दिउँसोको समय। बिमला खाजा बनाउँदै थिइन्, बाबुछोरी बैठक कोठामा। कलेज पढ्दै गरेकी छोरी र कर्मचारी बाबु कोरोनाले निम्त्याएको लकडाउनका कारण घरैमा थन्किएका थिए।
– अब त मनपर्ने फिल्म पनि हेरेर सिद्धिइसके, कस्तो दिक्कलाग्दो भएको हो । कतिञ्जेल लम्बिने हो यो भाइरसको प्रकोप । बाबु भुत्भुताए।
छोरी नजिकै बसेर ल्यापटप चलाउँदै थिइन्।
– किन र बाबा ? के भो ?
– के भो भन्नु नि अब । यो बन्दाबन्दीले त सासै फेर्न नसक्ने भइसकेँ म।
– सञ्चो छैन हो ?
– सञ्चै छु, छन् त।
– खाना, खाजा समयमै खाइरहनु भएको त छ नि ।
– खाएको छु समयमै तर अफिस जानेआउने गरेको मान्छेलाई उकुसमुकुस हुँदो रहेछ लगातार घरै मात्र बसिरहँदा।
– बाबा, अफिस नगएका दिनमा तलब आउँछ कि आउँदैन ?
– आयो नि तलब त तर पैसा भएर, खान पाएर मात्र के गर्नु ? बन्दी भइएको छ, घरभित्रै । कतै निस्कियो भने रोग लाग्ला भन्ने डर।
– के भो त बाबा, भोक लाग्दा मन लागेको खान पाउनुभएको छ । निद्रा लाग्दा सुत्न पाउनुभएको छ । मनोरन्जनका लागि टिभी, कम्प्यूटर छन्, फूलबारी छ, करेसाबारी छ। यस्तैमा रमाउनु न।
– यसरी एकोहोरो घरमा बसेर पनि रमाउन सकिन्छ । फेरि आफ्नै इच्छाले बसेको भए कुरा अर्कै हुन्थ्यो। यो त रोगको डरले र सरकारको करले हो। जति सुविधा भए पनि यसरी त सकिँदैन रहेछ । बीसबाइस दिन भइसक्यो कतै निस्कन नपाएको । गुम्सिइसकेँ म त।
–हजुरहरूको बिहे भएको तेइस वर्ष भयो है ।
–हो त, यो वर्ष त चौबीस पुग्छ।
–आमालाई घरमा नपुग्दो केही छैन । तिमीले बाहिर काम गर्नुपर्दैन भनेर हजुरले कर गरेर सरकारी जागीर छोड्न लगाएको पनि चौबीस वर्ष हुन लागेछ है बाबा ।
प्रकाशित: २ फाल्गुन २०७७ ०७:५४ आइतबार