै गन्धर्वहरू गाउँभरि घुम्थे, साथमा झोला बोकेर अनुरागीपनि संगै हिड्थे।  

गन्धर्वको झोला बोक्न पाउँदा उनी खुशी हुन्थे। गन्धर्वले गएको गीत सुनेपछि उनलाई पनि गाउँन रहर लाग्थ्यो। र, आफै लय भरेर गाउने कोसिस गर्थे,उनी।  

‘गन्धर्व दाईहरूले  गीत  गाउँदा रमाइलो लाग्थ्यो,’ उनले भने, ‘झोला बोके वापत सारंगी बजाउँन पाउँथेँ।’  तर उनी आफैँलाई थाहा थिएन, बाल्यकालमा टुसाएको संगीतको पालुवाले एक दिन पूर्णकालिन संगीतकार बनाउँछ भन्ने।  

नेपाली गीतसंगीत जगतमा उनको जति उचाइ सायदै अरू कुनै नेपाली संगीतकारको छ। संगीत क्षेत्रको गर्विलो नाम बनिसकेको छ, बिबिको। दुई दशकभन्दा बढी संगीतमा जीवन सर्मपण गरेका उनले दर्जनौं गीतमा संगीत भरिसकेका छन्।  

त्यतिबेला गाउँमा संगीत सिक्ने कुनै माध्यम थिएन। दाउरा घाँसर र मेलापात जाँदा उनी गीत गुनगुनाउँथे। टेलिभिजन देख्न पाइँदैनन्थ्यो। घरमा बुबाले किनेर ल्याएको रेडियो थियो। रेडियोमा नारायण गोपाल, तारा देवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधानलगायतका स्वरमा सुमधुर  गीतहरु बज्थ्यो। उनलाई पनि यस्तै रेडियो गीत गाउने रहर जाग्थ्यो।  

त्यसो त गाउँमा पञ्जेबाजा, सारंगी, बाँसुरी बजाउँन माहिर थिए, उनी। स्कुलको बाद्यबाधन कार्यक्रममा पनि भाग लिन्थे। हरेक कार्यक्रममा प्रथम भएरै घर जान्थे, उनी। स्कुलमा विजेता भएपछि सांगीतिक क्षेत्रमा लाग्न थप उर्जा मिलेको अनुभव उनी सुनाउँछन।

गाउँघरमा हुने नाचगानमा उनी छुट्दैनथे। गाउँमा मादल घन्किने र दोहोरी गीत रन्किने भनेपछि झरी, बादल कुनै कुराले पनि उनलाई छेक्दैन्थ्यो। दोहोरी गाउँन र मादल बजाउने जिम्मा उनैको हुन्थ्यो।  

घरमा बुबाले छोराका लागि भनेर ‘मादल किनेर ल्याईदिएका थिए। त्यसपछि मख्ख भएर स्कुल जान्थेँ । ‘त्यसपछि खुशी हुँदै मादल आफै बजाउन थालेँ। गीतसंगीतले मलाई सधैं आफूसँगसँगै तान्यो, कहिल्यै टाढा जान दिएन, झन नजिक बनायो,’ उनले भने।  

उनलाई गीत संगीतप्रतिको मोह जाग्दै गयो। सारंगीको धुनले उनलाई  मोहनी नै लगायो। उनलाई बाँसुरी बजाउन पहिलेदेखि नै मन पथ्र्यो। आफू सुत्ने कोठामा बाँसुरी राख्थे। आठ कक्षामा पढ्दा पढ्दै सारंगी बनाएर आफैले धुन निकाल्न थालिसेको थिए उनले।  

बिस्तारै उनलाई संगीतको लत बस्यो। अहिले बीबी अनुरागीबाट संगीतवृत्तमा प्रख्यात छन्। संगीतकारको नेपाली संगीत क्षेत्रलाई उचो बनाएका छन्।  

उच्च शिक्षा अध्ययनको लागि  पोखरा झरे उनी।  तर त्यसबेलासम्म संगीतको सुगन्ध भेटिसकेका थिए, उनले। पढाईसंगै गीतसंगीतलाई अघि बढाउने निधो गरे। कलेजसंगै विन्दवासिनी संगीत प्रशिक्षण केन्द्रमा पनि संगीत सिक्न थाले।  

