३ असार २०८१ सोमबार
image/svg+xml
कला

वसन्त ऋतुको गर्भकाल वसन्त पञ्चमी

संस्कृति

कुनै पनि ऋतुको आगमनभन्दा अगाडिका ४० दिनलाई त्यस ऋतुको गर्भकाल मानिन्छ। यही मान्यताअनुसार वसन्तोत्सव पर्वका रूपमा रङ र अबिर दलेर मनाइने फागु वा होरी पर्व वसन्त पञ्चमीको ठीक ४० दिनपछि आउँछ। यसैले वसन्त पञ्चमीबाट वसन्त ऋतुको गर्भकाल मानिने हुनाले लोक समाजमा माघ शुक्ल पञ्चमीलाई वसन्त पञ्चमी पर्वका रूपमा मनाइने गरेको देखिन्छ।

नेपाली समाजमा एउटा भनाइ छ, ‘दिनभन्दा पर्व धेरै।’ यिनै पर्वमध्ये एक वसन्त पञ्चमी हो। यो पर्व कहिले पर्छ भनी थाहा पाउन चन्द्रमाको गतिअनुसार निर्धारण गरिने तिथिलाई हेर्नुपर्ने हुन्छ। तिथिअनुसार यो पर्व माघ शुक्ल पञ्चमीका दिन पर्ने भएकाले यस पर्वलाई चान्द्रमासमा आधारित पर्व मानिन्छ। माघ शुक्ल पञ्चमीदेखि वसन्त ऋतुको गर्भकालका दिन सुरु हुने मानिएकाले यस दिनलाई वसन्त पञ्चमी भनिन्छ। यस दिन मनाइने पर्वलाई सरस्वतीपूजा वा श्रीपञ्चमी पर्व पनि भनिन्छ। यस दिन मनाइने पर्वका नाम फरक भए पनि यिनमा धेरैजसो समानता छ भने केहीमा सामान्य अन्तर पनि छ। समग्रमा यी पर्वलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने पर्वका रूपमा लिइन्छ। यी पर्वलाई लोक समाजमा आ–आफ्नै सन्दर्भबाट मनाइन्छ। यस आलेखमा माघ शुक्ल पञ्चमीमा पर्ने पर्वलाई किन र कसरी मनाइन्छ भन्ने सन्दर्भबाट स्पष्ट पार्न खोजिएको छ।

सामान्यतः चाडपर्व भन्नाले देवीदेवताको पूजा गर्ने, व्रत बस्ने, मान्यजनसँग आशीर्वाद लिने, आफ्नो जातीय पहिचानअनुसारको कार्य गर्ने, शुभकार्यको थालनी गर्ने, सामाजिक विधि–व्यवहारलाई सम्पन्न गर्ने, मिठोमसिनो खाने, चलनअनुसार विविध खेल खेल्ने, विशेष प्रकारका गीत गाउने, पर्वअनुसार नाचेर रमाइलो गर्ने, मेलाजात्रामा सहभागी हुने, आफ्ना सुखदुःख बाँड्ने आदि कार्य गर्ने दिन भन्ने बुझिन्छ। यी चाडपर्वले उत्साह, उमंग ल्याउने र परम्परादेखि चलेका हाम्रा चलनलाई चलाएको मानिने हुनाले चाडपर्व आउनासाथ हामीमा खुसीको छुट्टै रौनक आउँछ। माघ शुक्ल पञ्चमीमा पर्ने पर्व पनि यसैसँग सम्बन्धित छन्। यी पर्वलाई लोकसमाजले हर्षोल्लासपूर्वक सदियौँदेखि मनाउँदै आइरहेको पनि छ। लोकको चलन भएकाले ठाउँअनुसार यिनमा विविधता र समयअनुसारको परिवर्तन भएको पनि देखिएको छ।  

