जाडो चरममा थियो । न केही खाएर भाग्थ्यो न केही लगाएर भाग्थ्यो ।
– आमा, जाडोले अत्यायो । यो प्वाल परेको जाकेटले जाडो छेक्नै सकेन । यसपालि त सारै जाडो भो । काम्लो छैन ?
आमा घोरिइन् । उनले भनिन्– छ नि । एकछिन पख है ।
– किन नि, एकछिन यहाँ जाडोले कस्तो भैसक्यो।
– हो काम्लो बारीमा छ । ल हिँड न त, बारीमा । त्यहीँ पसीना कढाउँला, जाडोलाई डाँडा कटाउँला ।
उसका हातगोडा कक्रक्क भएका थिए । ऊ काम्लोको आशाले आमाको पछिपछि लाग्यो ।
आमाले बारीमा पुगेर कोदालो समातिन् । ब्याङब्याङ खन्न थालिन् । ऊ हात काखीमुनि घुसारेर हेरिरह्यो ।
खन्न रोकेर आमाले भनिन्– देखिस् ! ल यसरी खन् । खन्दै जा अनि काम्लो पाइन्छ । जाडो भाग्छ ।
उसले आनेकाने गर्दै कोदालो समात्यो । ब्याङब्याङ खन्यो । खन्दै गयो ।
आमाले भनिन्– हो त्यसरी । स्याबास, अब त काम्लो पाइने पक्का भो ।
– हो र आमा !
आमाले फेरि भनिन् – हो त । अब अरू केही जाँगर चला । काम्लो पक्का।
उसले कोदालो उचाल्दै र पछार्दै गयो । खन्दै गयो ।
‘यो मुला जाकेटले अल्झायो । उसले जाकेट खोलेर पाखामा राख्दै भन्यो ।
अनि फेरि उसैगरी खन्न थाल्यो । निधारबाट पसिना तप्प चुहे ।
आमाले भनिन्– अब कोदालो मलाई दे । मलाई पनि जाडोले सिउसिउ बनायो । एकछिन म पनि काम्लो ओढ्छु ।
प्रकाशित: ६ फाल्गुन २०७७ ०७:२७ बिहीबार