२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

निश्चयअनिश्चय

कथा

गाउँमा भुकभुके उज्यालो फैलिइसक्दा नसक्दा एउटा गन्हाउने समाचार पनि फैलिसकेको थियो ’साबित्रीकी मम्मीले छोरी पाइछे ।’ बिहान उज्यालो हुँदा  बिउँझेको यो समाचारले धारा, पाटीपौवा, खेतगरा, चियापसल आदि सबै ठाउँमा आफ्नो आयतन ओगटिसकेको थियो।

– बिचरो रामप्रसादले फेरि छोरी पाएछ ।

– कठै धमाल्नी आमैको फेरि नातिनी भइछे  ।  विचरी  नातिको मुख हेर्न नपाई मर्ने भई ।

– ए फेरि छोरी पाइछे सावित्राकी मम्मीले ।  

– हैन जँचाएर आएका भन्थे रे नि, छोरा नै हुन्छ भन्थे रे नि ।’

गाउँभरि क्रियाप्रतिक्रियाहरू रोटेपिङमा दोहारी झुत्ता खेलेझैँ खेलिरहे । धेरै दिनदेखि गाउंमा उभिएको उत्सुकताको किलो आज सधैँका लागि उखेलिसकेको थियो।

आज दुई दिन भयो ऊ सुत्केरी भएकी । घरमा एक किसिमको शङ्का र अविश्वासको वातावरण छ । उसको कोठामा घरकी कामधन्दा गर्ने सुन्तलीबाहेक अरू कोही पसेका छैनन् । उसलाई खान मन छैन । प्रसवपीडासँगै जन्मेको मानसिक पीडाले उसको शरीर शिथिल भएको छ । मस्तिष्क शून्य भएको छ । पेटमा ज्वानोको झोलबाहेक केही परेको छैन, ’खा’ भनेर कर गर्ने कोही छैनन् । गाउँका दिदी बहिनीहरू पनि सहानुभूति पोख्न कोही आएनन् । तेस्री छोरी जन्मदासम्म उनीहरू आएर सान्त्वना र ढाडस दिन्थे । अब उनीहरूलाई पनि लाग्यो होला त्यो सान्त्वना र ढाडसमा बासी भएर ढुसी लागिसकेको छ । त्यसैले अब त्यसले खुराकीको काम हैन अपच्यको काम गर्नेछ भनेर ।  त्यसैले सहानुभूतिका खुराक पस्कन कोही पनि आएनन् । उसले पुलुक्क छोरीको मुहार हेरी । एउटा निर्दोष अनुहार सांसारिक विधि, वन्धनदेखि टाढा निदाइरहेको थियो । उसले त्यहाँ आफ्नो प्रतिबिम्ब देखी । आफ्नो अस्तित्व देखी । अन्धकार भविष्य लिएर झुल्केकी निर्दोष अनुहारमा अनभिज्ञताका लहरहरू देखी।

उसको मुटु टुक्रेको छ, छोरी भएर जन्मनुको पीडाले । उसको शरीर जलेको छ, छोरीकी आमा हुनुको अभिशापले । उसको आकाश अन्धकार भएको छ, धरती भासिएको छ , जताततै दलदल छ पाइला राख्ने ठाउँ छैन।

दुई दिन अघिसम्म उसको श्रीमान् कति खुसी थियो । मुहारमा ओठमा भविष्यमा आउने खुसीका किरणहरू छरिएका थिए । तीनवटी छोरी जन्मँदासम्म अस्पताल नलगेको उसको श्रीमान्ले यसपालि आफै अस्पताल लगेको थियो।

 त्यो उमङ्गको क्षण त्यो खुसीको लहर क्षणभरमा नै बिलाएको थियो । चिसो हिउँमा सूर्यको किरण पर्नासाथ बिलाएझैँ । क्षणभरमा नै उसको सारा संसार बदलिएको थियो । प्रसवपीडाबाट भर्खर मुक्त भएकी उसलाई त्यो समय, त्यो क्षण उसका जीवनमा सुनामी आएझैँ भयो । त्यो सुनामीले उसको सारा विश्वास, इच्छा, चाहना र भविष्यहरू भत्काएर चकनाचुर पारिदिएको थियो । उसले कुनचाहि“ देवतालाई भाकल गरिन, कुन व्रत गरिन, कुनचाहिँ धामीझाक्री गरिन ?  

