२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘सानुकाजीको बुँख्याःचा’

नयाँ पुस्तक

बाबुनानीका लागि एउटा रमाइलो चित्रकथाको पुस्तक बजारमा आएको छ । पुस्तकको नाउँ हो ‘सानुकाजीको बुँख्याःचा’ । यो पुस्तकका लेखक हुनुहुन्छ रत्न प्रजापति । यो पुस्तकमा राजकुमार प्रजापतिले चित्र कोर्नुभएको छ । अनि यो पुस्तकलाई कृष्णदीप सिग्देलले सम्पादन गर्नुभएको छ । यो पुस्तकलाई कथालय इन्कले प्रकाशन गरेको हो।

बुँख्याःचा भनेको के हो ? सबै बाबुनानीलाई थाहा नहुन सक्छ । यो पुस्तक पढेपछि भने पक्कै थाहा हुनेछ । सानो बाबु सानुकाजी र बुँख्याःचाको रमाइलो कथा छ यो पुस्तकमा । सानुकाजी विद्यालय जाँदा र आउँदा सधैं बुँख्याःचासँग भेट हुन्छ । उनीहरूबीच कुराकानी पनि हुन्छ । साथी–साथी भएका छन् सानुकाजी र बुँख्याःचा । मान्छे र बुँख्याःचा पनि साथी बनेका ! अचम्मलाग्दो छ।

सानुकाजीका बाको नाउँ हो तुइकाजी । तुइकाजी खेतीकिसानीको काम गर्छन् । जनैपूर्णिमाको दिन तुइकाजी र सानुकाजी दुवै खेतमा भ्यागुतालाई भात खुवाउन जान्छन् । बुँख्याःचालाई पनि भात खुवाउँछन् । भ्यागुतालाई किन भात खुवाउने होला ? बाबुनानीलाई अचम्म लाग्नसक्छ । यसको पनि कथा छ यो पुस्तकभित्र । नेवारी संस्कृतिको झल्को दिन्छ कथाले । चित्रमा पनि नेवारी संस्कृति झल्काइएको छ । सानुकाजी, उनका बा तुइकाजी र आमाले निधारमा रातो टीका र मोहनी लगाएका छन् । घाँटीमा रातो कोखा पनि लगाएका छन् । तुइकाजीले त कानमा रातो फूल पनि सिउरेका छन् । ठ्याक्कै नेवारी पात्रको प्रतिनिधित्व गरेका छन् सानुकाजी, उनका बा तुइकाजी र आमाले।

चराचुरुंगी र गाईवस्तुले तुइकाजीको खेतको धानबाली बिगार्छन् । बुँख्याःचाले मान्छेको मिहिनेतको कदर गर्नुपर्छ भन्दै गाईवस्तु र चराचुरुंगीलाई अन्नबाली नबिगारिदेऊ भनेर बिन्ती गर्छ । बुँख्याःचाको बिन्ती सुनेर गाईवस्तु र चराचुरुंगीले मान्छेको अन्नबाली नबिगार्ने वचन दिन्छन् । बुँख्याःचा खुसी हुन्छ।

आफ्नो खेतमा सुनजस्तै पहेँला धानका बाला झुलेको देखेर तुइकाजी मक्ख पर्छन् । धानबालीको रेखदेख गरेको भनेर बुँख्याःचालाई धन्यवाद दिन्छन् । बुँख्याःचा खुसी हुन्छ । साथी खुसी भएकाले सानुकाजी पनि खुसी हुन्छ ।

‘सानुकाजीको बुँख्याःचा’ चित्रकथाले बाबुनानीलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेवारी संस्कृति र परम्परा बुझ्न पनि मद्दत गर्नेछ । यो चित्रकथा ३ वर्ष वा माथिका बाबुनानीका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा ७ वर्ष माथिका बाबुनानीले आफैं पढ्न उपयुक्त हुने गरी तयार पारिएको छ ।

पुस्तक – सानुकाजीको बुँख्याःचा

विधा – चित्रकथा

लेखक –रत्न प्रजापति

सम्पादक – कृष्णदीप सिग्देल

चित्रांकनकर्ता– राजकुमार प्रजापति

प्रकाशक – कथालय इन्क

संस्करण–पहिलो, २०७७ माघ

पृष्ठ –३२

मूल्य  – रु. २२५।–

प्रकाशित: २४ माघ २०७७ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App