१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

शास्त्रीय संगीतमा अर्को पुस्ता खोइ ?

डबली

क्याप्शन

यसपालि नेपाली सांगीतिक समाजमा ठूलो क्षति भयो, गत फागुन २३ गते सरोदवादक मोहनसुन्दर श्रेष्ठ रहेनन्। उनको निधनले नेपाली संगीत जगत्मा पुर्‍याएको क्षति सही शब्दमा भन्ने हो भने अपूरणीय हो। अब उनको अभाव पूरा हुन गाह्रो छ।  

मोहनसुन्दर श्रेष्ठ, जसरी सरोदवादनमा एउटा इतिहास छन्, त्यसरी नै तबलामा रविनलाल श्रेष्ठको बराबरीमा अर्को कलाकार छैन। रविनलाल श्रेष्ठ अस्वस्थ भएर उपचार गराइरहँदा चारैतिर गुहारपुकार गरियो, उनी पनि रहेनन्। तबलावादनका अद्वितीय गुरु रविनलाल श्रेष्ठ पनि केही वर्षअघि खसे।  

तवलावादनमा रविनलाल श्रेष्ठजस्तै अर्को घनघोर नाम हो, होमनाथ उपाध्याय, उनी पनि रहेनन् दुई वर्षअघि। उपाध्याय बलिउडका प्रसिद्ध संगीतकार आरडी बर्मनका पाँच नेपाली वाद्यवादकमध्ये एक प्रमुख थिए। पछि बर्मनको समूहमा उपाध्यायको ठाउँ सामता प्रसादजीले बनाए।  

उपाध्याय र मोहन सुन्दरजी नरहेको समयका बीचमा नरेन्द्र बाटाजू फ्रान्समा बिते। नारायणगोपाल संगीतकोशबाट नारायणगोपालसित सांगीतिक सहकार्य गरेका वाद्यवादकमा गणेश भण्डारीपछि सम्मानित भएका एक अर्का अद्भुत प्रतिभा थिए, बाटाजू। पण्डित रविशंकरका प्रिय शिष्यमध्ये एक बाटाजूले नेपालभित्र भन्दा बढी नेपालबाहिर आफ्नो नाम बनाएका थिए, उनी पनि रहेनन्। गणेश भण्डारी, मोहनसुन्दर श्रेष्ठ, होमनाथ उपाध्याय, नरेन्द्र बाटाजू वा रविनलाल श्रेष्ठ शास्त्रीय संगीत र वाद्यवादनको इतिहासमा यस्ता नाम हुन्, यिनको नाम र पहिचान बन्न राष्ट्रले ठूलो लगानी गरेको छ। देशमा रंगशाला वा पुल बनेजस्तो यस्ता प्रतिभा एक वर्ष वा एक दशकमा बन्दैनन्।

शास्त्रीय संगीतमा एउटा पुस्ता तयार हुन एउटा युग लाग्छ, त्यो एउटा युग बन्न युगौँ लाग्छ। त्यो युगौँको इतिहास हामीले मात्र बनाएर बन्दैन, हामीसित सहकार्य गर्ने छिमेकी (हाम्रो प्रतिस्पर्धामा देखिने राष्ट्र) को पनि साथ चाहिन्छ। छिमेकी मुलुक भारत, पाकिस्तान र बंगलादेशसित लामो समयदेखि हाम्रो सांगीतिक एकताको अभियान जारी थियो।   

आज यिनको इतिहास तयार हुन समय, साधना र जीवन पानीजस्तो खर्चिएको छ। यिनले आफ्नो मेहनतले (अझै भनौँ आफ्नो जीवन अर्पण गरेर) संगीतको धरातल बनाएका छन्।  

एउटा रमाइलो घटना छ, प्रसिद्ध शास्त्रीय गायक रामप्रसाद राय, जो वीरगन्जमा संगीतको महाविद्यालय खोल्न चाहन्थे, उनको निधनको समय निकट हुँदै आएपछि उनी आत्तिए, सपना पूरा हुने नदेखेपछि उनले आफ्ना छोरा दत्तात्रय राय (जो संगीतमा थिएनन्) लाई भने, मेरो यस्तो सपना छ।  

