११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

आशावादी र नाटक

 ममता मृदुल

 

मान्छेले आफूभित्रको मानवीय संवेदना कतिले बुझ्छन् बुझ्दैनन्  थाहा छैन्। मान्छेका रहर पनि अरूसँग नमिल्न सक्छ । मनभित्रका उकुसमुकुस कहाँ पोख्ने थाहा हुँदैन। सबैको नजरमा सम्पूर्ण भएको मान्छे पनि पूर्ण हुँदैन । जीवनको धरातलमा सधैँ मुस्कुराउनेले एक्लै हुँदा कति रोएका होलान् ।  कैयन जीवन बोक्ने एउटी शिक्षित ,पदीय  जिम्मेवारी  बोकेकी नारीले आफ्ना पीडा पोख्ने ठाउँ कहाँ छ ।  आफन्त र समाजको डर भित्र रुमलिदा कहिले आफू हराएको थाहा नै हुँदैन । जब केही बोल्नै पर्छ भन्ने सोच मनमा आउँछ त्यो समयसम्म धेरै ढिलो भैसकेको हुन्छ । उसको जीवनका अनमोल पल सँगालेर राख्न नसकेर छरिन्छ , पोखिन्छ । पोखिएको समयलाई उठाउने क्षमता सबैमा हुँदैन । भए पनि सबै उठाउन सकिदैन । आज त्यही पोखिएको पललाई समेटेर उठाउने कोसिस कतिले गर्दै होलान् । कति उठाउन सक्छन् अथवा सक्दैनन्  थाहा छैन्। मलाई  लाग्छ यस्तै जीवन बोकेर नाटकको जन्म हुन्छ ।

जीवनको चर्को घाममा तापिएर कति हिँड्न सकिन्छ भन्ने वास्ता नगरीकन हिँड्ने यात्रीको रूपमा नाटक मन्चन गर्दै हिँड्ने सबैको मन मोहित पार्ने नाटककार चतुर्भुज आशावादीलाई प्रस्तुत गर्ने आँट गरेकी छु । पोखिएको पानी उठाउने आँट गरेर मैले लेख्दै छु ।

नेपाल र नेपालीपनको आभास हरपल गराउनु हुने कलाकारलाई हामीले कहिले बिर्सन नसक्ने रहेछौँ । म नौँ वर्षकी थिएँ । हामी विराटनगरको गहेली टोलमा बस्थ्यौ । गहेलीटोल कलाकारसँग सधैँ जोडियो । स्कुल छुट्टी भएपछि लुगा फुकालेर हतार हतार विरेन्द्र सभागृह जाने नियमजस्तै थियो । सधैँ सबै नाटक हामीले हेरेका हुन्थ्यौ । अनगिन्ती कलाकारको भिडमा एउटा छुट्टै व्यक्तित्व हामीसामु अदवका साथ झुल्किनुहुन्थ्यो । मोटो शरीर भए पनि फुर्तिलो लाग्ने सरल तरिकाले नाच्ने आदरणीय व्यक्ति चतुर्भुज आशावादी सधैँ सानदार तरिकाले प्रस्तुत हुनुभयो ।

नेपाली भाषा साहित्यमा पनि उहाँको योगदान हामीले भुल्न सक्दैनौँ । २०१४ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेतृत्वमा भएको भाषा आन्दोलनमा सक्रिय भएर लागेपछि चतुर्भुज आशावादी सांस्कृतिक क्षेत्रमा सक्रिय भएर लाग्नुभएको हो । राष्ट्रको पहिचान लोक नृत्यले गराउछ । लोकसंस्कृति हरेक राष्ट्रको गौरव गर्ने आधार हो ।  लोक नृत्य संस्कार र संस्कृतिप्रतिको लगावले  सबैसामु प्रस्तुत गर्नु गर्वको कुरा हो । 

उहाँले सडक सांस्कृतिक कार्यक्रमको सुरुवात गर्नुभएको थियो । मन्च नै किन चाहियो हामीले कला जहाँ जहिले पनि देखाउन सक्छौ भन्ने विचारका धनीले सबै साचोमा आफूलाई ढाल्न सक्छन्। 

