शहीद गेटमा दशरथ चन्दले शुक्रराजलाई भने – आज माघ १६ बिर्सियौ शुक्रराज ?
– त्यो १९९७ साल माघको मुटु नै जम्ने चिसो महिना, साथीभाइहरूका न्यानो माया, राणाहरूका कठोर क्रूरता र सत्य बोल्दा मर्ने त्रासले पहेंलिएका नेपाली अनुहार कहाँ बिर्संथें दाइ – शुक्रराज बोले।
गङ्गालाल खुइय गर्दै सुस्केरा हालेर भने – साथी हो, हामीले त्यतिखेर राणाहरूले माफी माग छाड्छौं भन्दा माफी नमागेर ठिकै गरेछौँ ।
– किन र मित्र ? के भयो ? आज अचानक यतिका वर्षपछि तिमी किन यस्तो भनिरहेछौ? त्यतिबेलै हामी ठिक हौं ,राणाहरू गलत हुन् भनेर नै हामीले मृत्युवरण गरेका हौँ नि, बिर्सियौ ? – धर्मभक्तले कुरा अगाडि बढाए ।
गङ्गालालले भने – हामीले अन्यायका विरुद्ध साहस झिक्यौं, मृत्युवरण गरयौं र शहीद भयौं । तर, धन्य ईश्वर, यो युगमा जनता भएर बाँचेका हुन्थ्यौं भने बाँचेरै पलपल मर्नुपर्ने जिउँदा शहीद बनाउने रहेछन् यी लोकतन्त्रे राणाहरूले ।
प्रकाशित: २१ माघ २०७७ ०७:०४ बुधबार