प्रिय कमरेड
हिजो तिमीहामी
भेडी गोठमा, साधेको गुन्दुकसँग मकै खाँदै
चौरी गोठमा, तात्तातो कोदाको ढिँडो
गुन्द्रुक– भटमासको झोलमा चोब्दै
कुरा गर्थ्यौ वर्गीय युद्धको,
जातीय युद्धको
लैगिक समानताको,
अनि ,
सामन्तवाद र पुँजीवादको
त्यतिबेला न तिमीले कुर्सीको कुरा गर्थ्यौ
न उसले खाडीको तातो घामको कुरा गर्थ्यो
कुरा हुन्थ्यो त खालि
परिवर्तनको ,
किनकि
उसको तिम्रो र मेरो सपना एउटै थियो
तर आज
त्यो ठाउँमा पुगेपछि
बिर्सियौ गुन्दुक र ढिँडो
बिसिैयौ मकै – भटमास
अनि साथीसँगी
बोकेका झोला अनि देखेका सपनाहरू ।
हिजो तिम्रो छातीमा हानेको गोली छेक्ने मान्छे म
आज उमेर पुगेन
हिजो तिम्रो पैतालाको बम टिप्दा
बेरिङ र छर्राहरू बोक्ने मान्छे
अयोग्य भएँ म ।
प्रिय कमरेड
हामीसँगै हिँडेको
एक्लै बत्तीसतेत्तीस जना दुश्मन सिद्धाउने ती साहसी पवन
नेपाली एयरपोर्टमा चेकिङ छल्दै
शरीरभरि बमका छर्रा बोकेर
श्रम बेच्नु परेको छ खाडी मुलुकमा
‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ’
भन्दै जुरुकजुरुक बनाउने सञ्जिव
तीनतीन पटक किरिया सकिएर पनि
चौध वर्षको उमेरदेखि
ज्यानमाराको उपनाम पाएर हिँड्दै छ ,
... हरू छोराछोरीहरूलाई टुहुरा बनाएर
बाबुआमाको कोख रित्याएर
फ्रेम र भित्ताहरूमा सजिएका छन्,
अनि तिमी ठूल्ठूला उद्योगहरू खोलिरहेछौ,
निजी विद्यालय र अस्पतालहरू खोलिरहेछौ
अनि कुर्सीमा घुमिरहेका छौ
के हिजो हामी यसकै निम्ति लडेका थियौ त
हामी त आखिर लड्न नै जन्मेका रहेछौ
हिजो पनि तिमीसँगै लड्यौ
अब पनि तिमीसँगै लड्छौ
फरक यति हो
हिजो तिमी बचाउन लड्यौ
आज तिमीलाई... लाई लड्छौ ।
प्रकाशित: १० चैत्र २०७७ ०३:४९ मंगलबार