छोरालाई संगीतमा रुचि त थियो, तर ज्ञान थिएन। संगीतका गुरु रायले निधन हुनुपूर्व आफ्नो जीवनको अमूल्य तानपुरा आफ्ना छोरा दत्तात्रयलाई नदिईकन आफ्ना शिष्य दीपक जंगमलाई उपहार दिँदै भने, ‘अर्को पुस्ता तयार होस्।’

अहिले पनि गायक संगीतकार दीपक जंगमसित आफ्ना गुरु रामप्रसाद रायले वरदान स्वरूप दिएको तानपुरा घरमा सुरक्षित छ। जंगमले पनि धेरै गायकगायिकालाई घरमा र कलेजमा संगीत सिकाइरहेका छन्। जंगमबाहेक गायिका संगीता प्रधान, गायक प्रभुराज ढकाल, मनमोहन थपलिया, गुरुदेव कामत, चन्दन श्रेष्ठ आदि संगीत सिकाउँदै छन्। गायक गायिका जन्मिँदैछन्, प्रश्न यति हो, ‘शास्त्रीय संगीतमा अर्को पुस्ता तयार छ त ?’ यो प्रश्न गम्भीर छ।  

शास्त्रीय संगीतमा एउटा पुस्ता तयार हुन एउटा युग लाग्छ, त्यो एउटा युग बन्न युगौँ लाग्छ। त्यो युगौँको इतिहास हामीले मात्र बनाएर बन्दैन, हामीसित सहकार्य गर्ने छिमेकी (हाम्रो प्रतिस्पर्धामा देखिने राष्ट्र) को पनि साथ चाहिन्छ। छिमेकी मुलुक भारत, पाकिस्तान र बंगलादेशसित लामो समयदेखि हाम्रो सांगीतिक एकताको अभियान जारी थियो। भारत, पाकिस्तान, बंगलादेश सिंगो एक राष्ट्र हुँदा त्यहाँ विभिन्न किसिमका दरबार र घराना थिए– जयपुर दरबार, ग्वालियर दरबार, अवधको दरबार। ती दरबार र नेपालको राजदरबारका बीच सांगीतिक सहकार्य र प्रतिस्पर्धा कायम थियो। भारतका प्रसिद्ध संगीत मार्तेण्डय पं. ओमकारनाथ ठाकुर आउँदा यहाँका उस्ताद बद्रीको आवाज सुनेर चकित भएका थिए र उनले भनेका थिए, ‘यी उस्तादलाई बचाउन नेपाल सरकारले यिनको दानापानीको जिम्मा लिनुपर्छ।’  

संगीतमा त्यस्ता उस्ताद थिए, हाम्रा डिल्लीबजारका बद्री। उस्ताद बद्रीजस्तै अरू धेरै उस्ताद थिए त्यतिवेला– उस्ताद साइँला, नानक मिश्र आदि। नानक मिश्रको परिवारले भारतमा पनि पछि खुब नाम राखे। त्यही मिश्र परिवारकी एक चेली मीरा राणा (मिश्र) अझै पनि संगीत जगत्का आदरणीय गायिका मानिन्छिन् भने उनका भाइ खलक राजन मिश्र, साजन मिश्रले भारतमा अहिले शास्त्रीय संगीतमा धुम मच्चाइरहेका छन्।  

जुद्धशमशेरको शासनकालमा उस्ताद बद्री थिए। उनीपछि कति आए। तर शास्त्रीय संगीतको अर्को पुस्ता जोगिन सकेन।  

त्यतिवेला नेपालको दरबारमा होस् वा पाल्पाको दरबारमा, संगीत सिकाउन भारतको ग्वालियर दरबार वा जयपुर दरबारबाट गुरु झिकाइन्थ्यो। तत्कालीन नेपालका राजा त्रिभुवनलाई संगीत सिकाउन कलावन्त घरानाका शास्त्रीय गायक अजिम खानलाई नेपाल झिकाइएको थियो। पछि भारतमा दरबारमा सांगीतिक सम्मेलन हुने भएपछि उनलाई फिर्ता बोलाइयो। पाल्पाको दरबारमा संगीतका गुरुका रूपमा रहेका खेमचन्द प्रकाश जब भारतको बम्बई फिल्म उद्योगमा संगीतकार बन्न गए, उनका शिष्य उस्ताद गोविन्दलालले रेडियो नेपालमा शास्त्रीय संगीत थामेर बसे। उस्ताद गोविन्दलाल, संगीत प्रवीण नरराज ढकाल, संगीत शिरोमणि यज्ञराज शर्मा अर्याल, शम्भुप्रसाद मिश्र, भजन शिरोमणि विनायक शमशेर, साम्वदेव शर्मा आदिले एउटा युग तयार पारे, तर बिस्तारै अर्को पुस्ता बन्न गाह्रो भयो। यो अवस्था हाम्रो मात्र होइन, हाम्रै छिमेकी मुलुक भारतमा पनि त्यही भएको अहिले।  

