४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

के हुन्छ साथी कविता रचेर

कविता

म बन्छु नेता कवि बिर्सिएर  

सकिन्न बाँच्नै कविता पिएर  

न गाँस पाएँ न कपास हेर  

के हुन्छ साथी कविता रचेर ।

 

न दिन्छ चोलो न त दिन्छ सारी  

न दिन्छ यल्ले घर, खेतबारी

रित्तो भकारी न त भर्छ हेर  

के हुन्छ साथी कविता रचेर ।

 

न दिन्छ गाडी पनि चढ्नलाई  

न दिन्छ हाँसो मदिरा पिलाई    

न गर्छ केही उपचार हेर  

के हुन्छ साथी कविता रचेर ।

 

भारी गह्रुङ्गो न त हेर बोक्छ  

हलो समाई न त खेत जोत्छ  

न पेट टन्नै गरिदिन्छ हेर  

के हुन्छ साथी कविता रचेर ।

 

लेख्दा बढे शत्रुहरू हजार  

न पर्मले प्रेम दियो अपार

न बल्छ बत्ती झलमल्ल हेर

के हुन्छ साथी कविता रचेर।

 

न द्रव्य धेरै यसले बढायो  

भेटी यसैले जति थ्यो चढायो

समाजमा इज्जत के छ हेर  

के हुन्छ साथी कविता रचेर ।

प्रकाशित: २६ फाल्गुन २०७७ ०८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App