७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

व्यावसायिक गन्तव्य खोज्दै मिथिला लोकचित्र

‘मिथिला लोकचित्र’ले एउटा विशेष प्रकारको चित्र प्रणालीलाई इंगित गर्छ, जुन महिलाहरूले घरघरमा कोर्ने चित्रसँग सम्बन्धित छ। ग्रामीण क्षेत्रमा परम्परागत रूपमा महिलाकै हातबाट घर, टाट (पर्खाल)मा समयानुकूल चित्र बनाइन्थ्यो, त्यो चित्र के हो भनी बनाउनेलाई पनि थाहा थिएन। महिलाले आफ्नो मनमा उठेका स्वाभाविक कल्पना तथा उद्वेगलाई घरकै सामग्रीबाट लेप तयार गरी विभिन्न स्वरूपमा उतार्थे। यस्ता चित्र सामान्यतः बिहे, घरमा हुने सत्यनारायण भगवान्को पूजा, अन्य व्रत–त्योहार, परम्परागत सांस्कृतिक विधि–विधान आदिमा लेख्ने चलन थियो।  

यो क्रम दशकौँ चल्यो। घर–आँगनलाई सुन्दर, आकर्षक बनाउन लेखिने यी चित्र मात्र शोभाका वस्तु हुन्थे। यसमा न कुनै अर्थ हुन्थ्यो, न कुनै किसिमको प्रतीकात्मक विम्ब। वश, भुइँ र भित्ता हुन्थे। त्यसमा अबोध मानसिकता कल्पेका देवीदेवता पनि हुन सक्थे। न रङको संयोजन, न रूपको व्यवस्थापन। त्यसैले पनि यी चित्र बिहेबारी, व्रत–त्योहार, पूजा–आराधनाकै लागि क्षणिक महत्वका साथ कोरिँदै गए।  

‘स्वान्तः सुखाय’का निम्ति कोरिएका यी चित्रमा प्राण भर्ने काम त्यतिबेला हुन पुग्यो, जब यो व्यवसायको एउटा माध्यम बन्न सक्यो। तत्कालीन ब्रिटिस भारतको मधुबनीमा कार्यरत अधिकृत तथा विश्वविख्यात कलामर्मज्ञ डब्लुजी आर्चरले मैथिल पेन्टिङ शीर्षकमा लेख लेखेर यस कलालाई सर्वप्रथम मैथिल चित्रकला नाउँ दिएका थिए। पछि पुपुल जयकर, उपेन्द्र महारथीजस्ता कलामर्मज्ञको प्रयासमा यो कला घर–आँगन–भित्ताबाट अलग्गिएर कागजमा कोरिन थालियो। ‘मिथिला लोकचित्र’ वा ‘मधुबनी लोकचित्र’को नाउँबाट प्रख्यात भयो। 

ग्रामीण क्षेत्रमा परम्परागत रूपमा महिलाकै हातबाट घर, टाट (पर्खाल)मा समयानुकूल चित्र बनाइन्थ्यो, त्यो चित्र के हो भनी बनाउनेलाई पनि थाहा थिएन। महिलाले आफ्नो मनमा उठेका स्वाभाविक कल्पना तथा उद्वेगलाई घरकै सामग्रीबाट लेप तयार गरी विभिन्न स्वरूपमा उतार्थे।  

मिथिला लोकचित्रलाई पहिले दुई भागमा बाँडिने काम भएको छ। एक ब्राह्मण, कायस्थ परिवारका महिलाले बनाउने चित्र र अर्को यी जातभन्दा फरक जातका महिलाले बनाउने चित्र। भारतको बिहार क्षेत्रबाट अहिले पनि मिथिला लोकचित्रमा यी दुई जातकै बढी प्रभाव कायम छ। नेपालमा अहिले यसको कुनै सीमा निर्धारण छैन। भारतीय क्षेत्रमा कुलीन भनिने परिवारकी महिलाले चित्र बनाउँदा पातलो रेखामा गहिरो रङ संयोजन हुन्छ भने अन्यमा मोटो रेखा हलुका रङ संयोजनद्वारा चित्रको अर्थवत्ता प्रदान गरिन्छ। नेपालमा त्यस्तो छैन। जुनसुकै जात, वर्गकी महिलाले बनाउने लोकचित्रमा मोटो रेखाबीच निर्धारित नाक, मुख, आँखा, पहिरन, हात र खुट्टाका औँला, गरगहनाको प्रयोग एकनासले गरिन्छ। यसले गर्दा यहाँका चित्र बढी समावेशी, सहज र समानधर्मा हुन्छन्।  

