२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

आमा

कविता

भारा दूध र खूनको श्रम गरी तिर्नै कहाँ सक्छु र

धर्ती या नभ यो कुनै म नचिनूँ आमा कहाँ भुल्छु र

मेरा निम्ति अनेक रोग जतिले जेजे तमासा छरून्

आमा छौ र त साथमा मलम छन् ती घाउले के गरून् ।।

 

बाँचेको छु म आजसम्म सुखले तिम्रै सुरक्षा गरी  

तिम्रै पेट जहाँ चुमेँ म पहिले यै पाउले सुस्तरी  

आफ्नो जीवनमा जुनै समयमा खोजेँ पछ्यौरी छुन  

तिम्रो वक्ष बन्यो सदा जमिन झैँ टेकेँ खुसीले सुन ।।

 

तिम्रै अंश लिएँ सुटुक्क कहिले त्यो गर्भमा नै भने

छोराबाट हुँदै पुगेँ हजुरबा आमा म के के बनेँ

छैनन् मन्दिरभित्र खोजिरहियो ती देवता नै भनी  

आमा ईश्वर हुन् समस्त जगको बुझ्दै छु दैनन्दिनी ।।

 

पर्दा दुःख हजार फ्याट्ट मुखले आमा छ उच्चारण

हे मेरी जननी भनीकन जपूँ प्रत्येक मेरो क्षण

घोच्दाखेरि दुख्यो भने, छ ममता पाई निको भो मन  

छोराको छ सलाम भित्र दिलले आफू भुलाईकन ।।

 

मेरो गर्दछ चित्तले हरघडी दीर्घायुको कामना  

मेरो अन्तरमा सुसाउन सकून् तिम्रा सबै चाहना  

गर्भैभित्र बसाउनै नसकुँला त्यो गर्न के सक्षम ?

मेरो चाह यही पठाउँदिन है कैल्यै म वृद्धाश्रम ।।

प्रकाशित: २६ माघ २०७७ ०९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App