किनकिन उनलाई कंकालकै संझना आउँछ। दिनमा रातमा अनि काममा। उनी विज्ञान शिक्षक । विद्यालयमा जान्छन्। कक्षामा पस्छन्। देख्छन् लस्करै विद्यार्थीहरू बसेका। एउटा मानव कंकाल प्रयोगशालावाट बोकेर ल्याउँछन् कक्षामा। अगाडि सेतो बोर्डको माथितिर रहेको काँटीमा झुण्याउँछन् त्यसलाई । अनि खप्परका हड्डीहरू चिनाउन थाल्छन्। क्रानियम र फेसियल बोन। फ्रन्टल, पेराइटल, इदमोइड, अक्सिपेटल आदि। फेरि छातीको हाड स्टर्नम र रिब्सहरू।
तिनीहरू पनि ट्ररिब्स, फ्लटिङ रिब्स, फल्स रिब्स। न नेपाली नाम छ न त बुझिने सजिलो नाम। बुझाउनै अप्ठेरो । कंकाल हल्लिन्छ। त्यसका तल र माथितिरका दाँतहरू अनायास उघारिन्छन् । कंकाल खिस्स हाँस्छ। मेँडिवल र मेक्सिला हल्लिएको देखेर विद्यार्थी पनि खितितिती हाँस्न थाल्छन्। उनले विद्यार्थीहरू हेर्छन् देख्छन् अस्थिपञ्जरहरू। कति मजाले मिलेर बसेका लहरमा। केटा र केटीका अलगअलग समूहहरू।
फेरि कंकाल समाउँछन् उनी। ढाडका हाडहरूको अध्याय सुरु हुन्छ। भर्टेब्रल कोलम। सबैभन्दा सानो हड्डी कानभित्र रहेको स्टेप्सदेखि सबैभन्दा ठूलो तिघ्राको फिमरसम्मको कथा सिद्याउँछन्। सानो फुच्छरको कोकिक्सदेखि औंलाका फालेङ्ससम्म खरर भन्छन्। विद्यार्थीका अघि निकै ज्ञानी कहलाउँदै बाहिरिन्छन् कक्षाबाट । शिक्षक कक्षामा पुग्छन्। देख्छन् कंकालै कंकालका समूहहरू। कोही गफमा जमेका । कोही पढ्दै गरेका, कोही हाँसेका। कक्षाकोठामा उनले विद्यार्थीको अगाडि बोर्डमा झुन्डयाएर राखेको त्यो कंकालको संझना आउँछ। खिस्स हाँसिरहेजस्तो कंकाल। महिलाहरूको केही चौडा पेल्भिक र पुरुषका साँगुरा पेल्भिक । सबै देख्छन् स्टाफ रुममा।
सब्जी बजार पुग्छन। निकै भीड थियो बजार । मानिसहरू एकले अर्कोलाई धकेल्दै अघि बढ्दै गरेका देखिन्थे। सबै मानिसलाई कंकालहरूको रूपमा देख्न थाल्छन् उनी। कंकाल बाहिरको छालामासुको आवरण र बनावटी झिल्के कपडाहरू ।
उनलाई लाग्छ, कंकालरूपी कंगाल मानिसहरू त्यहाँ छन्। उनी घरमा आउँछन् ,खाना खान्छन्। माघको चिसो रातमा उनको निद्रा हराएको छ। पन्ध्र वर्षअघि हराएका उनका पिताको जंगलमा जिङरिङ्ङ परेको अस्थिपञ्जर फेला परेको सम्झिन्छन्। सपनामा उनका पिताजीको त्यही जिङरिङ्ङ परेको कंकालले भनिरहेको थियो– बाबू, मेरो हत्यारा तेरो राज्यले पत्ता लगायो !
प्रकाशित: १५ माघ २०७७ ०६:१३ बिहीबार