नेपालमा मिथिला लोकचित्र

मिथिला लोकचित्रकलाको विकास वास्तवमा नेपालको सिम्रौनगढका तत्कालीन कर्णाट शासक हरिसिंह देव (१२९६–१३२४ ई.)को शासनकालमा प्रचुर मात्रामा भएको विद्वान्को भनाइ रहेको छ, (डा. उपेन्द्र ठाकुर–मधुवनी पेन्टिङ, अध्याय २)। यो कलाको प्रस्तुति चार प्रकारले हुन्थ्यो– भूमिचित्र यथा अरिपन, भित्तीचित्र, मृण्मूर्ति (माटोका मूर्तिहरू) र सिकी घाँसबाट।  

यी चारवटै पद्धतिमध्ये भूमिचित्र अरिपनको नाउँमा अहिले पनि जीवित छ। त्यस्तै, भित्तीचित्र नै कागजमा उत्रेर अन्तर्राष्ट्रिय बजारमा पुग्न सफल भएको छ। माटाका मूर्ति र सिकीका मूर्ति वा लोक व्यवहारका सामग्रीको निर्माण अहिले पनि भइरहेको छ, तर त्यसको व्यावसायिक स्वरूप त्यति वृद्धि हुन सकेको छैन। माटाका भाँडा मात्र अहिले निर्माण हुने अवस्थामा छ भने समय समयमा छठको अवसरमा हात्ती, सत्यनारायण भगवान्को पूजाका लागि पञ्चमुखी दियो भएको पानस, सामाचकेवा खेल्न विभिन्न मूर्ति बनाइन्छन्। तर अब त्यो दिनदिनै ओझेलमा पर्दै गएको छ।  

आधुनिक नेपालमा मिथिला लोकचित्रको प्रारम्भबारे यकिन भन्न कठिन भए पनि विगतका क्रियाकलापको आधारमा यो जनकपुरधामबाटै औपचारिक पहिचान प्राप्त गर्न सफल भयो। भारतीय क्षेत्रमा जस्तै नेपालका गाउँमा सहज चित्र कोर्ने परम्परा छँदै थियो, व्यावसायिक रूपमा अगाडि ल्याउन सकिने सम्भावना देखिन थालेपछि नेपालको यस मैथिलीभाषी क्षेत्रमा यसबारे गन्थन–मन्थन सुरु भइसकेको थियो। भारतीय विद्वान् डा. प्रफुल्ल कुमार मौन र जनकपुरधामको रा.रा.ब. क्याम्पसमा मैथिली विभागाध्यक्ष प्रा. धीरेन्द्र समेतले जनकपुर क्षेत्र (नेपालीय भूमि) तिर लेखिने लोकचित्रलाई जनकपुर लोकचित्र किन नभन्ने भनी आफ्नो विचार पत्रपत्रिकामा दिन थाल्नुभएको थियो। यो पंक्तिकार स्वयंले त्यतिबेलै जनकपुर लोकचित्र (२०४६ वि.सं.) नामक लघु पुस्तिका तयार गरी यस क्षेत्रमा लेखिने चित्रबारे छोटो जानकारी दिने प्रयास गरेको थियो।  

वास्तवमा भारतीय क्षेत्रमा मिथिला लोकचित्रको व्यावसायिक स्वरूप साथै चित्रमा उपयोग गरिएका रङ, चित्रका आकार–प्रकार, पृष्ठभूमि र चित्रांकनको सूक्ष्मताबारे पनि विश्लेषण सुरु भइसकेको थियो। मिथिला लोकचित्रसँगै सिकी घाँसबाट बनाइने अनेकौँ आकर्षक उपयोगी सामग्रीको विकास हुन थालिसकेको थियो। त्यसै बेला विद्वान् डा. उपेन्द्र ठाकुरले ‘मिथिलाक चित्रकला ओ शिल्पकला’ (प्रकाशक : मैथिली अकादमी, पटन, १९८६ ई.) पुस्तक प्रकाशित गरी मिथिला लोकचित्र एक शिल्पकलाबारे विस्तृत जानकारी उपलब्ध गराएका थिए।  