भारतमा शास्त्रीय संगीत  

भारतमा शास्त्रीय संगीतको अहिलेको अवस्था हेर्दा फिल्म उद्योग र शास्त्रीय संगीतका सभा–समारोहले मात्र थामेको छ, नयाँ पुस्ता तयार हुन निकै कठिन भइरहेको ‘आउटलुक’ पत्रिकाको एक सर्वेक्षणले बताएको छ।  

भारतमा शास्त्रीय संगीतका धरोहर पं. भीमसेन जोशी, सितारवादक पं. रविशंकर, बाँसुरीवादक हरिप्रसाद चौरसिया, सरोदवादक उस्ताद अलि अकबार खाँ, शास्त्रीय गायिका किशोरी अमोनकर, गायिका गंगुबाई हंगल, पं. जसराजको निधनपछि शास्त्रीय संगीत अभिभावकविहीन भएको छ।  

यसबारे प्रसिद्ध सन्तुरवादक पं. शिवकुमार शर्माले भनेका छन्, ‘हरेक प्रस्तोता वा कलाकार एउटा सक्षम गुरु हुन सक्दैन। धेरै जनासित धैर्यपूर्वक सिकाउने क्षमता पनि हुँदैन।’  

हिन्दी चलचित्र ‘सिलसिला’, ‘लम्हे’, ‘चाँदनी’मा बाँसुरीवादक हरिप्रसाद चौरसियासित मिलेर शिवहरि नामबाट संयुक्त संगीत गरेका शिवकुमार शर्मा खानदानी संगीतकार हुन्। उनले नेपालका धेरै पहाडी राग पनि भारतमा पुनप्र्रयोगमा ल्याएका छन्। शास्त्रीय संगीत धराशयी हुनुमा शर्मा गुरु पक्का नभएको दाबी गर्छन् भने भारतमै कैयौँ कलाकार शिष्यमा लगन नभएको पनि दाबी गर्छन्। तर, आउटलुकको सर्वेक्षणले भारतका ठुल्ठूला सहरमा संगीत सिक्न अभिभावकले आफ्ना सन्तानका निम्ति पाँच लाख रूपैयाँसम्म खर्च गर्ने गरेको देखाउँछ। शास्त्रीय संगीत बचाउ नहुनुमा दर्शकको रुचि घट्दै गएको दाबी पनि केही कलाकारको छ। प्रसिद्ध सितारवादक देवु चौधरी, जसले नेपाली फिल्मका निम्ति धेरैपटक सितार बजाएका छन्, उनी भन्छन्, ‘दर्शक भड्किँदैछ। पहिले त दर्शक श्रोता एउटा एउटा नोट पक्रन्थे।’ चौधरीको भनाइमा सहमति जनाउँदै नेपालकी शास्त्रीय गायिका शकुन्तला श्रेष्ठ भन्छिन्, ‘हामीकहाँ झन् शास्त्रीय संगीतमा दर्शकको कुनै चाह देखिँदैन। पास दिएर बोलाए पनि आउँदैनन्। दिक्क लाग्छ।’ भारतको बरौदास्थित महाराज सयाजी राव युनिभर्सिटी संगीतमा स्नातक गरेकी श्रेष्ठ सक्रिय रूपमा संगीत सिकाउँदै र गाउँदै आएकी एक कुशल गायिका हुन्।  