प्रसवपीडापछि उसले ठूलो साहस बटुलेर डाक्टरलाई सोधेकी थिई ’के भयो’ भनेर । त्यसपछि उसले थाहा पाइन के भयो भनेर । ऊ धेरैबेर बेहोस भई रे । जब उसको होस आयो, तब उसले यथार्थलाई स्वीकार गर्ने आत्मबल पैदा गरिसकेकी थिई । त्यहीँ आत्मबलले ऊ अहिलेसम्म जीवित छे ।  

उसले अँध्यारो अनुहार पार्दै भिडियो एक्सरे गर्ने डाक्टरलाई पनि सोधेकी थिई । डाक्टरसाहेब – के हुन्छ, छोरा कि छोरी ?

– यो त हामीले भन्न मिल्दैन । तपाईँकी तीनवटी छोरी भइसकेका रहेछन् । फेरि किन पाउनुभएको ?

– छोरा चाहिन्छ अरे, छोरा मात्र सन्तान हो रे छोरी होइनन् रे ।

यति भनिसक्दा उसले ठूलो सुस्केरा लिइसकेकी थिई ।  

–छोरा र छोरी एउटै हो भन्ने बुझ्नुपर्ने हो तपाईँको श्रीमान्ले ।  

उसको श्रीमानले नबुझेको त कहाँ हो र । छोरा नभए सन्तान मासिन्छ ।  छोरी अर्काका घर जाने जात, छोरा नभई कहाँ हुन्छ र । तँ छस् र तेरो सहारामा म छु । एउटा छोरा नभई कहाँ हुन्छ ?’ उसकी सासूले उसको श्रीमानको मास्टरी दिमागलाई यसरी संस्कारवादी धारणाले धोईपखाली गरिदिएकी थिई ।

गाउँको सरकारी स्कुलमा सामान्य तलब खाने उसको श्रीमानले आमाको इच्छा तोड्न, विश्वास मोड्न नखोजेको कहाँ हो र ।

– आमा, अहिलेको जमानामा के छोरा के छोरी ,एउटै हुन् । अब छोराको रहर नगर्नु भनेर ससुरालीमा पनि भन्न थालेका छन् । 

– उनीहरूले नगर्नू भनेर कहाँ हुन्छ ।  हाम्रो वंश मासिदैन ?  एउटाबाट नभए अर्कोबाट हुन्छ । खुट्टा भए जुत्ता कति पाइन्छन् । तेरा काइला काकाका पनि जेठीबाट छोरा नभएर कान्छी ल्याएका हुन् नि त।

 – कस्तो कुरा गर्नुभएको आमाले पनि म मास्टर मान्छेले बहुविवाह गर्नुँहुन्छ ? आफैँ मुखिया आफै बाटो बिराउनुहुन्छ ?

– त्यसो भए पाउनुपर्छ एउटा छोरा तीनवटी छोरीमुनि धेरैका छोरा भएका छन् । आमाको व्यक्तित्वले प्रभुत्व जमाउन सफल उसको श्रीमानले जीवनमा आमाको निर्णयलाई कहिल्यै नकार्न सकेको थिएन।

सौता हाल्ने कुराले उसको मुटु घोचेको थियो । त्यसैले ऊ राजी भइदिई, लोग्ने र सासूको कठोर निर्णयले उसको व्यक्तिगत स्वतन्त्रता कुनै अर्थ रहँदैनथ्यो । तीनवटी छोरी लालनपालन नै राम्रोसँग हुन नसकेको परिस्थितिमा अझ चौथो सन्तानको आगमनले उसले आफ्ना छोरीहरूले खाए खाएनन् केही हेर्न भ्याएकी थिइनन् ।  

घरभरि एउटा सन्नाटा फैलिएको छ । सबैको बोलीचाली व्यवहारमा सुनामीले देखाएको महाप्रलयपछिको सन्नाटाझैँ सन्नाटा फैलिएको छ । मनभरि कोही आक्रोश, कोही घृणा, कोही तिरस्कार, कोही वितृष्णा जन्माएर बसेका छन् ।

यी सब हुनुको कारक उही हो । ऊ नभएको भए यो सब हुने थिएन । उसैले निम्त्याएकी हो यो घनघोर आपत्ति उसले आफूलाई खतम पार्ने योजना बनाई । आफू नभए घरभरि शान्ति छाउनेछ । ऊ रोई, धेरैबेर रोई । धरतीले आफ्ना पीडालाई पखालÞेझै उसले आफ्नो पीडालाई पखाली । ऊ छोरी भएर जन्मनुको पीडाले रोई, छोरी जन्माएको अभिशापले रोई । उसले बाँच्नुको कुनै साथर्कता देखिन । उसले आफूसँगै भोलि भोग्नुपर्ने नियतिका कर्तालाई पनि खतम पार्ने विचार गरी । तर समाजले के भन्छ , अरू छोरीको भविष्य के हुन्छ ।  यस्तै विचार गर्दै ऊ अथाह समुन्द्रमा डुब्दै – उत्रदै गरी निकैबेरसम्म । छोरीको वाइले ऊ झस्की । मातृवात्सल्यता उर्लेर आयो । ऊ छोरी चेपेर फेरि रोई, अघाउञ्जेल रोई । उसको पेट भरियो । ऊ टन्न भई । अनि छोरीलाई दूध चुसाउन थाली । ऊ हराउन पुगी जिन्दगीका रमाइला दिनहरूमा।