यति हुँदा पनि नेपालभित्र यसबारेको पुस्तक वा प्रशिक्षणको अभाव थियो। गाउँघरमा चित्र कोर्ने चलन भने यथावत् थियो। व्यावसायिकताप्रति कुनै चासो अथवा उपक्रम गर्ने थाहै थिएन।  

जनकपुरधाममा ०४६/४७ तिर जनकपुर लायन्स क्लबले लोकचित्र एवं शिल्पको एउटा आयोजना सुरु गर्‍यो। वास्तवमा यसको पृष्ठभूमिमा अस्ट्रेलियाकी एक स्वयंसेविका क्लियर वर्केटको सुझबुझ र प्रयास थियो। उनी जनकपुरधाममा परिवार नियोजनसम्बन्धी वृत्तचित्र बनाउन आएकी थिइन्। त्यसै सम्बन्धमा ग्रामीण महिलासँग सम्पर्क र उनीहरूको जीवनशैली बुझ्न गाउँगाउँ जान थालिन्। गाउँका महिलाले घरको भित्तामा कोरेका चित्रबारे उनले जिज्ञासा राखिन्। ती कला मिथिला लोकचित्र भएको र त्यसको भारतमा निकै विकास हुन थालेको उनलाई जानकारी गराइयो। क्लियरले मिथिला लोकचित्रमा रुचि लिन थालिन्। स्थानीयको सहयोगमा उनी जनकपुर लायन्स क्लबका पदाधिकारीसँग भेट्न पुगिन। त्यतिबेला क्लबका अध्यक्ष इ. सत्यनारायण साह थिए। कुरा मिल्यो र १९९० ई. (२०४७ वि.सं.) तिर लायन्स क्लबले महिला विकास केन्द्रको नाउँमा संस्था खोली ग्रामीण महिलालाई यसमा आबद्ध गरी लोकचित्र कागजमा कोर्न लगायो। गाउँघरमा भित्ती, देवालमा लेखिएका सहज चित्रलाई कागजमा उतारेर रङ भर्ने काम पहिला कठिन र निरर्थक ठान्ने गरिए पनि पछि त्यसले आयको स्रोत बन्ने देखेपछि महिला आकर्षित हुन थाले। आज दर्जनौँ महिला–पुरुष यसमा संलग्न भई आफ्नो जीविकोपार्जन गरिरहेका छन्।

त्यतिबेला एउटा उत्सवको माहोल बन्न पुग्यो। जनकपुर क्षेत्रका महिलाले बनाउने चित्र भारतीय क्षेत्रका महिलाको भन्दा फरक थियो। त्यसले पनि यसलाई अन्तर्राष्ट्रिय बजारमा मिथिला पेन्टिंग्सको नाउँले बजारीकरण गर्न सक्ने सम्भावना ती महिलाले देखेकी थिइन्।  

लायन्स क्लबद्वारा प्रारम्भ गरिएको त्यही संस्थागत लेखन परियोजना नै नेपालको पहिलो संस्थागत मिथिला लोकचित्रको सुरुवात मान्न सकिन्छ। पछि यो संस्थाले युएनडिपीबाट लगभग ५० हजार डलरको सहयोग पनि पाएको कुरा राख्दै तत्कालीन लायन्स क्लब अध्यक्ष सत्यनारायण शाह भन्नुहुन्छ– कालान्तरमा परम्परागत चित्र कोर्न लगाउने कि सहज जीवनशैलीभन्दा फरक ढंगले चित्र कोर्न लगाउने, चित्र कोर्न महिलालाई संस्थामा बोलाउने कि घरमै राखेर काम दिने भन्ने विषयमा मतान्तर भएपछि क्लियरले आफ्नो प्रभावको उपयोग गर्दै छुट्टै जनकपुर नारी विकास केन्द्र खोली आफ्नो स्वतन्त्र संस्था खडा गरिन्। पछि यो संस्था मिथिला लोकचित्रका पारखीका लागि आकर्षणको केन्द्र बन्न पुग्यो। चार दर्जनभन्दा बढी महिलालाई रोजगार दिन सबल पनि भयो। तर सामाजिक मर्यादाको ख्याल नगरी आफ्नो व्यावसायिक लाभका लागि समाजले पचाउन नसक्ने चित्रको उत्पादन सुरु गरेपछि यस संस्थाले निकै विरोधको सामना पनि गर्नुपरेको कथा रोचक छ। आफ्नो व्यावसायिक यात्राको उत्कर्षमा रहँदा नारी विकास केन्द्रले महिलाको प्रजननकालीन चित्र बनाउन थालेपछि विवादमा तानिएको थियो।  