शास्त्रीय संगीतको इतिहासमा भारतमा आएको यो वितृष्णाका कारण नयाँ पुस्ता तयार हुन गाह्रो परेको संगीत प्रवद्र्धक अरिन्दम मुखर्जी यो कुरा स्वीकार गर्छन्। उनी भन्छन्, ‘पाटियाला घरानाका उच्च कोटिका गायक उस्ताद बडे गुलाम अलि खानले आफ्नो विरासत बचाउन आफ्नै छोरा मुनब्बर अलि खाँलाई तयार पारे। मुनब्बरले आफ्नो क्षमता र पहिचानमा केही वर्षअघि बढाए। उनको निधनपछि अजय चक्रवर्ती पाटियाला घरानाका अनुयायी भए। अहिले अजय चक्रवर्तीकी छोरी कौशल्या चक्रवर्ती यस घरानालाई ज्युँत्युँ बचाउँदै छन्।  

संगीतमा यो अवस्था भारतीय शास्त्रीय संगीतमा दर्दनाक भएर देखापरेको छ, सन् २००४ मा दिवंगत भएका उस्ताद बिलायत खानको निधनपछि उनका जेठा छोरा शुजात खानमा संगीतमा ज्ञानको कमी भएका कारण हेदायत खानले सम्हाले। बाँसुरीवादक निखिल बनर्जीको अवस्था त्यही छ।  

अहिले भारतको शास्त्रीय संगीतमा पं. रविशंकरको निधनपछि अर्को पुस्ताको खोजी गरिँदैछ, यद्यपि उनकी छोरी अनुष्का शंकर पनि मैदानमा छन्, उनका शिष्य पार्थसारथीले पनि विरासत थाम्दै छन्। नयाँ पुस्ता तयार हुन निकै गाह्रो भएको यो अवस्थाका बारेमा शास्त्रीय गायिका गिरिजादेवी भन्छिन्, ‘आजकाल हावा नै खराब छ। युवालाई फ्रस्ट्रेसनले टाढा लैजाँदै छ।’ बाँसुरीवादक हरिप्रसाद चौरसियाको निधनपछि उनका भतिजा राकेश चौरसियाले सम्हालेका छन् भने उनका शिष्या रूपक कुलकर्णी पनि सक्रिय छन्। चौरसियाका शिष्य भनेर चिनिने नेपालका प्रेम राना औतारी सुरसुधामा आबद्ध थिए।  

चौरसियाका समकक्षी पं. शिवकुमार शर्मा अहिले पनि सन्तुरवादनमा सक्रिय छन्। उनले राहुल शर्मालाई तयार पारेका छन्। त्यस्तै, शिष्य सतीश व्यास पनि साधनारत छन्। सरोदवादक उस्ताद अलि अकबर खानको विरासत छोरा आशिष खान र शिष्य केन जुकरम्यानले सम्हालेका छन्।  

आफ्ना छोराबाहेक अरू नदेख्नु प्रायः गुरुको गल्ती मानिन्छ, यसबारे आफ्नो धारणा राख्दै सरोदवादक बुद्धदेव दास गुप्ता भन्छन्, ‘नयाँ पुस्तामा धैर्यताको अभाव छ। जोकोही एक–दुई वर्षमै स्टेज थर्काउन चाहन्छ। हाम्रो समयमा १५–२० वर्षको तालिम र गुरुको अनुमतिपछि मात्र मञ्चमा उक्लन पाइन्थ्यो।’ अहिलेको स्थितिमा भारतीय शास्त्रीय गायनमा पं. भीमसेन जोशीको किन्नर घराना सम्हाल्ने अर्को पुस्ता माधव गुडीमा सरेको छ, तर माधव गुडीपछि को भन्ने प्रश्नको जवाफ बाँकी छ।  

जोशीकै समकालीन पं. जसराजको यही कोरोना कालमा मुम्बईमा निधन भयो। जसराजका शिष्यका रूपमा उनको विरासत सञ्जीव अभ्यंकरले सम्हालेका छन्। अर्का नेपाली मूलका चर्चित गायक मुरलीधर मिजार पनि मैदानमा छन्। मुम्बईमा नामदाम बनाउँदै गरेका मुरलीधर फिल्म संगीत र गजल गायनमा लागेपछि गुरु जसराजले निराशा व्यक्त गरेका थिए। शिष्यमा आस नभएजस्तै गुरु पनि अहिले पक्का देखिँदैन। उस्ताद बिलायत खाँले भनेका छन्, ‘हामी रियाज तानको आधारमा गथ्र्यौं, नम्बरको आधार होइन। हामी त मैनबत्ती बलेको आधारमा अभ्यास गथ्र्यौं। समय त्यस्तो थियो।’