सम्पन्न परिवारकी चेली लाउनखान उचालपछार थियो । के खाऊँ, के लाउँ थिएन । तीन दाजुकी दुइ चेलीमा कान्छी चेली थिई ऊ । सबैले असाध्यै माया गर्थे । दाजुले ठेकेदार साथीसँग विहेको कुरा चलाउँदा उसको लोग्नेको काकाले उसलाई मागेको थियो । ठेकेदारीमा केही लेनदेन हुन्थ्यो । त्यही लेनदेनको सञ्जालमा उसको भविष्य दाउमा लाग्यो जुवामा दाउ लागेझैँ ।

जात मिल्यो, केटो एक्लो छोरो, मास्टर जागिर अरू धनसम्पत्तिमा धेरै पोलिस गरेर नक्कली गहनालाई चम्काएझै चम्काइएको थियो । यसरी होमिएको थियो उसको जिन्दगी दाजुको ठेकेदारी महायज्ञको आहुतिमा।

उसले धेरै बुहार्तन सही घरमा बाबुआमा र दाजुले गोडा धोएर कन्यादान गरेर दिएका उसको कर्तव्य जसरी भए पनि घर खानु थियो । उसले घर खाई । कहिले आँसु खाई, कहिले भोक खाई, कहिले पीडा खाई, कहिले तिरस्कार खाई, कहिले वितृष्णा खाई, उसले धेरै थोक खाई । खानुको कुनै सीमा रहेन । तर, उसले माइतमा गएर घरको बखान कहिल्यै सुनाइन । सधैँ मीठो खाएको, राम्रो लाएको मात्र बखान गरी । घरको दुःख माइतमा देखाउँदा भाउजूहरूले होच्याएर व्यवहार गर्छन् भनेर कहिल्यै दुःख देखाइन् उसले । सुखमा बाँचेको अभिनय गरिरही । माइतीले केही हेरेका थिए । त्यसलाई उसले नकार्न सकेकी थिइन।

बिहान उठेदेखि घरधन्दामा लाग्नु, पाडाबाच्छा स्याहार्नुदेखि लिएर फुर्सदमा खेतबारीसम्म तानिन्थ्यो उसको दायित्वको डोरी । उसलाई वर्षा कहिल्यै आएन, हिउँद कहिल्यै भएन, । आयो भने धान रोप्ने दिन आए अनि धान काट्ने दिन आए । उसका खुसीका दिन भनेका तीज र दसैँ हुन्थे । यी दुई चाडमा ऊ नयाँ लुगा पाउँथी अनि मीठामीठा खानेकुरा खान पाउँथी । अझ खानेकुराभन्दा मीठो माइतमा धितमरुञ्जेल बसेर गफ गर्न पाउँथी । यी दिन नै उसको जीवनमा रमाइला दिन थिए । तर अब त चौथो सन्तानको जन्मपछि त उसलाई माइत जान कफ्र्यू लाग्नेछ भन्ने कुरा अवश्यम्भावी थियो। 

ठूली छोरी बेलाबखत उसको कोठामा आउने गर्थी । सुत्केरीलाई छुन हुँदैन भन्ने निर्देशनले अरू छोरी तर्केका थिए । उसँग सम्वादमा अल्झने भनेको ठूलो छोरी मात्र थिई । ठूली छोरीले आमाको केही मात्र भए पनि पीडा बुझेकी र महसुस गरेकी थिई । उसले घरको प्रत्येक क्रियाकलापलाई सूक्ष्म निरीक्षण गरेकी थिई क्यार । त्यसैले उसको बालहृदयले जे बुझेको थियो त्यो ओकली आमालाई ’’मम्मी, हाम्री बहिनी भई भनेर बुबा र हजुरआमा रिसाउनुभएको हो । हामीसँग राम्ररी नै बोल्नु हुन्न ।

उसले चिताझैँ जलेको पीडालाई छातीभित्र नै दाहसंस्कार गर्दै भनी– हो छोरी रिस त उठिहाल्छ नि ! छोरा भएको भए तिमीहरूको भाइ हुन्थ्यो । पछि तिमेरू माइत आउने ठाउँ हुन्थ्यो । तर के गर्नु भगवान्ले हात थामिदिएनन् । भगवान भन्ने सब मिथ्या रहेछ, छोरी ।  

–हामी पनि त छोराजस्तै छौँ नि । हामीलाई छोरा भन्दा हुँदैन मम्मी ?