वसन्त पञ्चमी  

वसन्त पञ्चमी पर्व माघ शुक्ल पञ्चमीका दिन पर्छ। यो समय वसन्त ऋतुको होइन, तापनि किन वसन्त पञ्चमी भनियो भन्ने सन्दर्भमा कुनै पनि ऋतुको आगमनभन्दा अगाडिका ४० दिनलाई त्यस ऋतुको गर्भकाल मानिन्छ। यही मान्यताअनुसार वसन्तोत्सव पर्वका रूपमा रङ र अबिर दलेर मनाइने फागु वा होरी पर्व वसन्त पञ्चमीको ठीक ४० दिनपछि आउँछ। यसैले वसन्त पञ्चमीबाट वसन्त ऋतुको गर्भकाल मानिने हुनाले लोक समाजमा माघ शुक्ल पञ्चमीलाई वसन्त पञ्चमी पर्वका रूपमा मनाइने गरेको देखिन्छ। यस दिन काठमाडौंको वसन्तपुर दरबारको हनुमानढोका अगाडिको चोकमा राष्ट्रप्रमुखको उपस्थितिमा वसन्त श्रवण गर्ने र वासन्तिक रागको गायन गर्ने परम्परा छ। वसन्त पञ्चमीदेखि वसन्त ऋतुले आफ्नो आगमनको सन्देश दिन्छ। वसन्त पञ्चमीको आगमनपछि आँप, कटहर आदि मुजुराउने, रूख वृक्षमा नयाँ पालुवा पलाउन थालनी गर्ने, चराचुरुंगीले सुमधुर स्वरलहरी चलाउन थाल्ने र उनीहरूले नवसृजनका लागि आवश्यक तयारी थाल्ने आदि कार्यको शुभारम्भ हुन थाल्छ। यसैलाई आधार बनाएर माघ शुक्ल पञ्चमीमा वसन्तोत्सव मनाउने, वसन्त श्रवण गर्ने आदि कार्य गरिएको देखिन्छ। त्यसैले यस पञ्चमीलाई वसन्त पञ्चमी मानिएको हो।  

वसन्त पञ्चमी पर्व कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने केही भिन्न तरिकाले मनाइन्छ। सरस्वतीको मन्दिरमा गएर पूजापाठ गर्ने कार्यका अतिरिक्त त्यहाँ दमाईहरूले बिहान बिस्ट (काम गरेबापत बाली दिने)का घरमा गएर ढोलक, ट्याम्को, दमाहा, हुड्को बजाउँदै निश्चित धुनका माङ्गलिक गीत गाउँदै जौका हरिया पात दैलाको मूल ढोकामा र घरको मूल मान्छेलाई लगाइदिँदै हिँड्छन्। यो गीत एक्लै वा समूहमा गाउन सकिन्छ। यस समयमा गाइने गीतलाई वसन्त गायन भनिन्छ। यस गीतमा वसन्त ऋतुको गुणगान गरिएको हुन्छ। वसन्त गायन नयाँ वर्ष, वर्षायामको सुरुवात र वसन्त ऋतुको आगमनको सङ्केत भएकाले यस गीतमा नयाँ वर्षमा उत्साह–उमङ्ग छाउने, खेतीपाती सप्रने, सहकालको आविर्भाव हुने र प्राकृतिक सौन्दर्य बढ्ने कुराको वर्णन हुन्छ। त्यसैले यस गीतलाई शुभगायन मानिन्छ। यसका अतिरिक्त यस दिन घरगीत, चैत, चाँचरी आदिको प्रस्तुति पनि हुन्छ। उदाहरणका लागि यहाँ वसन्त गायनको गीत दिइएको छ :