नेपालमा शास्त्रीय संगीत  

नेपालमा शास्त्रीय संगीत अध्ययन गर्न पहिलेदेखि भारतको कलकत्ता, पछि मुम्बई जाने प्रचलन सुरु भयो। नेपालका प्रसिद्ध गायक नारायणोपाल गुरुवाचार्यले भारतको बरौडाको महाराज सियाजी राव युनिभर्सिटीमा शास्त्रीय संगीत सिके, तर उनले शास्त्रीय संगीत छाडेर आधुनिक गायनतिर आफ्नो बाटो बनाए।  

गायक मुरलीधर, उदीतनारायण झाले मुम्बईको भारतीय विद्या भवनमा छात्रवृत्ति पाएर शास्त्रीय संगीत सिके पनि दुवैले पछि आधुनिक र फिल्म गायनमा आफ्नो बाटो बनाए।  

शास्त्रीय गायिका शकुन्तला श्रेष्ठले भारतमै शास्त्रीय संगीत सिकेर आएर यहाँ कलेजमा पढाउन थालिन्। संगीत प्रवीण नरराज ढकालले कलकत्तामा संगीत सिकेर आए। उनको निधनपछि उनका छोरा प्रभुराज ढकालले यो विरासत सम्हालेका छन्। प्रभुराज ढकाल मात्र एक यस्ता शास्त्रीय गायक हुन्, जसका अहिले नेपालमा धेरै शिष्य छन्।  

ध्रुपद गायनमा नेपालमा धेरै थोरै कलाकार छन्, त्यसमध्ये विष्णु शर्मा, विशाल भट्टराईले अहिलेका पुस्ता सम्हालेका छन्। शास्त्रीय संगीतलाई बचाउन नेपालमा यसको संरक्षणका निम्ति कुनै पहल देखिँदैन, तर निजी क्षेत्रबाट विगत दश वर्षदेखि ललितपुरस्थिति यलमाया केन्द्रले यलमाया क्लासिक गर्दै आएको छ। काठमाडौं जय वागेश्वरीमा किरातेश्वर संगीत आश्रमले पनि यसको निरन्तर पहल गर्दै आएको देखिन्छ। नयाँ पुस्ता तयार पार्नमा तबला वादक सरिता मिश्रको अतुलनीय योगदान छ। सरिता मिश्रबाहेक कपन संगीत सरोबरका परशुराम पौडेलको पनि अहं भूमिका छ।  

शास्त्रीय संगीतमा अन्तर्राष्ट्रिय जगत्मा ख्याति कमाएका तारावीर सिंह कंसाकारले नयाँ पुस्ता तयार पार्न सकेको देखिँदैन। शास्त्रीय संगीतको बचाउमा अति सक्रिय भूमिका निर्वाह गर्ने अतुल गौतमको निधनपछि सुकर्म समूहका स्तम्भ ध्रुवेशचन्द्र रेग्मी र उनका समकक्षी नयाँ पुस्ता तयार पार्नमा जोडतोडले लागेको देखिन्छ। त्यस्तै, इन्दिरा कलानिधि संगीत विद्यालयमार्फत धनबहादुर गोपालीले भव्य र सभ्य रूपमा नयाँ पुस्ताको निर्माणमा गरेको योगदान विशिष्ट शैलीको छ। शास्त्रीय सगीतमा नयाँ पुस्ता खोज्दा हातमा गन्न सकिने नाम मात्र बाँकी छ, तीमध्ये धेरैलाई चलचित्र गीत र आधुनिक गीतले बढी तानेको देखिन्छ। यिनीहरूमा रमेश पोखरेल, सुजाता बर्मा, जेनिशा गौतम, सुगमा गौतम आदिबाट आशा गर्न सकिन्छ, तर बाटो सजिलो छैन।

प्रकाशित: ७ चैत्र २०७७ ०६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App