तरकारीको लागि पासाले खेतमा आलु लगाएका थिए । यसपालिको आलुको फसल सन्तुष्ट हुँदा पासा धन्य भए । मौसमी खेतीबाट भन्दा तरकारी खेतीबाट सबै कृषकहरूको मनग्य कमाइ भयो । उनी लगायत बाँकी किसानहरू सन्तुष्ट देखिन्थे । आलु रोप्ने बेला मल नपाउँदा सबै कृषक पीडामा थिए । कृषि मन्त्रीका अनुहार हेर्ने र बोली सुन्ने इच्छा सबैको हरायो ।
आफूलाई खान दुईचार मुरी राखेर बैशाख लाग्दै पासा लगायत किसानले आलु बेचे । असारसाउन त्यही आलुले टर्यो । दशैँ नजिक आउँदै थियो । पुरानो आलु चाउरी परेर टुसै टुसा हालिसकेका थिए । खाँदा झनै गुलियो लाग्थ्यो । दशैँको पाहुनापाछा तथा नेवारी भोज... नयाँ आलु नभई भएन । आलु लिन तारामान राई र पासा लेक गए । बाटो भिरालो तथा घाँस नै घाँस थियो । पानी र हावाले छाता फर्कायो । ओत लाग्नलाई गाउँ आइसकेको थिएन । अघिअघि लागेका तारामान राई उफ्रेर एक्कासि चिच्याउन थाले।
पासाले वास्तविकता बुझ्न सोधे – का बेइमान? किन उफ्रेको ?
तारामान राई आत्तिँदै भने – लौन ! रगत नै रगत बनाएर खाएछ । कति सारो ढाडिएको हो ? चप्पल लाएर सिंहदबार पस्दा ख्याउटे थियो । निस्कँदा फुलेका गालाजस्तै भएछ ।
पासाले एकछिन सोचे अनि वास्तविकता पत्ता लगाउँदै बोले – बेइमानले जुका भनेको होला । तृप्त हुने भनेको जुका नै हो । सजीव दुःख गर्ने परजीवी चुस्ने ।
प्रकाशित: १३ चैत्र २०७७ ०४:०५ शुक्रबार