ए ! पैल्ही बढाइँ बाजी राजद्वार रे भाइ राजद्वार रे,

दोसरी बढाइँ बाजी सनियासार रे बाजी  

सनियासार रे,  

दी आई स्री पञ्चमी मागै मास रे भाइया मागै  

मास रे।

रामजीकी रौता सीताजी बाहुली रे खेल भाइयो पछिबड खाँड चौखाँडा,

यउरो पानी छालछुल समाल ताउली रे।

याइ खुसी रोपञ्च मागै मास रे याइँ हो खुशी पञ्च मागै मास रे।  

सरस्वतीपूजा

माघ शुक्ल पञ्चमीका दिन पर्ने पर्वमध्ये एक हो, सरस्वतीपूजा। सरस्वतीलाई विद्याकी अधिष्ठात्री देवी मानिन्छ। देवीका पनि विभिन्न स्वरूप छन्। यी स्वरूपलाई देवीमा रहेको शक्तिका आधारमा निर्धारण गरिएको मानिन्छ। देवीको महाविकराल शक्ति रहेको स्वरूपलाई महाकाली भनिन्छ भने धनधान्य र ऐश्वर्यले पूर्ण रहेको शक्तिको स्वरूप भएकी देवीलाई महालक्ष्मी भनिन्छ। यस्तै विद्या, विवेक, बुद्धि र ज्ञानले भरिपूर्ण भएको शक्तिको स्वरूपलाई महासरस्वती मानिन्छ। यिनै विद्या, विवेक, बुद्धि र ज्ञान स्वरूपले युक्त भएकी देवीको पूजालाई नै सरस्वतीपूजा भनिन्छ। सरस्वतीको पूजा जुनसुकै समयमा गर्न सकिने भए पनि र माघ शुक्ल पञ्चमीका दिन यिनको प्रादुर्भाव भएको मानिने हुनाले यस दिन सरस्वतीको विशेष पूजा हुन्छ भने सरस्वतीको पूजा विद्या, बुद्धि, विवेक चाहने जोसुकैले गर्नुपर्ने भए पनि विशेषतः विद्याध्ययनमा लागेका व्यक्तिले पूजा विशेष रूपले गर्ने गर्छन्। विद्या, विवेक र बुद्धिकी अधिष्ठात्री मानिने भएकाले यिनको स्वरूप सौम्य र शान्त प्रकृतिको छ। यिनको यो स्वरूपलाई सत्वगुणले युक्त मानिन्छ। यिनको स्वरूपलाई वर्णन गर्ने श्लोकमध्ये तलको श्लोक अत्यन्त प्रसिद्ध छ :

