१)
झुट्टै होस् तर पनि सय पटक भन्दा सत्य हुन सक्छ,
सांचो होस् तर भनिएन यदि भने असत्य हुन सक्छ ।
यहाँ झुटो र सांचो छुट्याउन कसैले पनि खोज्दैनन् ,
कराउ ठग हो कराउ, तिम्रै भनाइ ध्रुवसत्य हुन सक्छ ।
२)
सत्यतथ्यलाई नै कतै बङ्ग्यायौ कि,
आफ्नै सखालाई कतै नङ्ग्यायौ कि ।
तिम्रा ओठ र गालामा लाली चढेछ त,
कतै तिनकै रगतले पो रङ्ग्यायौ कि।
३)
नेपालमा अचम्मको धारा त संविधानको धारा,
त्यही धारामा टेकेर दैनिक हॅुदैछ जुलुस र नारा ।
कहिले पानी आउँछ त्यसमा कहिले आउँछ आगो,
धारामा पानी हैन न्याय खोज्ने यस्तै छ हाम्रो पारा ।
४)
रुकुम रोल्पामा यस्तो विकास होस्, काठमाडौंको जस्तै सवारी जाम होस् ,
प्रचण्ड, बादल,पासांग जस्ता जो नामी छन् अहिले, हो त्यस्तै सबैको नाम होस् ।
दलित, जनजाति, महिला, मुस्लिम, आदिवासी गरीब सबैलाई के सपना देखाए,
हे जनता हो अब त बिउँझ न हो ती सपनाहरू केके पूरा भए त्यति सोध्ने काम होस् ।
५)
मान्छे तिनै हुन्, तर गर्छन् कुरा नानाथरी,
सम्झना आउँछ यस्तै मान्छेको घरीघरी ।
संविधान, ऐन, नियम, कानून सबै बनाउॅछन्,
तर कुरा गर्छन् आफ्नै स्वार्थको वरिपरि।
प्रकाशित: ७ फाल्गुन २०७७ १०:५७ शुक्रबार