११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

त्यसपछि उनीहरू आएनन्

बालकथा

मलाई शान्त तलाउमा पौडी खेल्न औधी रमाइलो लाग्छ । चारो खाएर अघाएपछि म सधैँ तलाउमा जान्छु र अरू साथीहरूसँगै घुम्छु ।

तलाउका वरिपरि हरिया रूख छन् । साह्रै सुन्दर र शान्त छ वातावरण । मलाई यस्तो शान्त ठाउँ असाध्यै मन पर्छ । 

हामी हाँस जातिका चरा हौँ । सेता, काला र रङ्गिबिरङ्गी प्वाँखले बनेको मेरो शरीर साहै्र सुन्दर छ । म अलिअलि त उड्न सक्छु तर उडेर धेरै टाढा जान सक्दिनँ । पौडी खेल्न भने साहै्र सिपालु छु । पौडेर जति टाढा जान पनि सक्छु । शान्त तलाउमा पौडिन निकै मजा लाग्छ ।

एक दिन एक्लै तलाउमा पौडिरहेको थिएँ, त्यही बेला पारि किनारमा ठूलठूला चराहरू देखेँ । एकदुईवटा मात्र हो र ? कति धेरै ! तिनको माथिल्लो भाग सेतो र तल्लो भाग कालो थियो । खुट्टा पनि लामा थिए ।  

‘ओहो ! कस्ता अनौठा चरा !’ मनमनै भनेँ । यस्ता चरा मैलै यसअघि देखेको थिइनँ । तिनलाई देखेपछि डर पनि लाग्यो । सानो छँदा आमाले भनेको कुरा सम्झिएँ— ‘एक्लै कतै नजानू, चिल वा कौवाले देखे भने च्याप्प समाएर लैजान्छन् र मारेर खान्छन् ।’

‘ओहो ! आमाले भनेका चिल यिनै त होइनन् ?’ मनले भन्यो । डरले शरीर लुगलुग काप्न थाल्यो । त्यसपछि छिटोछिटो बाआमा भएतिर गएँ।

म हस्याङफस्याङ गर्दै आएको देखेर आमाले आत्तिँदै सोध्नुभयो— “के भयो ?”

सास बढेको हुनाले एकैछिन त म बोल्नै सकिनँ । केही नबोली परतिर देखाएँ।

 “ए, ती चराहरू देखेर डराएको ?” आमा हाँस्नुभयो ।  

आमा हाँसेको देखेपछि ‘ती चराहरू त्यति खतरनाक रहेनछन्’ भन्ने लाग्यो । म अलि ढुक्क भएँ ।

“यहाँबाट उत्तरतिर रुस नामको एउटा देश छ । त्यसको पनि उत्तरमा साइबेरिया भन्ने ठाउँ छ । यी चराहरू त्यहीँबाट आएका हुन् । यिनको नाम करयाङकुरुङ हो । यिनलाई मालचरा, कालचरा, तालचरा आदि नामले चिनिन्छ । साइबेरिया यहाँबाट धेरै टाढा छ ।” आमाले भन्नुभयो ।

“ती चराहरू चिल र कौवाजस्ता खतरनाक छैनन् त आमा ?” मैले सोधे ।  

“छैनन् । ती असल चरा हुन् ।” आमाले भन्नुभयो ।  

आमाका कुरा सुनेपछि मलाई उनीहरूसँग भेटेर कुरा गर्न मन लाग्यो ।  

 बालकथा संग्रह ‘चरीका रमाइला कथा’

–       –          –

“नमस्कार !” अर्को दिन बिहान पाहुना चराहरूको नजिक गएर भनेँ ।

“नमस्कार ! नमस्कार !” बडो हँसिलो पारामा उनीहरूले भने । उनीहरू हाम्रो भाषा पनि राम्ररी बुझ्दा रहेछन् ।  नौला देखिएकाले मैले पहिले भाषाकै बारेमा सोधेँ ।  

तीमध्ये एउटाले भने— “मान्छेको जस्तो देश र जातिपिच्छे हाम्रो भाषा फरक हुँदैन । हामी संसारभरिका चराहरू एउटै भाषा बोल्छौँ । फेरि हरेक वर्ष यहाँ आउने हुनाले पनि हामीलाई यहाँको रहनसहन नौलो लाग्दैन ।”

उनीहरूको कुरा रमाइलो लाग्यो।  

“त्यति टाढाबाट किन आउनुभएको नि ?” मैले जिज्ञासा राखेँ ।

“यतिबेला साइबेरियामा निकै जाडो हुन्छ । बाक्लो हिउँ पनि पर्छ । जाडो मौसममा हामी यस्तै न्याना ठाउँमा आउँछौँ । पछि यता गर्मी सुरु भएपछि फर्कन्छौँ ।” मुसुक्क हाँस्दै उनीहरूले भने।

“लामो बाटो उडेर आउन जान गाह्रो हुँदैन त ?”