शुक्लां ब्रह्मविचारसारपरमामाद्यां जगद्व्यापिनीम्

वीणापुस्तकधारिणीमभयदां जाड्यान्धकारापहाम्  

हस्ते स्फटिकमालिकां विदधतीं पद्मासने संस्थिताम्

वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्।  

यस श्लोकअनुसार सरस्वतीलाई सेतो वर्णकी, ब्रह्मविचारकी साररूप भएकी, आदिशक्तिका रूपमा मानिएकी, वाणीस्वरूपले जगद्व्याप्त भएकी, हातमा वीणा र पुस्तक लिएकी, अभय दान दिने क्षमता भएकी, अज्ञानरूपी अन्धकारलाई हटाई ज्ञानरूपी प्रकाश दिने क्षमता भएकी, हातमा स्फटिकको माला पहिरेकी, पद्मासनमा बसेकी र बुद्धिप्रदायिनी भगवती मानिएको छ। यिनको वाहन राजहाँस हो। राजहाँसले दूध र पानी छुट्ट्याउन सक्छ भन्ने मानिन्छ। यो राजहाँसको प्रतीकबाट हामीलाई पनि दूधको दूध र पानीको पानी छुट्ट्याउन सक्ने क्षमता मिलोस् भन्ने भावलाई जागृत गराउँछ भन्ने मानिन्छ। यस्तै उनले हातमा लिएको पुस्तकले अज्ञानरूपी अन्धकारलाई हटाएर ज्ञानरूपी प्रकाश छर्ने प्रेरणा प्रदान गर्छ। यस्तै उनको हातमा रहेको वीणाले सङ्गीतमा रहने लय, भाव र शब्दले हाम्रो मन र मस्तिष्कलाई झङ्कृत गराई मनलाई मनोरञ्जन प्रदान गर्छ। एउटा हातमा पुस्तक र अर्को हातमा वीणा हुनुको अर्थ ज्ञान र मनोरञ्जनको अभिन्नतालाई जनाउनु हो। अर्थात् जहाँ ज्ञान छ, त्यहाँ मनोरञ्जन पनि छ भन्नु हो। यस्तै सरस्वतीको सेतो पहिरनलाई सत्व गुणको प्रतीक मानिन्छ। यसबाट सरस्वतीको आराधनाबाट सत्वगुणको प्राप्ति हुने मानिन्छ। सरस्वतीको आराधनाबाट यी क्षमता आउने विश्वासका साथ सरस्वतीको पूजा हुन्छ। सरस्वतीको चर्चा–परिचर्चा वेदहरूमै पाइन्छ। संसारकै पुरानो मानिने ऋग्वेदमा ‘आमाहरूमा श्रेष्ठ, देवीहरूमा श्रेष्ठ, नदीहरूमा श्रेष्ठ हे आमा सरस्वती ! हामीलाई विशिष्टता देऊ’ भनी सरस्वतीको वन्दना गरिएको छ, (ऋगवेद २।४१।१६) भने यजुर्वेदमा पनि ‘यश र ऐश्वर्य प्रदान गर्ने वाणी, ज्ञान र विद्या प्राप्त होस्’ भनी सरस्वतीलाई यशोभगिनी र कीर्तिप्रदायक मानिएको छ, (यजुवेद,२।२०)। यस्तै विभिन्न पुराण तथा अन्य लौकिक ग्रन्थमा पनि सरस्वतीलाई वन्दना गरिएका प्रशस्त उदाहरण छन्। कैयौँ ऋषिमुनि र काव्यका साधकले पनि सरस्वतीलाई विद्याप्रदायिनी भनी पुकारा गरेका छन्। विद्याको शक्तिको महत्तालाई जनाउन प्रायःले तलको श्लोकलाई उदाहरणका रूपमा दिएको देखिन्छ :  

विद्या ददाति विनयं विनयात् याति पात्रताम्

पात्रत्वात् धनमाप्नोति धनाद्धर्म ततः सुखम्।  

अर्थात् विद्याले विनयशीलता दिन्छ। विनयशीलताले व्यक्तिको व्यक्तित्वलाई उज्ज्वल बनाउँछ। व्यक्तित्वबाट धनको प्राप्ति हुन्छ र धनका माध्यमबाट मानिस सुखी हुन्छ भनिएको छ। यसबाट जीवनमा सुख हासिल गर्न विद्या हासिल गर्नुपर्ने कुरालाई यसबाट स्पष्ट पारिएको छ। विद्याकी अधिष्ठात्री नै सरस्वती भएकाले सरस्वतीको आराधनालाई नेपाली समाजले परम्परादेखि अपनाउँदै आएको छ।  

सरस्वती पूजाका दिन गर्ने भनी लोकमा विशेष प्रचलन चलेका छन्। ती प्रचलनमा सरस्वती पूजाका दिन सरस्वतीका मन्दिरमा गएर पूजापाठ गर्ने, घरमा सरस्वतीको फोटो वा प्रतिमा बनाइराख्ने, यसै दिन बालबच्चालाई गणेश र सरस्वतीको पूजा गरी अक्षरारम्भ गराउने र सरस्वतीलाई कापी र कलम चढाइयो भने विद्या आउँछ भन्ने मानी सरस्वतीको पूजा गर्दा कापीकलम चढाउने आदि चलन चलाइएका छन्। यस्तै, यस दिन कुनै पनि शुभकार्य गर्दा साइत हेर्ननपर्ने मानिन्छ। विद्यालयमा सबै छात्रछात्रालाई बोलाइ सरस्वतीको पूजापाठ गरी प्रसाद वितरण गरी मनाउने गरिएको छ भने तराईमा माटाका विशाल मूर्ति बनाई त्यसमा प्राणप्रतिष्ठा गराई पूजापाठ गर्ने र अर्को दिन शोभायात्रासहित त्यस मूर्तिलाई नदी, खोला वा तलाउमा लगी सेलाउने प्रचलन छ। यसै दिन नाककान छेँड्दा, जग्गा खरिद गर्दा, गृह निर्माण आदि गर्दा साइत हेर्ननपर्ने मानिन्छ।  

