२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

जिन्दगी

लघुकथा

जन्तीको गाडी पल्टिएर मेरा खसम स्वर्गीय भएका थिए। हाम्रो घरमाथि भगवानले पनि ओइरो खनेका थिए  । अझ भनौँ , कुन ग्रहदशा लागेको हो। मेरा खसमको देहान्त भएको दुई महिना नबित्दै एकै दिनको ज्वरोले सासूले पनि उतैको बाटो तताउनुभएको थियो।

पहिलाजस्तो चहलपहल थिएन घरमा।  कान्ति हराएको थियो। शिखा सकिएको दियोजस्तै सबैको मनमा अन्धकार छाएको थियो। घर साँच्चिकै सुनसान भएको थियो। छोरी स्कुल गएपछि त झन् घर बस्नै मन लाग्दैनथ्यो मलाई।

ससुराज्यूलाई लाई पनि त्यस्तै हुँदो हो। बिहानबेलुका खाना खाने बेलामा बाहेक अरू बेलामा घर बस्नु नै हुन्नथ्यो।

यसो मन बहलाउन माइत जाउँ भने पनि एक्लो ससुराको स्याहारसुसार र घरको चुल्होचौको सबै मेरै जिम्मामा त थियो । आमाले माइत आउँदिनस् भन्दा पनि म यिनै बहाना बनाउन बाध्य थिएँ। जानै मन भए पनि बाँधिएकी थिएँ यही घरको सुसेधन्दामा।

हिजो बाबा आफै मलाई भेट्न आइपुग्नुभयो। माइतीलाई देखेपछि अलिकति भए पनि मन हल्का हुने नै रहेछ। सधैँ बाध्यतामा पस्ने भान्छा पनि खुसी साथ पसेकी थिएँ।  ससुरा बा पनि बाबा आउनुभएको हुनाले घरैमा हुनुहुन्थ्यो। खाना टेबलमा राखेर भान्छातिर भुल्दै थिएँ।

–  नांगो जिन्दगी त गाह्रो पो हुन्छ त सम्धी । अझै यतिका उमेर बाँकी छ। बुढेसकालमा साथी पनि त चाहियो नि। मरेपछि पिण्ड दिने छोरै जन्माउन भए  पनि बिहे त गर्नै पर्छ ।  बाबाले ससुरा बालाई भनेको कुरा तातात्तै सुनेँ।

एक महिना अगाडि माइत जाँदा बाबाले मलाई भनेको कुरा झलझली सम्झिएँ– के गर्छस् त नानू , भाग्य यस्तै रहेछ। दुई दिनको जिन्दगी कति नै छ र अब यही छोरीको अनुहार हेरेर जिन्दगी कटाउनुपर्छ ।

प्रकाशित: १८ माघ २०७७ ०६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App