“गाह्रो त हुन्छ नि ! तर, ठूलो बथान भएकाले रमाइलो हुन्छ । दशैं आउने बेलामा यता आउँछौँ, अनि काँक्रा, फर्सी लगाउने बेलामा फर्कन्छौँ । हामीलाई यस्तै तलाउ र सिमसार क्षेत्रमा बस्न मन पर्छ । मानिसहरूको सङ्ख्या बढ्दै जाँदा यस्ता क्षेत्र लोप हुँदै गइरहेछन् । यो हामी सबैका लागि चिन्ताको विषय बनेको छ ।”

“यो कुरा त मेरी आमा पनि भन्नुहुन्थ्यो । पहिलेपहिले यो तलाउ निकै परसम्म फैलिएको थियो रे । वरिपरिको जङ्गल पनि बाक्लो थियो रे । मान्छेले मास्दै गएर उजाड बनाएका रे ।” आपूmले जानेको कुरा सुनाएँ मैले।  

एक दिन आमासँगै चरिरहेको थिएँ । पर पाहुना चराहरू भएका ठाउँतिरबाट चर्को आवाज आयो। हामी झसङ्ग भयौँ । आमाले आत्तिँदै भन्नुभयो— “यो त बन्दुकको आवाजजस्तो छ !”

आवाज आएको केही बेरपछि पाहुना चराहरूबीच खैलाबैला मच्चियो । उनीहरू उडेर चारैतिर भागे । केही त हामी भएको ठाउँमा पनि आए ।

“के भएको हो ?” आमाले आत्तिँदै सोध्नुभयो ।  

“पापी शिकारीहरूले गोली चलाए । हाम्रा धेरै साथीहरूको ज्यान लिए । हामी बल्लतल्ल बाँचेर आयौँ । अब कसो गर्ने होला ? आफ्नो गाउँतिर फर्कने बेला पनि भएको छैन ।” पाहुना चराहरू निकै आत्तिएका थिए ।

“कहिले जाल थापेर अल्झाउँछन्; कहिले बन्दुकको निशाना लगाउँछन् । कस्तो जमाना आयो कुन्नि !” आमाले चिन्ता व्यक्त गर्नुभयो— “मानिसहरू सारा संसार हाम्रो मात्रै हो, हामीले जे गरे पनि हुन्छ भन्ने ठान्छन् । यसै गरी यो पृथ्वीको अस्तित्व नै मेट्न आँटिसके ।”

त्यस दिन म निकै डराएँ । खान पनि मन लागेन । राति आमासँगै टाँसिएर सुतेँ ।

त्यसरी बन्दुक पड्काउने र पाहुना चराहरूलाई मार्ने क्रम रोकिएन । हजारौँको सङ्ख्यामा आएका पाहुना चराहरूको सङ्ख्या घट्तै गयो । बाँचेकाहरू पनि डरले आत्तिएका थिए।

पाहुना चराहरूप्रति मान्छेले गरेको दुःखलाग्दो व्यवहार देखेर हाम्रा बाआमाले मन दुःखाउँदै सहानुभूति व्यक्त गर्नुभयो । आफ्नो इलाकामा भएको अचाक्लीप्रति क्षमायाचना पनि गर्नुभयो ।

बाँचेकाहरूले जाने बेलामा निकै चित्त दुःखाए । सँगै आएका साथीहरूसँग बिछोड भएकोमा उनीहरू सबै दुःखी थिए ।

“अब हामी फेरि आउँदैनौँ ।” हिँड्ने बेलामा उनीहरूले आँखाबाट आँसु झार्दै भने।

उनीहरूले भनेजस्तै हरेक वर्ष दशैंताक काँकुरकाँकुर गर्दै आउने करयाङकुरुङहरू त्यसपछि फर्केर आएनन् । 

 ( ‘चरीका रमाइला कथा’ बालकथा संग्रहमा संगृहीत !)

प्रकाशित: ११ चैत्र २०७७ ०५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App