११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

नयाँ वर्षको शुभकामना

लघुकथ

१)  नयाँ वर्षको शुभकामना 

निउ इयर इभको रात । शहर नयाँ वर्ष गडगडाएर आउँदै थियो । स्वागतमा शहर बेहुलीझैं सिँगारिएको थियो । पुरानो वर्ष लुसुक्क निस्कँदै थियो । लुम्रे देखिन्थ्यो । दुवै सँघारमा भेट भए ।  

नयाँ वर्षले धक्कु लगाउँदै पुरानो वर्षलाई हेपेर भन्यो–‘हेर पुरानो वर्ष, तिमीलाई कसैले गुदानेका छैनन् । तिमी त खत्तम । अनि हेर त, मलाई कस्तो राम्रो भनेका छन् । मानेका छन् । सबैले शुभकामना बाँडेका छन् । रमाएका छन् । यो झिलीमिली देख्यौ, मेरा लागि हो । अँ साँच्चि तिमीलाई किन यति कुरूप भनेका छन् हँ मान्छेले ?’

पुरानोले पनि मलिन अनुहार लगाउँदै भन्यो–‘मलाई पनि गत साल तिमीलाई झैं सिँगारेका थिए । कस्ता मिठामिठा शब्दले पुकारेका थिए । मन नै आनन्द भएको थियो । तर, अब तिमी पर्ख न एक वर्ष, त्यसपछि थाहा पाउने छौ कि मलाई झैं तिमीलाई पनि मान्छेले कुरूप भन्ने छन् ।’

‘यस्तो किन हुन्छ हँ ?’ नयाँ वर्षले डराएरै जिज्ञासा राख्यो ।  

‘मान्छे आफू निकम्मा छ अनि दोष वर्षलाई दिन्छ । समयलाई दिन्छ ।’ नम्र भएर पुरानो वर्षले असन्तुष्टि पोख्यो ।  

‘अनि मान्छे किन त्यस्तो भएको होला हँ ?’ नयाँ वर्ष आत्तियो।

पुरानो वर्षले तत्व थाहा पाएझैं भन्यो– किनकि भगवानले बनाउँदा नै मान्छेलाई कृतघ्न बनाएको रे नि त । तपाईँलाई थाहा छैन ?

यी दुईको वार्ता सुनिरहेको सँघारले भन्यो – ‘म पनि यो वृद्ध शरीर लिएर नयाँ पुराना सालहरूसँगै युगयुग तगिरहेको छु । नयाँ साल भन्नु आशाको त्यान्द्रो हो । बाँच्नका लागि आशा नै मार्न भएन त साथी हो । क्या अर्ने ? म त बुझेर नै भन्दै छु – नयाँ वर्षको शुभकामना।

   २) सौतेनी माम्लो

न्यान्सीले ६ वटा बच्चा लस्करै लिएर आई ।

मैले उसलाई सोधेँ–  ‘यी सबै तिम्रा बच्चाहरू हुन् ?’

उसले सहजसँग भनी –  ‘हो, मेरै हुन् ।’

मलाई पत्यार लागेन र फेरि सोधेँ– ‘तिमीले नै पाएकी हौ र ?’

उसले जवाफ– दिई– ‘बायोलजिकली होइन । यी दुइटा मेरा मात्र हुन् । यी दुइटा मेरा लोग्नेका मात्र हुन्  र यी दुईटा हामी दुवैका हुन् । तर, यसले के फरक पर्छ र ? सन्तान भएन भने अनाथालयबाट त ल्याइन्छ । होइन र ?’

खसी भैसकेका कान्छा काकाले विधुर भएपछि कन्ने केटी बिहे गरे झ्याइँझ्याइँ बाजा बजाएर । त्यसबेला उनी ४५ वर्षका थिए । नयाँ कान्छी काकी १८ वर्षकी थिइन् ।  

काकीले लोग्नेका सन्तानलाई आफ्नै ठानेर जीवन बाँच्नु नै थियो । बाँचिन् । हाँसीहाँसी खेपिन् । समयको अन्तरालमा उनलाई आफन्तले, परकाले समाजले छिद्र खोज्दै सौतेनी आमाको पगरी गुताउन थाल्यो ।  

मैले एकदिन काकीलाई भनेँ– ‘काकी, तपाईँलाई सौतेनी आमा भनेर तल्ला घरमा कुरा काट्दै थिए ।’

काकीले भनिन्–‘काट्न देऊ बाबू । ल तिमी नै भन त, यो पापी समाज किन मलाई जति गरे पनि सौतेनी मात्र देख्छ ? मेरो सग्लो जीवन यो घरमा कुरवानी गरेको किन देख्दैन हँ ?’