जिन्दगी ठिकठाकै चलिहरेको थियो। पढाई र संगीतसँगै बढाईरहेका थिए। आवश्यक खर्च घरबाट पठाईदिएका थिए बुबाले। लगभग जीवनको यात्रा तय गर्दै थिए, उनी।  

तर ०५० साल मंसिर महिना उनको लागि कालो दिन बनेर आयो। बुबा अचानक बिरामी भएको खबर पाए, उनले। बुबाको उपचारको लागि पोखराको गण्डकी अस्पताल ल्याउनु पर्यो। बुबालाई बचाउँन सकेनन् ।  

त्यसपछि उनको जीवनले अर्कै मोड लियो।  ‘बुवाले ऋण धन गरेर ठूलो दुःख गरेर मलाई पोखरा पढ्न पठाउनुभएको थियो। अब उहाँ नै  नरहेपछि म निकै विचलित भएँ’, उनी विगत सुनाउँछन्, ‘मलाई एकछिन त अब मेरो कोही छैन जस्तै महसुस भयो। ठूलो दाइ भारतीय आर्मी भएकाले थोरै आर्थिक राहत मिल्यो। तर, घर व्यवहारको जिम्मा मेरै काँधमा आइपर्यो।’

उनलाई बुबा नहुनुको पिडा त छदै थियो। तैपनि हरेस खाएनन्। हिम्मत कसे। जसोतसो पढाई पूरा गरे। घरको कामसँगै भाई बहिनी हेर्ने जिम्मा पनि उनकै काँधमा। तर संगीतबाट उनी भाग्न सकेका थिएनन्। संगीतप्रति झन घनिभूत सम्बन्ध हुँदै गयो।  

उनी २०५१ सालमा रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र पोखराबाट आफ्नै शब्द र स्वरमा गीत रेकर्ड गरे। गीतको बोल ‘दुःखी मुहार आँसुले धुँदै, छोडे गाउँघर उज्यालो नहुँदै’ थियो। निकै मार्मिक बन्यो गीत। गीतलाई सबैले मन पराए। गाउँभरि चर्चा चल्न थाल्यो। पहिलो गाँसमै मिठो स्वाद भेटे। उनलाई गीतले दिएको चर्चासँगै माया पनि पाए। झन अर्को गीत निकाल्न हौसला मिल्यो।  

त्यसपछि उनले ‘मेरो माया नकुल्च त्यसरी’ बोलको गीत रेकर्ड गरे।  लोकपप शैलीको गीत। गीतले सोचे भन्दा चर्चा पायो। त्यसपछि संगीतमै रमाउने निधो गरे। त्यस गीतमा उनले आफ्नो नाम बीबी अनुरागी राखे।  

२०५५ सालमा राजकुमार बगरको ‘उडेर जून छुन्छु भन्थेँ’ गीतमा संगीत भरे। गीतलाई गायक रामभक्त जोजिजूले रेडियो नेपालको राष्ट्रव्यापी प्रतियोगितामा गाएका थिए। गीतले गायन र शब्दमा प्रथम भयो। गीतको चर्चासँगै संगीतकारको खोजी हुन थाल्यो। त्यसपछि संगीतमा आत्माविश्वस बढ्न थाल्यो।  

काठमाडौंमा गायक नारायण रायमाझीसँग भेट भयो। ०५९ सालमा काठमाडौं रिमा रेकर्डिङ स्टुडियोमा भेटेपछि  नारायणले उनकाे संगीत मन पराए। काठमाडौंमा आएका थिए उनी। उनलाई आफ्नो स्टुडियोमा ‘एरेन्ज’ गर्न काठमाडौं बोलाए।  

नारायणले उनलाई राम्रो तलब व्यवस्था गरे। त्यसपछि उनी पूर्णकालिन संगीतमा लागे। रिमा रेकर्डिङ स्टुडियो बिबिको लागि जीवनमा ‘टर्निङ पोइन्ट’ बन्न पुग्यो।

०६२ सालमा नारायणले स्टुडियो आफ्नै घरमा सार्ने भए। बबरमहलमा रहेको नारायणको स्टुडियो बीबीलाई दिए। उनले स्टुडियोको नाम प्रिज्मा रेकर्डिङ स्टुडियो राखे, प्रिज्माले अहिलेसम्म हजरौं गीत रेकर्ड गरिसकेको छ। नारायणले बिबीलाई ठूलो गुन लगाएका छन्।  