– हुन त हुन्छ नि नानी तर समाज, यही समाजले गर्दा मैले यत्रो सन्तानको भार खप्नुपर्यो नि, छोरी । आफ्नो मनले माने पनि समाजका मानिसहरू छोरीलाई मान्छे गन्दैनन् । हामीले पर्दैनभन्दा पनि उनीहरू हरदम खोतलीखोतली छोराका कुरा निकाल्छन् । छोरा पाउन सकिन भनेर कस्तरी होच्याएर बोल्छन् । छोरी..।  

उसकी छोरीले कति कुरा बुझी कति बुझिन उसलाई ख्याल भएन । उसले आमाको कुरामा कुनै प्रतिक्रिया जाहेर गरिन ।  

उसले पुनः छोरीलाई सोधी– नानी,.. तिमीहरूको बुबा खोई.. त ?  

– बुबाऽऽ.. त पण्डित बाजेसँग पात्रो हेराउँदै हुन हुन्छ ।

– अनि के भन्दै छन् त..। उसले सोधी ।  

–सानी बहिनीको जन्म मिति मिलाउँदै हुनुहुन्छ । न्वारान गर्नलाई ।

–अनि अरू के भन्दै छन् त । छोराको कुरा पनि गदै छन् त । उसले सोधी ।  

–अँ, अब योमुनि भाइ जन्मदैन अरे । त्यसैले हजुरआमाले बुबालाई अर्को बिहे गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो ।

उसले अन्तिमको वाक्य राम्रोसँग बुझ्न सकिन । आँखा वरिपरि कालो भएर आयो केही देखिन् । रिंगटा लागेर आयो बेहोस होलाझैँ भई तर आफूलाई सम्हाली । उसको छाती एक्कासि बज्रजस्तै भयो । तीरले रोपे पनि केही नहोलाजस्तो भयो । उसले रुन खोजी, तर पटक्कै आँखाबाट आसु झरेन । ऊ डर्राई । अझ उसले आफूलाई पीडाले मर्माहत बनाई तर पनि आँसु आएन उसलाई अचम्म लाग्यो । यो के भयो भनेर । उसलाई सान्त्वना दिनलाई कोही आइदिए पनि हुन्थ्यो जस्तो लाग्यो तर कोही आएनन् । अहँ पटक्क आएनन् धेरैबेर बाटो हेरी । छोरी बैनीको मुख हेरेर बाहिरिइसकेकी थिई । ऊ एकोहोरो टोल्हाइरही । धेरै टाढासम्म टोल्हाइरही । क्षितिजभन्दा टाढासम्म टोल्हाइरही ।

उसलाई थाहा भएन यो दिन थियो कि रात । उसको सामु विगत आयो अनि वर्तमान र भविष्य । चार छोरीहरूका पीडादायक निरीह अनुहारहरू आए । उसले निर्णय गरी जसरी पनि बाँच्नुपर्छ । परिवार र समाजसँग संघर्ष गर्नुपर्छ । उसले एकैछिनमा सोची ऊ सक्तिन ।

 एउटी कमजोर महिलाले कसरी संघर्ष गर्न सक्छे, कसरी उभिन सक्छे । जहाँतहाँ बार र काँडाहरू छन्, घुम्ती र मोडहरू छन् । त्यो खोला ऊ कसरी तर्न सक्छे, जहाँ न कुनै सहारा छ न कुनै साधन । ऊ निश्चय, अनिश्चयको बीच भौतारिइरही । के आफै मरिदिनु सारा समस्याको हल हो । आखिर एक दिन मर्नैपर्छ । तर यी चारचार निर्दोष छोरीहरूका याचनापूर्ण आँखाहरूले उसको जीवनको भिख मागिरहेको कल्पना गरी उसले । ती भन्छन् – हाम्रो के भूल थियो  ?  हामीले के अपराध गरेका थियौँ मम्मी ?  

ऊ एकछिन मर्छ अनि अर्को क्षण बाँच्छे । ऊ बाँच्तै , मर्दै गर्छे कतै टाढाबाट छोरीहरूले ’मम्मीऽऽ , मम्मीऽऽ’ भनेर चिच्याएको आवाज सुन्छे । ऊ शून्यमा हराउँछे ।  

प्रकाशित: ३ फाल्गुन २०७७ ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App