  ३) दोबाटाहरू

चेल्सी र रोबर्ट भेट भए । चालिसको शैतान उमेर पार गरिसकेका थिए । चेल्सी डिभोर्सी थिई । रोबर्ट विधुर थियो ।  

चेल्सी र रोबर्टले गम्भीर विषयमा कुरा गर्न थाले ।  

चेल्सीले भनी– ‘जीवनको आधा बाटोमा भेट भएको छ ।  

रोबर्टले सहमति जनायो – ‘हो हामी इत्तफाकले आधा बाटोमै भेटिएका छौँ ।

—अब हामी सँगै हिँड्न सक्छौँ, तिमीले चाह्यौ भने ।  

—मलाई पनि एक्लै हिँड्न अकच लागेको छ । हामी सँगै हिँडे हुन्न र ?

—हाम्रो बाटो कति लामो हुन्छ हँ ?

—बेपर्वाह जुनीजुनी सँगै भए हुन्न ?

—त्यस्तो कहाँ हुन्छ ? कोरा कल्पनाले पनि हुन्छ र ? तर, के फरक पर्छ र ? तिमी छौ, म छु र संसार हुनेछ । हेर त, दोबाटो कति रमाइलो छ ।

केही वर्षपछि दोबाटोमा हल्लाखल्ला थियो ।

चेल्सीले रोबर्टलाई भनिन्– ‘अचेल तिमी मूलबाटो नहिँडेर चोरबाटो हिँड्दै छौ जस्तो लाग्दैछ ।’

उसले भन्यो– ‘म जीवित छु र हिँडेको छु । यो यथार्थ हो ।’

चेल्सीले जवाफ दिई– ‘जीवित त म पनि छु । म पनि चोरबाटो हिडौँ ?’

अझ– केही वर्षपछि उही दोबाटोमा।

चेल्सीले भनी– ‘हामी चोरबाटो हिँड्दाहिँड्दा फेरि दोबाटोमा आइपुगेका छौँ ।’

रोबर्टले भन्यो– ‘दोबाटोपछि फेरि चोरबाटो आइहाल्छ । किनकि मान्छे जे देखिन्छ त्यो होइन । जे खोज्छ त्यो पाउन्न ।’

चेल्सीले जवाफ दिई– ‘होला । तर, अहिले  हामी दोबाटोमा छौँ । छुट्टिने बेला भएको छ । अर्को आधाबाटो मलाई पर्खिरहेको छ । तिम्रो र मेरो बाटोले फेर खाएको छ ।’

घुम्तीमा रोबर्टले चेल्सीलाई भेट्यो र भन्यो– घुम्तीले हामीलाई फेरि एउटै बाटोमा ल्याइदिएको छ ।’

चेल्सीले भनी– ‘फेरि आधा बाटोमा भेटियौँ । सँगै हिँडौँ है । हामी सोचौँ कि हाम्रो यात्रा फ्रेस र भर्जिन छ । हेर त बाटो कस्तो रोमाञ्चक छ ।’

   ४) माग्नेहरू

त्यो माग्ने ।

क्यालिफोर्नियाको छोरीको एपार्टमेन्टको नजिकैको स्ट्रिटमा ऊ– बस्थ्यो । पुलमुनि सुत्थ्यो । ढिलो गरी उठ्थ्यो । आफ्नो कारलाई लिएर रेवन्ड मार्केट पुग्थ्यो । पार्किङको पैसा तिथ्र्यो । ट्राफिक लाइटमा उभिन्थ्यो । गाडी रोकिएको बेला गाडीको सिसा पुछिदिन्थ्यो । ब्यानर देखाएर माग्थ्यो । ब्यानरमा लेखिएको हुन्थ्यो–‘प्लिज गिभ मी वन बाटल अप– वियर ।’

दानीले पैसा दिन्थे । ऊ मार्केटभित्र छिथ्र्यो । बियर किनेर खान्थ्यो ।  

मैले एकदिन उसलाई सोधेँ– ‘भोकै छु भनेको भए धेरै पैसा दिन्थे होला नि त ।’

