१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

मुस्कान

लघुकथा

विकल मोबाइलसँग खेलिरहेका थिए । आमा उठिन् । बाथरुममा प्रवेश गरिन् । बाबु उठे । आङ तन्काउन थाले ।

–कति मोबाइलसँग खेलिराखेको छस् बाबु !

नुहाउने लगायतका नित्यकर्म सकेपछि बाथरुमबाट बाहिर आएर आमाले मायालु पारामा शब्दहरू खसालिन् ।

–होमवर्क गरिरहेको छु मामु !

मोबाइलबाट आँखा नहटाईकन जवाफ दिए विकलले ।

भान्साकोठामा प्रवेश गर्नु आमाको दिनचर्या थियो । चिया तयार गरिन् । अमलेट पकाइन् । पाउरोटी काटेर टुक्रा बनाइन् । टुक्राहरूका अन्तरमा अम्लेट राखिन् । प्लेटमा सजाइन् । डाइनिङ टेवुलमाथि राखिदिइन् ।

–ब्रेकफास्ट गर विकल छोरा ! गाडीले हर्न बजाउने बेला भयो । मन्टेश्वरीमा जान ढिला होला।

–हुन्छहुन्छ, आइहालेँ मामु।

आमा भान्सामै गइन्। तरकारी काटकुट पारेर कराईमा भुटभाट गरिन्। भात पकाउन चामल पखालिन् । त्यो पनि बसालिन् आगोको ज्वालामाथि। ब्रेकफास्ट गर्न भनेर डाइनिङ टेवुलमा गइन्। पतिले ब्रेकफास्ट गरेर गइसकेका रहेछन्। विकल भने मोबाइलमै खेलिरहेका थिए। विकल रमाउन त दिनदिनै रमाउँथे मोबाइलसँग। त्यो दिन अलि फरक तरीकाले रमाएको देखिन्। आमालाई, के हेरेको छ भन्ने लाग्यो। थाहा नपाउने गरेर पछाडिपट्टि गएर हेरिन् । उनीलाई आकाशबाट भुइँमा पछारिएजस्तो लाग्यो ।

–बेबकुफ ! केटाकेटीका नांगो फोटा हेरेर भुलेको रहेछ।

विकल खङ्ग्रङ्ङ भएर आमाका मुखमा हेरिरहे। एकछिनको मौनतापछि उनले मुख उघारे– हिजो राति मामुलाई ड्याडीले कुट्नुभएको रहेछ । मेरो पालो पनि मोबाइलले भिडियो खिचिदिएँ । अब बाबालाई पनि  गोदिदिन्छु  । बालसुलभ शैलीमा बोले विकल ।

आमाले लज्जावती मुस्कान छर्दै मोबाइलमाथि हमला गरिन् ।

प्रकाशित: १६ चैत्र २०७७ ०९:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App