६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

कलिला बालबालिकालाई कला सिकाउँदै कोरीयाली प्रोफेसर

बालबालिकाको कला प्रदर्शनीमा कोरियाली प्रोफेसर (सबैभदा बायाँ) । तस्बिरः उमेश पुन/नागरिक

कोरियाका ७५ वर्षिय कलाकार कु ह्यून किमले ५० वर्षअघि नेपाली भूमि टेके । श्रीमतीसँग सन् १९७१ सालमा पहिलो पटक नेपाल आएका उनी प्रकृतिले भरिपूर्ण पोखरा र आसपासका क्षेत्र घुमे । घुम्ने क्रममा किम दम्पती कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित बिरेठाँटी, सुदामे, घान्द्रुक लगायतका क्षेत्र पुगे ।

भिजिटर प्रोफेसरको छवी बनाएका किम सँधै श्रीमतीलाई लिएर घुमघामका लागि देशबाहिर गइरहन्थे । तर सातवर्ष अगाडि उनकी श्रीमतीको निधन भयो । ६ महिनासम्म अस्पतालमा उपचार गर्दा पनि किमकी श्रीमतीको रोग निदान भएन । अन्ततः उनकी श्रीमतीले सन २०१३ मा देहत्याग गरिन् । देह त्याग्नु अघि श्रीमतीले किमलाई नेपाली भूमिमा आफूहरुले घुमेका ग्रामिण क्षेत्रका मानिसहरुको जीवनस्तर उकास्ने गरि काम गर्न आग्रह गरेकी थिइन् । श्रीमतीको अन्तिम बचन उनले एक सासमा त्यो बेला स्वीकारेका थिए ।  

श्रीमतीलाई गुमाएपछि एक्लो बनेका किमलाई स्वदेश बसिरहन मन लागेन । बरु अन्तिम अवस्थामा श्रीमतीसँग गरेको वाचा पूरा गर्ने हुट्हुटी चल्यो । उनी त्यहि वाचा पूरा गर्न नेपालको सुन्दर नगरी पोखराको उत्तर पश्चिम क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाको बिरेठाँटी, सुदामे बारम्बार आउँछन् । भिजिट भिसामा वर्षमा एकपटक आउँदा १५० दिन मात्र बस्न पाउने भएपछि उनी स्वदेश फर्किने र पुनः नेपाल आउने गरिरहन्छन् ।

नेपाल आउँदा श्रीमतीले भने झैं स्थानियको आर्थिक उपार्जनमा सघाउनका लागि पेन्टिङ सिकाउँछन् । सीप सिकाउन सकियो भने आफै जिविकोपार्जन गर्न सक्छन् भन्ने श्रीमतीको र उनको आफ्नै पनि मत छ ।

नभन्दै उनको मेहनतले अहिले सार्थकता पाउँदैछ । उनले सिकाएका कलिला बालबालिका अहिले पेन्टिङ गर्न सिपालु भएका छन् । किमले गाउँपालिका भित्रका विभिन्न ठाउँ लैजाने र एउटा थिम दिएर चित्र कोर्न लगाउँछन् । यसरी बारम्बार गर्दा चित्रकलामा पोख्त बालबालिकाले कोरेका छनौट गरी अहिले पोखरामा प्रदर्शनी गरिएको छ । 

जहाँ भूमे आधारभूत मावि, भगवती मावि, विरेठाँटी मावि र माछापुच्छ«े माविका १८ विद्यार्थीले बनाएका ३६ वटा पेन्टिङ प्रदर्शनीमा राखिएका छन् । कोरोनाको विश्वव्यापी महामारीले आक्रान्त समयमा ‘विश्वका लागि प्रार्थना’ गरौ भन्ने सन्देश दिन विद्यार्थीले एक्रेलिक, क्रेपर्स र पानी रङको माध्यमबाट आफ्ना अभिव्यक्ति दिएका छन् ।

दलित तथा विपन्न परिवारका बालबालिकाले बनाएका पेन्टिङ आकर्षक बनेका छन् । बालबालिकाले आकर्षक पेन्टिङ बनाएपछि उनीहरुका अभिभावक दंग छन् । त्यो भन्दा बढीचाहिँ किम खुशी छन् । किनकी उनको श्रीमतीको मृत्यू अघिको अन्तिम ईच्छा पूरा भएको छ ।

प्रकाशित: २१ माघ २०७७ ०९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App