उसले जवाफ दिएथ्यो– ‘धत् सर ढाँट्नु हुन्न नि । जे चाहिएको छ त्यही माग्ने हो । मान्छेले नदेखे पनि जिससले त हेरिरहेको छ नि ।’

यो माग्ने।

विराटनगरको मेरो घरको छेउमा ऐलानीको छाप्रोमा बस्थ्यो । अलिकति अपाङ्गता थियो । गरिखान त सक्थ्यो । तर बिहान ढिलो उठ्थ्यो ।  रिक्सामा काली मन्दिरअगाडि पुग्थ्यो । कहिले घुँडा रङ्गाएर र कहिले कुहिनो रङ्गाएर बस्थ्यो । र चिच्याउँथ्यो–‘कालीके नाम पे भिख दिनु मालिक, आपका बहुत धर्म हुन्छ । चिताएको पुगिहाल्छ । कुछ खाएको छैन । हे अल्ला, हे भगवान्, हामीलाई  रोटी दे । भुख्लै छ हजुर ।’

दानवीरहरू दिन्थे । साँझपख ऊ फेरि रिक्सामा चढ्थ्यो । टोलको रक्सी भट्टीमा छिथ्र्यो ।  

अनि बर्बराउन थाल्थ्यो–

‘मान्छी बेवकुफ– छ । हामी भुख्लै छु भन्छ,ु पत्याइहाल्छ । बुरबक छ मान्छी ।’

अनि ऊ मान्छेलाई ठग्न सकेकोमा गर्व गथ्र्यो ।  

मैले एकदिन उसलाई भनेँ– ‘भगवानको नाम लिएर माग्ने अनि रक्सी खाने, धर्मको डर हुँदैन ?’

ऊ  पनि निकै मात्तिएको थियो सायद । भन्यो– ‘आप छोटामोटा माग्नेको बात कर्नुहुन्छ । बडा नेपाली माग्नेले त पशुपति आ लुम्बिनीको किरिया खाइलिन्छ ।  विकास करिदिन्छु भन्छ । झुक्याइहाल्छ । मागि लिन्छ । अनि फिकर नमानी आफ्नै झोली भरिलिन्छ  । भन्नु त, हो कि होइन ? बडा बात कर्नुहुन्छ !’

५) पीपलको सुस्केरा

दोबाटोको माथ्लापट्टिको डीलमा एमानको पीपलको बोट थियो । जुग खाएको थियो । कैयौँ हिउँदवर्षा खाएको थियो । बटुवाहरू बिसाउँथे । चिसो हावा खान्थे । मान्छे भन्थे–

‘यस्तो उधुम गर्मीमा यो रूख नभएको भए सकिन्थ्यो यो गाउँ ।’

र मृत्यु खोज्नेलाई पनि त्यो रूख सजिलो थियो ।  

बाटो हिँड्ने मान्छेहरू भन्थे–

‘यो रूख पापी छ । यसले कतिको ज्यान लियो, गन्ती नै छैन ।’

रूख सुन्थ्यो । चूपचाप लाग्थ्यो ।

पोहोर साल उर्मिलाको पोइलाई भएकै कसुर बात लाग्यो । पञ्च पुलिस बसे । खर्चपानी दिएर कसुर मिलाए । समाजले चूपचाप मान्यो । उसले मुटुमा किला रोपेर सही । सहनै पर्यो ।  

केहीपछि उर्मिलाको बलात्कार भयो । उसको कसुर थिएन । त,   लोग्नेले छोड्यो । माइतीकी हेला भई । समाजले लघार्यो । परिवेशले दप्कायो । साथीभाइले सोतारे । जिन्दगीले लतार्यो । जिन्दगीबाट हार खाई । पीपलको बोटमा फलिरहेको देखे । ऊ जिन्दगीको दोबाटोबाट हराई।

उर्मिलाको क्रियाभोज खाएर आएका एक हुल मान्छेमध्ये एउटाले त्यो पीपलको रूखलाई चोर औँला देखाएर भन्यो–  ‘यो पापी पीपलको बोटले फेरि एउटा चेली खायो ।’

पीपलको बोट बेस्सरी सुसायो । सायद भनिरहेको थियो होला– ‘ए समाज, उर्मिलाको पोइको बिहेभोजको पनि तारतम्य मिलाएर आयौ होइन ? उर्मिलाको क्रियाभोज त खायौ अझै बिनाहकमा कति चेलीको क्रियाभोज खान्छौ हँ ?’

प्रकाशित: १२ चैत्र २०७७ ०५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App