नाटक र विराटनगर भन्ने कुराको चर्चा हुँदा चतुर्भुज आशावादीको अनुहार हाउभाउ नयनमा चलचित्रझै आउँछ। मेरो बाल्यकालकलाकार, चित्रकार र साहित्यकारको वरिपरि बितेको छ । म रंगमन्चको नजिक थिए । अर्थात् मेरो अहोभाग्य म विराटनगरको मुटुमा थिए । मैले धान रोपेको देखिन तर नाटक जन्मेको देखे । धेरै माथिल्लो तहमा पुगेका कलाकारको पहिलो नृत्य र नाटकमा गरेको अभिनय मैले देखेकी छु । मनोहरि थापा  या दिपाश्री निरौलाका नाटक र नृत्य मैले हेरेकी छु । भैरव क्षेत्री, वसन्त शर्मा, विशाल पोखरेल, राधा, शेखर चापागाई , खेम नेपाली जस्ता कलाकारको सुरुवात मैले देखेकी छु । म सानी थिएँ तर कला र साहित्य मेरा पुतलीको र खेलौना थिए । मैले भाँडाकुटी खेल्ने मौका नै पाइन ।

सपनाको बिहे गीति नाटक थियो । मनोहरि थापा नायक र राधा नायिका भएको सपनाको बिहे गीति नाटक धेरै समयसम्म चल्यो । यो नाटकमा माया पौडेलले आमाको भूमिका निर्वाह गर्नुभएको थियो । चतुर्भुज आशावादीले हठी बाबुको भूमिका निर्वाह गर्नुभएको थियो । असफल भएको प्रेम कथामा आधारित यो उत्कृष्ट नाटक थियो ।  

विराटनगरमा नाटकको इतिहास हेर्दा भानु  मोरङ सांस्कृतिक समिति २०१९ सालमा स्थापना भएको देखिन्छ । पछि २०३७ सालमा भानुकला केन्द्र नामबाट कार्यक्रम गर्न थालियों ।  

चतुर्भुज आशावादी नाटकहरूभित्र धेरै रमाउनुभयो ।  जीवनसंगिनी र छोराछोरीलाई समेत सिकाउँदै जानुभयो । उहाँले आफ्नो जीवनमा यस्ता नाटक अभिनय गरिरहनुभयो । पृथक्– पृथक् गोलार्द्ध , विद्यार्थी , रक्सी , छिप्पिएको दुखाइ (नेपाली ) ज्वाइलकनकनी (मैथिली) , पुस जाड कि माघ जाड (मैथिली ) , आगो दन्किरहेको छ , नाटकभित्रको नाटक , सतारको बिहे (डकुड्रामा ) , शिवपुरिया आतंक आदि नाटकहरू पूर्वको मुख्य शहरहरूमा देखाइएको थियो ।

मुनामदन र के सक्कली के नक्कली त्यस बेलाको चर्चित नाटक थिए । चतुर्भुज आशावादी जन्मेको नाटकका लागि जस्तो लाग्दथ्यो भन्ने धेरै नाटक मन पराउने व्यक्तिहरूले भनेको सुनिन्थ्यो । 

नेपाली भाषामा मात्र नभई विभिन्न भाषामा नाटक देखाएर महिनौसम्म निस्वार्थ भावले मनोरन्जन दिन सजिलो थिएन । आफू मात्र नभई आफ्नी जीवन साथी माया पौडेललाई पनि साथमा अभिनय गर्ने हौसला दिनुभयो । कला क्षेत्रलाई मन्दिर मान्ने आशावादी कलाकारलाई देवता मान्नुहुन्थ्यो । मान्छे भएर जन्मेपछि समाज परिवर्तनको आँट गर्नुपर्छ । विकृतिविसंगतिलाई हटाउनुपर्छ । सांस्कृतिक सचेतना फैलाउनुपर्छ । यहाँ कालो गोरो कोही हुन हुँदैन । सबै समान हौँ भन्ने सोचका धनी चतुर्भुज आशावादी मंसिरमा जन्मे पनि आफ्नो जन् म दिन होलीमा मनाउनुहुन्थ्यो । रंगमा भेदभाव छैन भने मान्छेमा पनि गर्न हुँदैन भन्नुहुन्थ्यो । 

समाज परिवर्तनको विगुल फुक्न सजिलो छैन् । हामीलाई सानो परिवर्तनका कुरा गर्न आज त सजिलो छैन । त्यसबेला जातधर्ममा समानता खोज्ने समाजका अग्रणी पुरुष चतुर्भुज आशावादी सधैँ आदरणीय भएर हाम्रोसामु उभिनुभएको छ ।

प्रकाशित: ७ चैत्र २०७७ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App