व्यावसायिक भविष्य

कुनै बेला ५०–६० लाख रूपैयाँजति व्यापार गर्ने जनकपुर नारी विकास केन्द्र अहिले आन्तरिक समस्याले अस्तव्यस्त छ। ग्रामीण परिवेश बनाइराख्न पक्की घर समेत नबनाई गाउँघरका छाप्रो अहिले कुनै बेला ढल्ने हो भन्न सकिन्न।  

त्यसपछि केही कलाकार स्वयं संस्थागत रूपमा मिथिला लोकचित्रलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने काम गर्दैछन्। जनकपुरका आर्टस् एन्ड क्राफ्टका सञ्चालक अजीत साह अहिले अमेरिकामा लोकचित्रको व्यावसायिक र प्रशिक्षणात्मक काममा व्यस्त छन्। उनी त्यहाँ बिक्री पनि गर्छन्। त्यहाँका इच्छुकलाई सिकाउँछन् पनि।  

मिथिला चित्रकलामा दख्खल राख्ने प्रबुद्ध चित्रकार जितबहादुर रायमाझीले नेपाल ललितकला प्रतिष्ठानबाट लोकचित्रसम्बन्धी एउटा पुस्तक प्रकाशन गर्न भ्याएका छन्। उनलाई लोकचित्रको राम्रो ज्ञान भए पनि हाल उनी ओझलमा परेका छन्। उनका छोरा पनि यस क्षेत्रमा देखापरेका छन्। एसी सुमन त्यस्तै राष्ट्रिय स्तरका सम्पन्न कलाकार हुन्, जसका पेन्टिंग्सको प्रदर्शनी लागिरहेकै हुन्छ, जहाँ कला पारखीहरू लाखौँको चित्र किन्ने गर्छन्। मिथिला लोकचित्रको अंकनमा महिला एकाधिकारलाई यी प्रशिक्षित कलाकारले तोड्दै नयाँ कीर्तिमान स्थापित गरेका छन्।  

यद्यपि महिला कलाकारको कमी भने छैन। त्यसमध्ये निकै कम आफ्नो संस्था वा चित्रकै बलमा राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सफल भएकी छन्।  

जहाँसम्म कला व्यवसायबारे यथार्थ जानकारी पाउने कुरा हो, त्यो सम्भव हुन सकेको छैन। व्यापार एकद्वार माध्यमद्वारा सुव्यवस्थित नभएकाले त्यसबारे जान्न कठिनाइपरेको छ। एक मात्र जनकपुर नारी विकास केन्द्रले नै औपचारिक रूपमा कलाकारलाई तलबी राखेर लगत व्यवस्थापन गरेको छ। केन्द्रले हाल आर्थिक कठिनाइ व्यहोरिरहेको बुझिन आएको छ। विगतका वर्षतिर क्लियरले महिलालाई स्वतन्त्र रूपमा घरबाहिर आई आर्जन गर्नुपर्ने धारणा राखी यो केन्द्र खोलिएको थियो। त्यसले स्थानीय परम्परागत पारिवारिक संस्कृतिको लोक लज्जा र सामाजिक दायित्व बाहिर गएर महिलाको उपस्थिति नै त्यसको विरोधको कारण रहेको सत्यनारायण शाह बताउनुहुन्छ।  

अन्य कलाकारहरू आफैँ उत्पादन गर्ने र स्वयं बेच्ने गरेकाले पनि त्यसको यकिन व्यवसाय बारेमा किटान गर्न सकिँदैन। तर, कलाकारको एकल प्रदर्शनीबाट हुने बिक्रीको अनुमान गर्दा ती रकम कलाकारको व्यक्तिगत श्रम र सीपको परिणाम भए पनि त्यसको लेखाजोखा राख्ने वा सार्वजनिक गर्ने चलन छैन।  