श्रीपञ्चमी

वसन्त पञ्चमीलाई श्रीपञ्चमी पनि भनिन्छ। श्री भन्नाले मूलतः लक्ष्मीलाई बुझिन्छ। यस दिन सरस्वतीको पूजाका अतिरिक्त आर्थिक कारोबारको दिनका रूपमा लिइने हुनाले यस पर्वलाई श्रीपञ्चमी पनि भनिएको मानिन्छ। आजको भाषामा भन्दा श्रीपञ्चमी लोकको आर्थिक वर्षको पहिलो दिन हो। अहिले बैंक तथा सहकारी गाउँगाउँमा पुगेकाले जहिलेदेखि कारोबार सुरु भयो, त्यसै दिनदेखि महिना र दिनको भाका हुन्छ, तर केही समय अगाडिसम्म पैसाको लेनदेनको भाका श्रीपञ्चमीलाई मान्ने परम्परा रहेको थियो। अहिले पनि कतिपय गाउँठाउँमा यो परम्परा कायमै छ। कसैले भैँसी किन्यो, श्रीपञ्चमीका दिन बाँकी थैली चुक्ता गर्ने, जग्गा किन्यो वा सापटी लियो, त्यसको भाका श्रीपञ्चमी हुने गथ्र्यो। कुनै ठाउँमा फागुनको १५ वा मंसिर १५ पनि थियो, तर सबैको लोकप्रिय भाका श्रीपञ्चमी हुन्थ्यो। त्यसैले सरस्वती पूजाको दिन भए पनि श्री अर्थात् सम्पत्तिको कारोबार गरिने भएकाले यस पर्वलाई श्रीपञ्चमी भनिएको हुन सक्ने लेखकको स्वअनुभूति छ।  

समग्रमा हेर्दा हामी संस्कृतिमा अत्यन्त सम्पन्न छौँ। एकै दिनमा ठाउँ अनुसार र सन्दर्भ अनुसार फरक–फरक पर्व मनाइनु यसको ज्वलन्त उदाहरण हो। वसन्त पञ्चमीमा पनि वसन्त गायन, वसन्त श्रवण, सरस्वती पूजा, आर्थिक कारोबार यी सन्दर्भ आउँछन्। यिनलाई ठाउँ अनुसार फरक–फरक किसिमले मनाइन्छन्। यी चाडपर्वले हामीलाई परम्परासँग जोड्ने, आफ्नो जातीय एवं क्षेत्रीय पहिचान दिलाउने, आफ्नो जीवनलाई अझ अग्रगति दिन उचित वातावरण सिर्जना गरिदिने, आफ्ना संस्कारको पहिचान दिने, आफ्ना दैनिक विधि–विधानलाई बताउने, मनोरञ्जन दिने, विभिन्न कलाको निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने, मनकामना पूरा हुन्छन् भन्ने विश्वासका साथ जीवन जिउने वातावरण सिर्जना गर्ने तथा नातापाता कुल–कुटुम्बसँगको सम्बन्ध प्रगाढ गराउने आदि कार्य गरेका छन्। त्यसैले संस्कृतिको संरक्षणलाई हाम्रो आफ्नो पहिचानको संरक्षण मानिन्छ।

प्रकाशित: १ फाल्गुन २०७७ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App