२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

राज्य व्यवस्थाको किनारमा हजार सपना

कविता

रातको अवसानसँगै

एक जिउँदो घाम बस्तीमा लागेपछि  

मनको मझेरीमा गुराँसको रक्तिम आभा फुलाएर  

एक मुठी उज्यालो आफ्नो ठानेकी थिइन् उनीले।

 

बैसालु रातहरूले ऐठन पार्दा  

कोठामा झुन्ड्याएको फोटो  

उसको आँखाको क्षितिज भएको छ

यो देशको कुन भूखण्डमा छ ह  

उसले खोज्ने आकाश ।

 

पीडाले खुम्चिएको अनुहार  

छातीभरि जनयुद्धको चोट बोकेर  

वषौदेखि बेपत्ता आफ्नो सिउँदोको खबर  

सोधिथिन उनीले

उज्यालोमा देश खोज्नेहरूले  

माथि निलगिरि हिमालमा हेर्नू

निर्माणका पहाडहरू फोर्दै

हिउँझै पग्लिएर  

बारुदको आगो निभाउँदै

समयको गीत सुसेल्दै छ भने ।

 

देशलाई अँध्यारोमा लुकाउनेहरूले भने–

खहरेको बगरमा खोज्नु  

नत्र निर्जन जंगलबिचमा  

अवशेष मात्र भेट्ने छौ

शुभचिन्तकले भने–

इतिहासको पाना पल्टाएर हेर  

नभेटे चौकचौकमा उभिएको सालिकमा मिल्दो अनुहार खोज  

प्रत्येक माघ १६ मा सम्झने छ देशले।

 

दुखका  हरफहरू छातीका अग्ला पहाडमा  

हिउँझैं  जमाउँदा पनि  

अबोध बालकको आँखाबाट  

भविष्य पग्लिए चुहिरहेछ

तपतपतप उनको  चेहरामा

चुहिने छानोको बाटो हुँदै  

खसिरहन्छ प्रत्येक झरी  

नाङ्गा नानीहरूको छातीमा  

रित्तो अगेनुमा अभाव एकहोरो कराइरहन्छ

रातको लाटकोसेराझै  

उदास बतासले ओसारेका ठिही र टुसारो  

चट्याङझै बज्रिन्छ उनकै छातीमा ।

 

आफ्नो सिउँदोको रङ्गले  

निर्माण गरेको राज्यव्यवस्थाको

उपल्लो किनारामा उभिएर  

उनको जीवनसँग जोडिएका

हजार सपनाले त हरबिहानी  

उसैको उज्यालो खोज्छ  

आफ्नो वर्तमान साटेर  

एक अँजुली उसैको वर्तमान किन्न चाहन्छ  

सुरक्षित आकाशमुनि  

निश्चिन्त सुस्ताउन चाहन्छ।

 

समयको प्रतिच्छायाले  

उसैगरी लखेटिरहेको उनी  

आफूसँगै रङ मिल्नेहरूको  

एक जत्था कसेर  

सडकमा ओर्लने तयारीमा छ

विद्रोहको स्वर फैलाउँदै

होस गर है

आँखामा  आगोको झिल्को बल्दै ।          

प्रकाशित: ७ फाल्गुन २०७७ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App