जनकपुरधामको जानकी मन्दिरमा आफ्नो बिक्री केन्द्र खोली बसेकी सुनैना आर्टकी सञ्चालिका सुनयना ठाकुर अमेरिकामा आफ्नो एउटा कलाकृति १ हजार १ सय डलरमा बिक्री भएको र अन्य न्यूनतम सात–आठ सय डलरमा बिक्री भएको दाबी गरेकी छन्। हाल प्रसारित एउटा टिभी अन्तर्वार्तामा उनले गरेको यो दाबीको सत्यता जाँच्ने कुनै आधार छैन। तर कलामा जुन सूक्ष्मताको आवश्यकता र वस्तुको मनोविज्ञान बुझेर कोर्ने सीप देखिनुपर्ने हो, त्यसको अभाव हुँदा पनि कलापारखीले चित्रलाई मनपराएर लाखौँ खर्च गर्नु भनेको मिथिला लोकचित्रप्रतिको क्रेज नै भन्नुपर्छ, यसलाई निश्चय नै कलाकारको सफलता मान्नुपर्छ।  

सबै कलाकार सुनैना ठाकुरजस्तो शौभाग्यशाली हुँदैनन्। अमेरिका नै आधार बनाएर आफ्नो कला/सीपको व्यवस्थापन गर्दै आएका अजीत साह मिथिला लोकचित्रको अन्तर्राष्ट्रिय बजार भए पनि त्यसलाई व्यवस्थित र थप उपयोगी बनाउन नसकिएको जिकिर गर्छन्। कुन कलाकारले के पाए, यो उनीहरूको निजी उपलब्धि हुन सक्छ, तर मिथिला लोकचित्रको बजार अझै कमजोर रहेको उनको धारणा छ।  

निश्चय नै यस्ता व्यक्तिगत आधारमा कलाकृति बनाई बेच्नुपर्दा निजी प्रयासले भए पनि यसले समग्र राष्ट्रको प्रतिनिधित्व गर्न सक्दैन। त्यसैले संघीय सरकारले एउटा ठोस बजार व्यवस्थापनतिर मिथिला आर्टलाई लान सके यसले ठूलो फड्को मार्ने पक्का छ।  

त्यस्तै, प्रदेश सरकारले पनि व्यापार प्रवद्र्धनका लागि कला प्रवद्र्धन केन्द्र जस्ता प्रतिष्ठान गठन गर्नुपर्छ। खण्ड–खण्डमा छरिएका यसका कला तथा कलाकारलाई एकसूत्रमा आबद्ध गरी उनीहरूको कलाकृति एक ठाउँमा खरिद गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सके कलाकार पनि उचित पारिश्रमिक पाउने थिए। यस अन्तर्राष्ट्रिय ख्यातिको कलाको व्यापार प्रवद्र्धन गरी राज्यको ढुकुटीलाई बढाउन सकिन्छ।  

सुदृढ आर्थिक विकास कसरी ?

सर्वप्रथम कला प्रशिक्षणको व्यवस्था गर्नुपर्छ। यस क्षेत्रमा आएका कलाकार अधिकांश अरूको देखासिकीमै लागेका छन्। ठूलो आँखा, नुकिलो नाक आखिर किन बनाइन्छ ? माछा, पोखरी, कछुवा, कमल फूल, पुरैन पात आदिको के अर्थ हुन्छ ? रङ संयोजन मात्र आँखालाई लोभ्याउन प्रयोग गरिनु किन हुँदैन ? कुन रङ कहाँ र किन प्रयोग हुनुपर्छ ? यसको जवाफ कला प्रशिक्षकले बताउन सक्छन्। त्यसले गर्दा प्रशिक्षणको आवश्यकता छ।  

दोस्रो संगठित व्यापारको व्यवस्थापन। यो कार्य प्रदेश सरकारले गर्न सके उत्तम। सबै कलाकारलाई एक छातामुनि आबद्ध गरी उनको कला विकासलाई कृति खरिद गरी सघाउनुका साथै त्यस कलालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने काम सरकारी वा गैरसरकारी तवरले गर्न सक्नुपर्छ। कलाकारको कला सेवालाई ध्यानमा राखी पुरस्कृत र सम्मानित गर्नुपर्छ।

यसरी व्यस्थित रूपमा मिथिला लोकचित्रलाई अगाडि बढाउन सकियो भने यस क्षेत्रमा निजी प्रभुत्व र मनोमानी व्यवसायको अन्त हुन जानेछ र असल कलाकारले उचित संरक्षण पाउनेछन्। नत्र यो विशिष्ट कला यसरी नै गन्तव्यहीन अवस्थामा भौँतारिने अवस्था रहिरहन्छ। 

प्रकाशित: २९ फाल्गुन २०७७ ०४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App