हालसम्म उनले लोकगीत, लोकप र चलचित्रका करिब १७ सय बढी गीतमा संगीत भरेका छन्। संगीत बुझेर, संगीतमै भिजेर आफ्नो जीवन नै संगीतमा समर्पित गरे, उनले।  

आज लोक दुनियाँका अब्बल गायक तथा सर्जकमा दरिइसकेका बिबि आफ्नो यात्राको सुरुवाती जस परिवारलाई नै दिन्छन्। यसरी गाउँमै सिकेर बजाएका वाद्यवादनले काठमाडौं आएपछि उनलाई स्थापित गर्यो।  

संगीतले दुःख बिर्साउँछ। मानिसको मनलाई सुरमा बाँधेर राख्ने शक्ति संगीतमा हुन्छ। ‘संगीत मानवीय संवेदना  र जीवनका हरेक परिस्थितिको सबैभन्दा प्रिय साथी पनि हो। संगीत बिनाको संसार उजाड र कुरूप हुन्छ’, उनले भने।  

संगीतले दुःख बिर्साउँछ। मानिसको मनलाई सुरमा बाँधेर राख्ने शक्ति संगीतमा हुन्छ। ‘संगीत मानवीय संवेदना  र जीवनका हरेक परिस्थितिको सबैभन्दा प्रिय साथी पनि हो। संगीत बिनाको संसार उजाड र कुरूप हुन्छ’, उनले भने।  

अहिले गीतसंगीतमा व्यापक परिवर्तन आएको देख्छन्, उनी। अहिले समय बदलिएको छ। पछिल्लो समय गीतसंगीतले स्रष्टा, सर्जक र कलाकारहरूलाई सोच्न बाध्य बनाएको उनी बताउँछन्। गीतलाई  ‘भाइरल’ बनाउने होडबाजीले नेपाली संगीतसंगीतको मर्म मर्दै गएको उनको बुझाई छ। नेपाली संगीतले सदाबहार गीत नपाउनुको मुख्य कारक नै ‘भाइरल’  रहेको उनी दाबी गर्छन्।  

‘क्षणिक समयका लागि ‘भाइरल’ बनाउनका लागि बनाइएका गीतहरू सुपरहिट होलान तर दीर्घकालिन हुँदैन्’, उनी भन्छन् ‘केही दिनमा नै तुरुन्तै अर्को गीत आउँछ त्यसलाई दर्शकले  बिर्सिन्छन्।’  

सर्जकले सिर्जना गर्दा ‘हिट’ बनाउन मात्रै होइन दर्शकलाई महसुस गराउने सिर्जना हुनुपर्ने उनको भनाइ छ। पछिल्लो समय सांगीतिक क्षेत्रमा पैसाले गायकगायिका हुनेहरूको भीड बढेको उनी देख्छन्। ‘आवाजलाई साधना र अभ्यासले भन्दा पनि प्रविधिको प्रयोग गरेर गीत गाउन सक्ने बाटो बनेको छ। जसले गर्दा राम्रा कलाकारहरू छायाँमा परेका छन, उनले भने।  

गायक/गायिका बन्न संगीत साधनाको आवश्यक पर्छ। जसले साधाना गर्दैन आफूलाई संगीतमा रमाउँन सक्दैन। संगीतलाई राम्रोसँग बुझेको हुँदैन्।  ‘संगीतमा रहरले मात्रै रमाउँन सकिँदैन’, उनी भन्छन्, ‘संगीतमा सधाना भयो भने मात्रै संगीतको मर्म बुझ्न सकिन्छ।’  

जीवनमा र्कममा बढी विश्वास गर्छन्, उनी। आज संगीतले दिएको उचाई कामबाट प्राप्त भएको ठान्छन्।

‘मान्छे जाति स्वभावले नै कुनै पनि कुराबाटै प्राय सन्तुष्ट हँदैनन्। जीवनमा गर्नुपर्ने धेरै कामहरू अधुरा छन्। गन्तव्य अझै धेरै टाढा छ। गीतसंगीतमै रमाउँन पाएको छु। आफूलाई भाग्यमानी सम्झेको छु’, उनले कुराकानीको विट मारे ।  

प्रकाशित: १९ चैत्र २०७७ ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App